भर्खरै :

चितवनमा नेक्राविसंघको माओ र स्तालिन दिवस

चितवन, पौष २२ । का. माओ र स्तालिन साम्राज्यवाद विरोधी योद्धाहरु हुनुहुन्छ, विश्वका न्यायप्रेमी जनताहरुले उहाँहरुलाई सम्झिरहने छन् । नक्कली कम्युनिष्ट र गैर कम्युनिष्टहरुले उहाँहरुको बारेमा गलत प्रचार गर्ने प्रयास गरीरहेका छन्, त्यसलाई निमिट्यान्न पार्न विद्यार्थीहरु अध्ययनशील र संगठित हुनुपर्छ ।
उक्त विचार विश्व कम्युनिष्ट आन्दोलनका महान गुरुद्वय का. स्तालिनको १३९ औं र का. माओको १२४ औं जन्मजयन्तीको अवसरमा शविबार मोहना मा.वि.मा नेक्राविसंघ चौथो चितवन जिल्ला सम्मेलन तयारी समितिद्वारा आयोजित जिल्ला भेलाका प्रमुख अतिथि नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले राख्नुभएको हो ।
‘पूँजीवादी दलहरुले पैसा बाँडेर, ठगेर, भोजभतेर खुवाएर, लोभलालच देखाएर चुनावमा जसरी पनि आफूमात्र जित्नुपर्ने भन्दै निर्वाचन आचार संहिताको ठाडो उलंघन गरे’ – उहाँले भन्नुभयो । के यसरी चुनाव जितेका दलका नेताले देश र जनताको हकहितमा काम गर्लान् ? नेमकिपाले सदैव दलाल र ठगहरुको गलत कदमको विरोध र जनतामाझ उदांग्याउने छ, उहाँले भन्नुभयो ।
अर्का अतिथि नेक्राविसंघ १२ औं राष्ट्रिय सम्मेलन तयारी समितिका सचिव सविन ख्याजूले सोभियत संघमा समाजवादको रक्षा र विकासमा का.स्तालिनले अहम् भुमिका खेल्नु भएको चर्चा गर्दै का.स्तालिनको सबल र सफल नेतृत्वको कारण दोस्रो विश्व युद्धमा फाँसीवादी हिट्लर पराजित भएको स्पष्ट पार्नु भयो ।
त्यस्तै नेक्राविसंघ १२ औं राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्य रमेश प्रजापतिले जन्म दिवस मनाउनु भनेको अध्ययन गरेर सिक्नु हो भन्दै कम्युनिष्ट आचरण र राजनैतिक कार्यकर्ताको काम र कतव्र्यबारे हामीले का. माओबाट सिक्नुपर्छ भन्नुभयो ।
सो भेलामा पुनाराम शर्मा, ज्ञानेन्द्र चेपाङ, अर्जुन चेपाङ, कृष्ण बहादुर तामाङ, कुशल मगर लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *