भर्खरै :

मध्यपूर्वमा चिनियाँ मध्यस्थता प्रयासले विश्वसनीयता र विश्वास कमाएको छ

मध्यपूर्वमा चिनियाँ मध्यस्थता प्रयासले विश्वसनीयता र विश्वास कमाएको छ

विभिन्न प्यालेस्टिनी गुटहरूबिच मेलमिलापलाई बढावा दिएर, भर्खरैको पेइचिङ घोषणापत्रले आशाको प्रतीक सिर्जना गरेको छ र लामो समयदेखि चलिरहेको मध्यपूर्व द्वन्द्वलाई सम्बोधन गर्न वैकल्पिक दृष्टिकोण प्रदान गरेको छ ।
पेइचिङ घोषणापत्रले विभिन्न प्यालेस्टिनी गुटहरूबिचको अन्तर–मिलनसम्बन्धी विगतका कथनहरूलाई मात्र दोहो¥याएको छ भनी कतिपयले तर्क गर्न सक्छन् । तर, यसलाई नवीनताको अभावको रूपमा खारेज गर्न सकिँदैन । यो दस्ताबेजले मध्यपूर्वमा दिगो शान्ति हासिल गर्नका लागि नयाँ मार्गहरू प्रस्तुत गरेको छ र चीनको नवीन मध्यस्थता प्रयासहरूको प्रमाणको रूपमा काम गरेको छ । यसको सम्भावित प्रभाव कूटनीतिक सफलताभन्दा धेरै पर फैलिएको छ, जसले द्वन्द्वग्रस्त क्षेत्रमा राम्रो भविष्यको लागि आशाको किरण प्रदान गरेको छ ।
पेइचिङ घोषणापत्रले प्यालेस्टिनको आवाजलाई एकजुट गर्न थप व्यापक रूपरेखा प्रदान गरेको छ । प्यालेस्टिन राज्यको भविष्यको स्थापनाको लागि आधारशिला निर्माण गरेको छ । दुई–राज्य समाधान प्राप्त गर्नमा प्रमुख अवरोध प्यालेस्टिनको राजनीतिक शक्तिहरूभित्रको आन्तरिक मतभेद र विभाजन हो । यद्यपि, अघिल्लो सम्झौताहरूभन्दा फरक, पेइचिङ घोषणापत्रले फतह र हमासलाई मेलमिलाप गराउने मात्र होइन बरु प्यालेस्टिनका अन्य सबै महत्वपूर्ण गुटहरूलाई पनि समावेश गरेको छ, उनीहरूको राजनीतिक आवाजलाई एकताबद्ध गर्ने प्लेटफर्म (मञ्च) सिर्जना गरेको छ ।
राष्ट्रपति सी चिनफिङले प्यालेस्टिन मुद्दामा थप समावेशी अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको लागि आह्वान गर्नुभएपछि पेइचिङ घोषणाले एउटा नयाँ च्यानल खोलेको छ र एउटा महत्वपूर्ण समर्थन ढाँचा उपलब्ध गराएको छ । यस घोषणामा इजिप्ट र अल्जेरियाको संलग्नताले यसको निरन्तरतालाई ठोस प्रयासको रूपमा सुनिश्चित गरेको छ । यस घोषणालगत्तै, मध्यपूर्व शान्ति प्रक्रियाका लागि युरोपेली सङ्घका विशेष प्रतिनिधि स्वेन कुपम्यान्सले ‘दुई राज्य समाधानमा आधारित मेलमिलापमा चीनको महत्वपूर्ण भूमिका’ लाई स्वीकार गर्नुभएको छ । यस घोषणाले यस क्षेत्रको शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने प्रमुख खेलाडीको रूपमा चीनको स्थितिलाई बलियो बनाएको छ ।
निर्णायक समयमा घोषणा गरिएको पेइचिङ घोषणापत्रमा दुई राज्य समाधानका लागि अन्तर्राष्ट्रिय समुदायमा आशा र विश्वास पुनर्जीवित गर्ने शक्ति छ । अघिल्लो सम्झौताहरूले यस समाधानतर्फ सीमान्तीकरणको दबाबपूर्ण मुद्दालाई सम्बोधन गर्न असफल भएपछि यो घोषणा आएको हो, जुन अहिले सबैभन्दा ठुलो सङ्कटको सामना गरिरहेको छ । प्यालेस्टिन र इजरायलबिचको असन्तुलित शक्ति गतिशीलताले दुई–राज्य समाधानलाई पुनरुत्थान गर्ने कुनै पनि वास्तविक प्रगतिमा बाधा पु¥याउँछ । प्यालेस्टिनभित्रका विभिन्न प्रतिद्वन्द्वी गुटहरूबिचको एकता पुनःस्थापनाले इजरायलसँगको वार्तामा उनीहरूको हितलाई पुनः सन्तुलित गर्न र प्यालेस्टिनको लागि लामो समयदेखि रोकिएको शान्ति प्रक्रियामा नयाँ जीवन प्रदान गर्न मद्दत गर्न सक्छ ।
गत वर्ष साउदी अरेबिया र इरानबिच सफल मध्यस्थता भएदेखि नै मध्यपूर्वमा चीनको संलग्नता निरन्तर बढ्दै गएको छ । जटिल द्वन्द्वहरूलाई चिर्दै चीनले मध्यस्थताको कलामा अमूल्य अनुभव प्राप्त गरेको छ । परम्परागत विधिहरूको विपरीत, चीनले आफ्नो मध्यस्थता प्रयासहरूमा ताजा र नवीन तत्वहरू ल्याएको छ, जसले यस क्षेत्रमा दिगो प्रभाव छोडेको छ ।
मध्यस्थता न्यायको अन्तर्राष्ट्रिय मापदण्डहरूसँग मिल्दोजुल्दो न्यायपूर्ण मूल्यहरूमा आधारित छ भनी सुनिश्चित गर्न चीनले ठुलो महत्व दिन्छ । यो प्यालेस्टिन द्वन्द्वमा यसको संलग्नतामा स्पष्ट थियो, जहाँ वास्तविक राजनीतिक रणनीति र न्यायिक मूल्यहरूको पालनाबिचको सन्तुलन सम्बन्धित पक्षहरूबिचको सम्झौतामा पुग्न महत्वपूर्ण थियो । चीनले मध्यपूर्वमा मात्र नभई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा पनि क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्छ ।
उदाहरणको लागि, सिरियाको मामलामा, चीनले सैन्य हस्तक्षेप रोक्न संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा धेरैपटक आफ्नो भिटो शक्ति प्रयोग गरेको छ किनभने उसले शक्ति गतिशीलता सन्तुलनको महत्वलाई मान्यता दियो । यस दृष्टिकोणले चीनले क्षेत्रीय देशहरूबिच विश्वास कमाएको छ, यसलाई विभिन्न द्वन्द्वहरूमा एक शक्तिशाली मध्यस्थकर्ता बनाएको छ ।
चीनको परिप्रेक्ष्यमा मध्यस्थतालाई निरन्तर र दिगो प्रयासको रूपमा लिइन्छ जुन विश्वसनीयता कमाउनको लागि अत्यन्त महत्वपूर्ण छ । मध्यपूर्वमा शान्ति प्रक्रिया अप्रत्याशित घुम्तीहरूले भरिएको एउटा चुनौतीपूर्ण कार्य हो । एक मध्यस्थकर्ताले बुझ्नुपर्छ कि एउटै शान्ति सम्झौताले गहिरो जरा भएका द्वन्द्वहरूको तत्काल समाधान हुनेछैन र दीर्घकालीन र दिगो प्रयास कायम राख्नु महत्वपूर्ण छ । अमेरिकी दृष्टिकोणको विपरीत, मध्यपूर्व शान्तिमा चीनको संलग्नता पक्षपाती स्वार्थ वा सरकारी कारोबारबाट प्रभावित छैन । यसले शान्ति प्रक्रियामा प्रभावकारीरूपमा सहभागी भई दिगो परिवर्तन ल्याउने चीनको लागि संस्थागत सुनिश्चितता हो ।
मध्यस्थतालाई हतियार बनाउनुहुँदैन र भूराजनीतिक द्वन्द्वको औजारको रूपमा प्रयोग गर्नुहुँदैन भन्ने कुरामा चीन दृढ विश्वास गर्दछ । यस क्षेत्रमा अमेरिकी पहलहरूको विपरीत, चीनको मध्यस्थताको दृष्टिकोण सैन्य गठबन्धनको लाभमा भर पर्दैन, बरु मध्यपूर्वी देशहरूसँगको बलियो आर्थिक साझेदारीमा निर्भर छ । अझ भनौँ चीनको मध्यस्थता प्रयासहरू कुनै भूराजनीतिक अभिप्रायसँग जोडिएको छैन । शान्तिपूर्ण सम्बन्धलाई प्रवद्र्धन गर्ने र संलग्न सबै राष्ट्रहरूबिच आपसी सहयोग प्रवद्र्धनमा ध्यान केन्द्रित छ ।
मध्यपूर्व द्वन्द्वको मध्यस्थतामा चीनको संलग्नताले यस क्षेत्रसँग संलग्न हुने प्रयासमा अर्को महत्वपूर्ण उपलब्धिलाई सङ्केत गर्छ । यद्यपि, शान्तितर्फको यो मार्गलाई आवश्यक आधारको रूपमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ ।
चीनको मध्यस्थता विधि र अमेरिकाको बिचमा मुख्य भिन्नता भए पनि यसले विविधताको बिचमा सद्भाव खोज्ने पुरानो चिनियाँ सिद्धान्तलाई मूर्त रूप दिन्छ । यो ध्यान दिनु महत्वपूर्ण छ कि चीनको मध्यस्थताले मध्यपूर्वमा विद्यमान पहलहरूको विरोध गर्दैन, बरु बढ्दो खण्डित विश्वको बिचमा मध्यपूर्व शान्तिको भिन्न भिन्न बुझाइ र विश्वव्यापी एकताको लागि आशाको किरण बन्ने इमानदार आशाका साथ तिनीहरूलाई पूरक बनाएको छ ।
(लेखक साङ्घाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडीजका एसोसिएट सिनियर अनुसन्धाता हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *