जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
कैलाली । नेपाल क्रान्तिकारी किसान सङ्घ कैलालीको आयोजनामा किसान सङ्घको स्थापना दिवसको अवसरमा सङ्घको प्रकाशन किसान सङ्घर्ष वर्ष ७ अङ्क १ को अध्ययन गोष्ठी कार्यक्रम लम्कीमा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपालको किसान आन्दोलनमा यस सङ्घको ठुलो भूमिका भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले किसानहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरिरहेको प्रस्ट पार्दै उहाँले २०२१ सालको भूमिसुधार आयोगले वास्तविक किसानको नाममा पुर्जा नदिई राजा–महाराजा, सामन्त, जमिनदारहरूका नाममा पुर्जा दिइएको कारण सङ्घर्षका लागि नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना भएको बताउनुभयो ।
किसानले लगाएको बाली किसानले पाउनुपर्छ भनी बाली काट्ने आन्दोलन, भर्पाई च्यात्ने आन्दोलन, साँढे धपाउने आन्दोलन गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले क्रान्तिकारी भूमिसुधार लागु गर्न पार्टीले सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले नेपालका युवाहरूलाई रोजगारीको निम्ति विदेश पठाउने शासकहरू जनताका शत्रु हुन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले किसानलाई बीउबिजन, कीटनाशक विषादी, मल र कृषि औजारहरूसँगै सिंचाइका व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।
गजबहादुर दर्लामीमगरको सभापतित्वमा भएको कार्यक्रममा गुप्तबहादुर शाही, ज्योति बडुवाल, भक्तिप्रसाद जैसी, प्रेमबहादुर सिजापति, एच.बी., देविसरा अधिकारी र भीमबहादुर बडुवालले पनि बोल्नुभएको थियोे ।
Leave a Reply