भर्खरै :

शाननानका प्रतिनिधिमण्डललाई ख्वप अस्पतालमा स्वागत

शाननानका प्रतिनिधिमण्डललाई ख्वप अस्पतालमा स्वागत

भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिकाको भगिनी सहर मित्र राष्ट्र जनगणतन्त्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान–नान सहरका कार्यकारी उपप्रमुख मु योङवन नेतृत्वको प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा मङ्गलबार स्वागत गरिएको छ ।
ख्वप अस्पतालका डाक्टर र चिकित्सकहरूसँगको छलफल कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्कटको समयमा भक्तपुरका जनताको जीवन रक्षाको निम्ति शान–नान नगरपालिकाले गरेको स्वास्थ्य उपकरणहरूको सहयोगको लागि नगरपालिका र नगरवासीहरूको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।
ख्वप अस्पतालले आर्थिक पक्षलाई भन्दा पनि बिरामीहरूको गुणस्तरीय उपचार सेवालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले जनताको सेवामा समर्पित भई काम गर्दै आएको बताउनुभयो ।
ख्वप अस्पतालले यस वर्ष सीटी स्क्यान राख्ने योजनाका साथ अगाडि बढिरहेको बताउँदै उहाँले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु अस्पतालको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुरका करिब ८० प्रतिशत जनता स्वास्थ्य बीमामा आबद्ध रहेको बताउँदै उहाँले ख्वप अस्पतालको व्यवस्थापन र सञ्चालनमा भक्तपुर नपाले विशेष प्राथमिकतामा राखी जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण खरिदको लागि आर्थिक सहयोग गर्दै आइरहेको बताउनुभयो ।
ख्वप अस्पताल नगर अस्पताल भए पनि राष्ट्रियस्तरको सेवा दिने लक्ष्य रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले अस्पतालबाट वार्षिक २ लाख ५३ हजारभन्दा बढी बिरामीहरूको सेवा र ७० भन्दा बढी जिल्लाका बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनुभयो ।
शान–नान नगरपालिकाका उपप्रमुख मु योङवनले शान–नानको स्वास्थ्य स्थिति र अवस्थाबारे विस्तृतमा जानकारी दिँदै दुई नगरबिच स्वास्थ्यअन्तर्गत धेरै क्षेत्रमा आपसी समन्वय र सहकार्य गरी अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।
शान–नानका शत प्रतिशत जनता चीनको केन्द्रीय स्वास्थ्य बीमामा आबद्ध रहेको बताउँदै उपप्रमुख योङवनले चीनको केन्द्र सरकारले पनि शान–नानको स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । प्रत्येक वर्ष १०० जना विशेषज्ञ डाक्टर शान–नानमा काम गर्न आउने तथ्य पनि उहाँले प्रस्तुत गर्नुभयो ।
शान–नान नगरपालिकाले वडा वडामै जनतालाई स्वास्थ्य उपचार उपलब्ध गराउन जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर र शान–नानबिचको सहकार्य आदानप्रदानले महामारी र विपद्मा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
सोही क्रममा उपप्रमुख योङवनले ख्वप अस्पताल सञ्चालन, व्यवस्थापन र त्यहाँबाट प्रवाहित सेवा सुविधा, स्वास्ग्य बीमा कार्यक्रमको प्रभावकारिता, चिकित्सकहरूलाई प्रोत्साहन, आर्थिक व्यवस्थापन आदिबारे जिज्ञासा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालको विगत, वर्तमान र भावी योजनाहरूबारे सङ्क्षेपमा जानकारी दिनुभएको थियो ।
सोही क्रममा शान–नान प्रतिनिधिमण्डलले ख्वप अस्पतालको विभिन्न शाखा, अन्तरङ्ग सेवा, अक्सिजन प्लान्ट आदिमा स्थलगत अवलोकन गर्नुभई त्यहाँबाट प्रवाहित सेवासुविधाबारे जानकारी लिनुभयो । ख्वप अस्पतालले वार्षिक १८०० वटा शल्यक्रिया सम्पन्न गरेको, ४०० जनालाई प्रसूति सेवा, आ.व. २०८०÷८१ मा ७५७७ वटा सानो सिलिन्डर र २०६७ वटा ठुलो सिलिन्डर गरी जम्मा ९६४४ वटा अक्सिजन सेवा निःशुल्करूपमा प्रदान गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले घरदैलो नर्सिङ सेवाअन्तर्गत विभिन्न रोगहरूको सङ्कलन गर्ने काम पनि हुँदै आएको बताउनुभयो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्कटको समयमा भक्तपुर नपाको भगिनी सहर शान–नान सहरले २०७८ जेठ २८ गते भेन्टिलेटर १ वटा, अक्सिजन कन्सनट्रेटर ३२ वटा, आइसीयू बेड ५० वटा, अक्सिजन सिलिन्डर (४० लिटर) को १०० वटा र २०७९ सालमा भेन्टिलेटर १ वटा, अप्रेसन टेबल १ वटा र अप्रेसनको लिड ओटी लाइट दिएर सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *