भर्खरै :

भ्रष्टाचारविरुद्धको आन्दोलन जारी राख्नुपर्नेमा जोड

भ्रष्टाचारविरुद्धको आन्दोलन जारी राख्नुपर्नेमा जोड

भक्तपुर, ११ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ, सिपाडोलले बिहीबार आयोजना गरेको एक कार्यक्रममा वक्ताहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन जारी राख्नुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले निर्वाचन जित्नको लागि शासक दलका नेता तथा कार्यकर्ताले गरेको अनियन्त्रित खर्च नै भ्रष्टाचारको बीउ बनेको धारणा राख्नुभयो ।
भ्रष्टाचारका कारक तथा कारण नै शासक दलका नेता तथा कार्यकर्ता भएको भन्दै उहाँले जनताको सचेत राजनीतिक आन्दोलनले मात्र देशलाई जोगाउन सकिने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेपाली संस्कृतिमा भ्रष्टाचार गर्नु हुन्न भन्ने कुरा रहेर पनि हालको राजनीतिक तथा आर्थिक संरचनाले मानिसलाई भ्रष्ट बनाइरहेको बताउँदै नेमकिपाले पैसा खाने कार्यकर्तालाई मुलाहिजा नराखेर कारबाही गरी निकालेको उदाहरण राख्नुभयो ।
उहाँले नेमकिपाले पजेरो सुविधा, स्वास्थ्य उपचार भत्ताजस्ता राज्यलाई कमजोर बनाउने सरकारी नीतिको विरोध मात्र नगरेर ती सुविधाको बहिष्कार गरेको चर्चा गर्दै वर्गशत्रुको स्वर्थमा नअलमलिएर पक्षपातको विरुद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने तर्क गर्नुभयो ।
आयोजक समितिका रामचन्द्र ग्वाछाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा, सूनपाका अध्यक्ष सूर्यभक्त त्वाती, नेमकिपा, वडा नं ८ एकाइ समितिका अध्यक्ष श्यामसुन्दर सुवाल, नेक्राकिसङ्घ, सूनपाका अध्यक्ष राजेन्द्र बखुन्छेँ, राजकुमार मचामसीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *