भर्खरै :

सम्पदा जोगाउन सरोकारवाला निकायको ध्यान जानु जरूरी

युनेस्कोले विसं १९७९ मा नेपालका दर्जनभन्दा बढी सम्पदा स्थललाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो । भक्तपुर दरबार क्षेत्र, काठमाडौँ दरबार क्षेत्र, ललितपुर दरबार क्षेत्र, लुम्बिनी, स्वयम्भू, बौद्ध स्तूप (चैत्य), पशुपति क्षेत्र र चाँगुनारायण मन्दिर नेपालका सूचिकृत सम्पदा स्थलहरू हुन् । ती सम्पदा स्थलहरूमध्ये विगतमा काठमाडौँ दरबार क्षेत्रलाई खतराको सूचीमा राखिएको थियो । युनेस्कोले सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वाधार निर्माण भएको भन्दै अन्तिमेत्थम् दिँदै खतराको सूचीमा राखेको थियो । त्यस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा समितिले सम्पदाविपरीतका निर्माण कार्य भएको भन्दै खतराको सूचीमा राखेको थियो । खतराको सूचीमा रहेको लुम्बिनीलाई भारतको नयाँ दिल्लीमा जुलाई २१ देखि चालु भएको विश्व सम्पदा सूचीको ४६ औँ सेसनअन्तर्गत बिहीबार भएको मस्यौदाउपर छलफलमा अत्यधिक मतले खतराको सूचीमा राख्ने मतलाई अस्वीकृत गरेको थियो । समाचार स्रोतअनुसार उक्त बैठकमा खतराको सूचीमा राख्ने प्रस्तावमा दुई मत र विपक्षमा १९ मत परेको थियो ।
सम्पदास्थल लुम्बिनी खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएकोमा नेपाल सरकार, लुम्बिनी विकास कोष, यहाँको पुरातात्विक र सांस्कृतिक विभाग मख्ख पर्ने होइन । बहुमतले खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत हुनु नेपालको निम्ति खुसी त पक्कै होला । तर, युनेस्कोले के कति कारणले लुम्बिनीलाई खतराको सूचीमा राखेको हो ? त्यसको अध्ययन, अनुसन्धान र खोजीनीति गर्नुपर्छ । लुम्बिनी र लुम्बिनी वरपर सम्पदा संरक्षणविपरीतका निर्माण कार्य भएको छ भने त्यसको पनि लेखाजोखा गर्नुपर्छ । सम्पदा स्थलमा निर्माणको आधुनिक नयाँ नयाँ भवन ठड्याउँछ भने त्यो सम्पदाको आचारसंहिताभित्र पर्दैन । विश्व सम्पदा समितिको सचिवालयले सन् २०२२ मा लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेको थियो । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषले कूटनीतिक पहल गरेको कारण खतराको सूचीबाट अस्वीकृत भएको खबर पनि प्रकाशमा आयो । तर, युनेस्को वल्ड हेरिटेज कमिटीको सेसनमा लुम्बिनीलाई खतराको सूचीमा राख्ने वा नराख्ने भन्ने विषयमा छलफल हुनु नै सम्पदा स्थलको निम्ति चिन्ताको विषय हो ।
त्यस्तै पहिले काठमाडौँलाई खतराको सूचीमा राखेको बेला नेपालको सम्बन्धित पक्षले सुधार्ने प्रतिबद्धता जनाएको थियो या सम्पदाविपरीतका निर्माण कार्यमा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो । विश्व सम्पदा सूचीको मूल्य र मान्यतामा रहेर सम्पदा निर्माण गर्नु उपयुक्त हुन्छ । यो कुरा नेपालमा जहाँ जहाँ सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरू छन्, त्यहाँ त्यहाँ देशको सम्बन्धित मन्त्रालय या विभागले विचार गर्नुपर्छ । खतराको सूचीको कुरा लुम्बिनी र काठमाडौँमा मात्र होइन अन्य सम्पदास्थलमा पनि पर्ने सम्भावना नकार्न मिल्दैन । पशुपतिनाथ क्षेत्रमा आधुनिक भवन निर्माण भएको कुरा बेलाबखत समाचार नआएको होइन । पशुपतिनाथ मन्दिर वरपरका भवनहरू कति आधुनिकका छन् भने कति भवनमा जस्ताको छाना छाइएको छ । एकातिर पुरातात्विक दृष्टिले नमिलेका सम्पदाहरूमा सुधार गर्नु आवश्यक छ भने अर्कोतिर खतराको सूची द्वैषपूर्ण भावनाले राखेको हो कि भन्ने शङ्का पनि गर्नुपर्ने हुन्छ । पानी चुहिएको, जीर्ण भएको र भत्केका मन्दिरहरू पुनःनिर्माण पूरा नगरेको आधारमा के विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्नु उपयुक्त होला ? विश्व सम्पदा स्थलको सङ्ख्या बढाउनेतर्फ अध्ययन, छलफल र प्रस्ताव आइरहेको बेला भएको सम्पदा स्थललाई खतराको सूचीमा राखेर सम्पदा स्थल घटाउने कुरा मनासिब हुँदैन । बरू सम्पदा स्थलमा देखिएका कमी कमजोरी हटाउनेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यान जानु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *