भर्खरै :

सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो

कम्युनिस्टहरूबिच एकता हुनुपर्ने कुरा आजको होइन उहिलदेखि उठाउँदै आएको विषय हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा शनिबार आयोजित प्रवचन गोष्ठीमा पनि कम्युनिस्ट भनिने दलका नेताहरूले कम्युनिस्टहरूबिच एकता हुनुपर्नेमा जोड दिए । कम्युनिस्ट पार्टीबिच एकता हुनुपर्ने कुरामा जति जोड दिए पनि विभिन्न दलमा विभाजित छन् । उनीहरूले कम्युनिस्ट पार्टीबिच एकता भएपछि समाजवादी आन्दोलन अघि बढाउन सजिलो हुने फुके । केही दलबिच एकता पनि भयो । एकता नभएको स्वर सेलाउन नपाउँदै फेरि टुक्रा भयो । कम्युनिस्ट पार्टीबिच एकता हुनुपर्छ भनी खोक्ने कम्युनिस्ट भनिने दलका नेताहरू नै एक अर्काबिच शङ्का गर्छन् या विश्वस्त छैनन् ।
कम्युनिस्टहरूको एकता कुनै खुला सभामा बोलेर हुने होइन । कम्युनिस्ट पार्टीबिचको एकता सिद्धान्त र विचारको आधारमा हुन्छ र हुनुपर्छ । माक्र्सले भन्नुभएको थियो, “सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो ।” कम्युनिस्टहरूबिच एकता हुनुपर्छ भन्ने ती नेताहरूको विचार नै द्वैधचरित्रको छ । तिनीहरू कहिले हतारमा एकता गरेर पछुताउनु छैन भन्ने गर्थे भने कहिले एकता गरेर समाजवादको आधार तयार गर्नुपर्छ भन्थे । तिनीहरू कम्युनिस्टलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशङ्का व्यक्त गर्थे । कम्युनिस्ट पार्टीबिच एकता हुन जोड दिने ती दलको एकतालाई कसले बाधा पु¥यायो ? उनीहरू पद र पैसाको राजनीति गर्छन्† दलको नेतृत्व आफै गर्न चाहन्छन् । त्यही भएर पार्टी एकता हुँदा एउटै पार्टीको दुई अध्यक्षसमेत बनाइयो । तर, ती दुई अध्यक्षबिच एउटा अध्यक्षले पहिलो नम्बरको अध्यक्ष दाबी गरे भने अर्का अध्यक्षले दुबैको अधिकार बराबर हुन्छ भनी दाबी गरे ।
कम्युनिस्ट भनिने दलका नेताहरू सहभागी भएको सो प्रवचन गोष्ठीमा नेपालका कम्युनिस्ट पार्टी सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिरेको टिप्पणी गरे; सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद ठान्ने नेताहरूप्रति व्यङ्ग्य गरे । सत्ताका लागि राजावादीसँग सहकार्य गर्ने पनि कम्युनिस्ट हुन्छ भनी प्रश्न गरे । कम्युनिस्ट भनिने दलमा कम्युनिस्ट दर्शन र चिन्तन हराएको र सत्तामा जान पाएपछि सिद्धान्त र विचारलाई कुल्चेर अवसरवादी बन्न पुगेको दुखेसो पनि उनीहरूले पोखे । सरकारको नेतृत्व गर्न, सरकारमा सामेल हुन सिद्धान्त र विचारको बेवास्ता गर्ने दलका नेताहरू बेलाबखत कम्युनिस्ट एकताको कुरा गर्न पछि परेनन् । नेपालमा कम्युनिस्ट पार्टी कुन गलत र कुुन सही तिनीहरू नै ठम्याउन सक्दैनन् । एकता गरेर दल ठुलो बनाउनु र निर्वाचनमा जित्नुमात्र कम्युनिस्ट पार्टीको उद्देश्य होइन । कम्युनिस्ट पार्टीको मूल लक्ष्य भनेको आमूल परिवर्तन हो; बहुमत जनताको सेवा गर्नु हो; सेवा गर्न ऐन कानुन बनाउनु हो । तर, पुँजीवादी व्यवस्थामा निर्वाचनमा बहुमत जिते पनि त्यो पार्टीले बहुमत जनताको सेवामा ऐन कानुन बनाउन सक्दैन । त्यसको विकल्प भनेको वर्गसङ्घर्ष हो; देशका सबै कम्युनिस्ट पार्टी वर्गसङ्घर्षको निम्ति जुट्नुपर्छ; जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ ।
कम्युनिस्ट पार्टीबिच एकताको कुरा गर्ने कम्युनिस्ट नेताहरू देशमा समाजवादी क्रान्ति गरेर आमूल परिवर्तन चाहन्छन् भने पुँजीवादी व्यवस्थामा सरकारमा सामेल हुनुहुँदैन । कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार पार्टीको विचार र सिद्धान्त जनतामाझ पु¥याउनुपर्छ । पुँजीवाद र समाजवादको भिन्नताबारे जनतामाझ बुझाउनुपर्छ । समाजवादी देशले गर्ने काम र ऐन कानुनबारे जनतालाई बताउनुपर्छ । कम्युनिस्ट भनिने दलका ती नेताहरूले पहिले ३ प्रतिशतको मतसीमाको समर्थन गरेका थिए । तीन प्रतिशतको मतसीमाको व्यवस्था गर्न नहुने मत त्यसबेला नेमकिपाले अघि सारेको थियो । तर, अरू कुनै पनि कम्युनिस्ट पार्टीले समर्थन गरेन या बोलेन । आज तिनै दलका नेताहरूले थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम मान्य नहुने बताए । जबकि दुईदलीय तानाशाहीको व्यवस्थाको विरोध नेमकिपाले उहिल्यै गरेको थियो । ती कम्युनिस्ट पार्टीका नेताहरूमा सिद्धान्त र विचारप्रति अडान देखिएन; स्पष्ट विचार देखिएन । के यो कम्युनिस्ट भनिने ती दलका नेताहरूको द्वैधचरित्र होइन ? खोटो विचार होइन ? नेमकिपाले स्पष्ट विचार राख्दै आएको छ; अडान फेरेको छैन । यो सच्चा कम्युनिस्ट पार्टीको उद्देश्य हो† त्यो उद्देश्य पूरा गर्न नेमकिपा समाजवादी प्रचार अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *