जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
देश र जनताको सुख, शान्ति, समृद्धि र उन्नत समाजको निम्ति एक आदर्श राज्य व्यवस्था हुनुपर्छ । यस्तो व्यवस्था ल्याउन देशमा राम्रो दिशानिर्देश गर्न सक्ने राजनीतिज्ञ, दार्शनिक वा चिन्तक, राजनेता, लेखक र कार्यकर्ताहरूको खाँचो छ । नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारीहरू, प्रशासनिक क्षेत्रमा काम गर्नेहरू इमानदार नभएसम्म, आ–आफ्नो पदको दायित्व इमानदारीपूर्वक निर्वाह नगरेसम्म देशमा न सुशासन हुन्छ न त विधिको शासन नै हुन्छ । तर, देशका शासकहरू इमानदार भएनन्; आ–आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गरेनन् । यही कारण यहाँ अराजक गतिविधि भइरह्यो, आपराधिक घटनाहरू दोहोरिरह्यो । पक्षपात र विभेद भयो । हत्या गर्ने, बेपत्ता पार्ने, तोडफोड गर्ने, मानव बेचिबिखन गर्ने, लुट्ने, घुस खाने, लुटपाट गर्ने, चोरीचकारी गर्ने, अनियमितता गर्ने काम रोकिएन । पुँजीवादी व्यवस्थामा न्याय र समानता पाउँदैनथ्यो । शासकहरू चरित्रवान, नैतिकवान हुँदैनथे । यसकारण, कम्युनिस्ट पार्टीहरू शोषणरहित समाज स्थापना गर्न लागिपरेका हुन् । एकले अर्कालाई शोषण नगर्ने, नदबाउने समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपा लागिरहेको हो ।
वर्गीय समाजमा वर्गसङ्घर्ष हुनु स्वाभाविक हो । बहुमत जनताको गाँस, बास र कपासको व्यवस्था नभएसम्म या जीवन सुनिश्चित नभएसम्म सङ्घर्ष भइरहन्छ । पुँजीवादी व्यवस्थामा प्रजातान्त्रिक अधिकार भए पनि शोषण अन्त्य हुँदैन । समानता नभएसम्म सङ्घर्ष रोकिने छैन । समाज अघि बढाउन नयाँ पुस्ताका युवा र विद्यार्थी सक्रिय हुनुपर्छ । नयाँ पुस्तामा सैद्धान्तिक र राजनीतिक कक्षा सञ्चालन गरिरहनुपर्छ । जनताले न्याय र समानतामात्र होइन छाना, नाना र दाना नपाएसम्म यहाँ शान्ति हुनेछैन । कम्युनिस्टको सरकारले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने व्यवस्था गर्छ । तर, नेपालमा त्यो बन्दोबस्त छैन । प्रजातान्त्रिक र कम्युनिस्ट भनिने दलका शासकहरू सिद्धान्त र विचारमा अडिग नभई अवसरवादी हुँदा देश र जनताको हितमा काम भएन । बहुमत जनताको सेवा गर्ने नाउँमा कम्युनिस्ट शासकहरू पुँजीवादी व्यवस्थामा सामेल भएदेखि नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर या शिथिल भएको हो ।
पुँजीवादी व्यवस्थाको सरकारले पुँजीपतिवर्गको सेवा गर्छ; उनीहरूको हक हितमा ऐन कानुन बनाउँछ । मोही कायम नहुँदै द्वैधस्वामित्व अन्त्य र कमैयामुक्त घोषणा किसान र उत्पीडित जनताको अहितमा छ या पुँजीपति र जमिनदारहरूको हितमा छ । योग्यताअनुसार काम र कामअनुसार ज्याला नपाउनु एक प्रकारको आर्थिक शोषण नै हो । देशमा रहेको स्रोत र साधन पनि सरकारले उपयोग गर्न सकेन । देशको निम्ति आवश्यक सामग्री विदेशीहरूसँग मागेर, विदेशीको सहयोगमा बजेट तयार गरेर देश कहिले पनि आत्मनिर्भर हुनेछैन । देशका शासकहरू नेपाल र नेपालीको भन्दा विदेशी शक्ति राष्ट्रहरूको स्वार्थ पूरा गर्न लागे । नेपाल र नेपाली जनतालाई परेको मर्काबारे नेपाली शासकहरू भारत र अमेरिकाको अगाडि भन्दैनन्; भन्ने आँट गर्दैनन् । अरू देशदेखि डराउने शासकहरूले देश बनाउने होइन देश डुबाउने काम गरिरहेका छन् ।
कम्युनिस्ट पार्टी श्रमजीवीवर्गको हकहितको लागि प्रयत्नशील हुनुपर्छ । देशको सार्वभौमिकता, भूअखण्डता, स्वतन्त्रता जोगाउने काममा दत्तचित्त हुनुपर्छ । शोषित पीडित जनताको न्यायपूर्ण सङ्घर्षमा साथ दिनुपर्छ; ऐक्यबद्धता जनाउनुपर्छ । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । अन्तराष्ट्र्रवादी भावनाअनुसार विदेशी थिचोमिचो, हस्तक्षेप, शोषण र दमनको विरोध गर्नुपर्छ । कम्युनिस्ट पार्टीले वर्गशत्रु खुसी पार्ने काम गर्दैन । वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको विरोध गर्नुपर्छ । देश र जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्छ । अराजकता, आत्मसमर्पण, सङ्कीर्ण र जातीय साम्प्रदायिक विचारको निन्दा र विरोध गर्नुपर्छ । भ्रष्टाचारविरोधी आन्दोलन र जालीफटाहाविरोधी आन्दोलनको मर्म आत्मसात गर्नुपर्छ । मार्ग निर्देशक सिद्धान्तअनुसार पार्टीले काम गर्नुपर्छ । सिद्धान्त र विचार बन्धक राखी काम गरेमा देश गलत ठाउँमा पुग्छ† देशमा अराजकता र अस्थिरता निम्तिन्छ । शासकहरू पद, पैसा र भागबन्डामा भुलेर देशको आर्थिक अवस्था नाजुक हुँदै आर्थिक सङ्कट देखियो भने देश कसरी बन्छ ? यसकारण, राजनीतिक दलको सिद्धान्त र विचार बहुमत जनताको पक्षमा हुनुपर्छ र तद्नुसार राजनीति गर्नुपर्छ ।
Leave a Reply