रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
वि.सं. २०३३ सालमा नेमकिपाको जनवर्गीय सङ्गठन नेक्राकिसङ्घसँग भनपा साबिक २ वडाको कार्यसमितिमा म सदस्य थिएँ । २०३४ साल माघ महिनामा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई हामीले भारतको दरभङ्गा प्रवासमा भेट्न गएका थियौँ ।
बिजुक्छेँसँग भेटेपछि उहाँले नेमकिपा स्थापना, नक्सलवाडीहरूको सशस्त्र युद्ध, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, नेपालको कम्युनिस्ट आन्दोलन, विभिन्न पार्टीहरूको गतिविधि, माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङ र अन्य नेताहरूको विषयमा कक्षा लिनुभएको थियो । नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा गरिबीबारे पनि उहाँले कक्षा लिनुभएको थियो ।
दाइको डेरामा दुई दिन बस्दा कर्णप्रसाद ह्योजु, लक्ष्मीभक्त कवांसमेतका साथीहरू एकै ठाउँमा बस्ने, खाने र सुत्ने गरेको पाएँ ।
नेपालमा फर्कनु एक÷दुई दिनपहिले दाइले भारतमा ‘जनताको साहित्य’ १–४ सम्म, ‘किसान सङ्घर्ष’, ‘रुसी–संशोधनवाद र सामाजिक साम्राज्यवाद पतन’ भन्ने किताब नेपाल लिएर जानु भनी कक्षा लिनुभएको थियो । कक्षा लिने क्रममा केही गरी वीरगञ्जको भन्सारमा समात्यो भने यो किताब दाइले पठाएको भन्नु भनी निर्देशन दिनुभएको थियो । उहाँले रक्सौलमा पुगेपछि दुई दुई जनामात्र बस्ने र एकआपसमा भेट नगर्ने र नबोल्ने भनी निर्देशन दिनुभएको थियो । केही साथीहरू डराएर कहाँ जाने, के गर्ने भनी अलमल गर्दा म र लक्ष्मीभक्तलाई भन्सारमा समातियो र सोधपुछ गरियो । उनीहरूले तिमीहरू कहाँ गएर आएको ? यो झोलामा के छ भनेर सोधे । मैले हामी रक्सौलमा फिल्म हेर्न आएको भनी जवाफ दिएँ । त्यसपछि झोला खोलेर हेरे । झोलामा किताबको सबभन्दा माथि फिल्मी पत्रिका ‘माया पुरी’ राखेर ल्याएको पत्रिका हेरेपछि जाउ भनेर पठाइयो । हामी बल्ल बच्यौँ । त्यो किताब काठमाडौँ हुँदै भक्तपुर लिएर आएको थिएँ । भक्तपुर आएपछि मैले समाजवादी देश भियतनाममाथि आक्रमण गर्ने अमेरिकी साम्राज्यवादको विरोधमा भएको विरोध प्रदर्शनमा भाग लिएको थिएँ ।
२०३६ सालमा पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई त्यहाँका सैनिक शासकले फाँसी दिएको विरोधमा नेपालका विद्यार्थीहरूले पाकिस्तानको सैनिक शासनविरुद्ध जुलुस प्रदर्शन, सभा, राजदूतावास घेराउजस्ता कार्यक्रम गरेका थिए । त्यो कार्यक्रममा म र अरु साथीहरू सहभागी भएका थियौँ । विद्यार्थी आन्दोलन देशव्यापी चर्केपछि आन्दोलनलाई दबाउन निर्दलीय पञ्चायती व्यवस्थाको सरकारले निर्दयितापूर्ण दमन गर्न प्रहरी र सैनिकसमेत परिचालन गरेको थियो । यसरी दमन गर्दा पनि आन्दोलन नरोकेपछि निरङ्कुश पञ्चायती व्यवस्थाका राजा वीरेन्द्रले निरङ्कुुश पञ्चायती व्यवस्थाको सट्टा सुधारिएको पञ्चायती व्यवस्था लागु गर्ने वा बहुदलीय व्यवस्था स्थापना गर्नेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरे । राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरूलाई आममाफी दिनेलगायतको विषयमा शाही घोषणा भएको थियो ।
शाही घोषणापछि भारत प्रवास जीवन बिताई आउनुभएका नारायणमान बिजुक्छेँ (रोहित) लाई दत्तात्रय चोकमा विशाल जनसभाले स्वागत गरेको थियो ।
निरङ्कुश पञ्चायती व्यवस्थामा राजनैतिक अधिकार, मौलिक अधिकार र वाक् स्वतन्त्रता नहुने भएकोले पञ्चायतीभन्दा बहुदलीय व्यवस्था प्रजातान्त्रिक व्यवस्था भएकोले बहुदलमा मत दिन आग्रह गरी पर्चा, पम्प्लेट वितरण गरी भक्तपुरको विभिन्न गाउँका सभा, समारोह, जुलुस प्रदर्शनमा भाग लिँदै बहुदलको प्रचार ग¥र्याैँ । जनमतसङ्ग्रहमा पञ्चायतले प्रहरी, सेना, कर्मचारीसमेत लगायो । पैसा बाँडेर, डर–त्रास देखाएर सुधारिएको पञ्चायत व्यवस्था जितेको घोषणा गरियो । भक्तपुरलगायत जिल्लामा बहुदल पक्षले जिते पनि विभिन्न पार्टीहरूले जनमतसङ्ग्रह धोका हो भनी चुनाव बहिष्कार गरेका हुनाले निर्दलीय पक्षले जितेको थियो ।
२०३७ सालको जनमतसङ्ग्रहपछि सुधारिएको पञ्चायत व्यवस्थाको संविधानअनुसार राष्ट्रिय पञ्चायतको चुनावबाट गठन हुने जिल्ला पञ्चायत, नगर पञ्चायत र गाउँ पञ्चायत तथा २०३८ सालमा राष्ट्रिय पञ्चायतको आम चुनाव भएको थियो । त्यो चुनावमा पनि पार्टीको निर्देशनअनुसार विभिन्न ठाउँमा गई चुनाव प्रचार गरेको थिएँ । पार्टीले लेनिनवादी सिद्धान्तअनुसार चुनावमा भाग लिई इमानदार भएर जनताको सेवा गर्ने उद्देश्यले चुनावमा भक्तपुरबाट उम्मेदवार भएका कर्णप्रसाद ह्योजु विजयी भएका थिए ।
२०३८ सालमा साबिक भनपा २ वडाबाट साबिक भनपा १ वडामा बसाइँसराइ भयो । पछि भनपा १ नेमकिपाको कार्य समितिमा सदस्य भएँ । नेमकिपा भनपा १ वडाको कार्य समितिमा सदस्य भएपछि पार्टीको निर्देशनअनुसार काम गरी आएको थिएँ । २०३९ सालको स्थानीय चुनावमा भनपा वडा नम्बर १ को चुनावमा पार्टीबाट मलाई नगर सभा सदस्य पदमा चुनाव लड्न निर्देशन दिइएअनुसार चुनावको घोषणापत्रबमोजिम चुनाव प्रचार गरी चुनावमा (८८३ मतले) विजयी भएको थिएँ ।
२०३७ सालदेखि पार्टीको निर्देशनअनुसार पार्टीबाट आयोजना भएको सभा, जुलुस, पार्टीको वक्तव्य र राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा समाचार, टिप्पणी, लेख एवम् अन्य रचनाहरू भक्तपुर, काठमाडौँ र पाटनमा भएका प्रेसहरूमा छाप्ने गोरखापत्र, मातृभूमि, जन्मभूमि, जनजागृति, छलफल, नयाँ सन्देश, समीक्षा, युगधारा, सन्ध्या टाइम्स, मदरल्यान्ड, कान्तिपुर, गतिविधि, साप्ताहिक विमर्शलगायत पत्रिकाहरूमा समाचार पु¥याउँथँे र कम्पोज गर्ने एवम् छाप्ने काम पनि गरेको थिएँ । समाचारको व्यवस्था गरिदिने रमेश, हरिशरण र मृगेन्द्रले त्यसबेला हामी पार्टीका जनप्रतिनिधिहरूले हाम्रो पार्टीमा काम गर्ने चन्द्रबहादुर, लक्ष्मणलगायत साथीहरूको घर निर्माणमा नगरपालिकाको विकास निर्माणका इँटा, सिमेन्ट अनि निर्माण सामान दिएर सहयोग गर्नुपर्ने होइन (?) भनी मलाई भन्ने गर्थे ।
२०३८ सालमा पार्टीका साथीहरूको निर्देशनअनुसार म र अरू एकजना साथीलाई प्रेससम्बन्धी काम सिकिराख्नुपर्छ भनी हामी दुई जनालाई पाटनको कोबहालमा एक साहुको घरमा राखेको विश्वबन्धु प्रेसमा म कम्पोज गर्ने र अरु साथी कापी बनाउने, रुलिङ गर्ने काम सिक्न गएका थियौँ । कम्पोज गर्ने र केही छाप्न जानेपछि प्रेसका साहुले किताब छाप्नका लागि कम्पोज गर्न र छाप्न दिएपछि कम्पोजको र छाप्ने काम गरँे । विश्वबन्धु प्रेसमा छाप्ने कामपछि जनजागृति प्रेस न्युरोड काठमाडौँ, आनन्द प्रिन्टिङ प्रेस बागबजार र भक्तपुरको केही प्रेसमा पार्टीको निर्देशनअनुसार पर्चा छाप्ने, पम्प्लेट छाप्ने र दाइले बारा, पर्सा, रौतहट आदि जिल्लामा भएका किसान आन्दोलनबारे लेख्नुभएको किताब छाप्ने काम पनि हामीले गर्यौँ ।
प्रेसमा काम गर्दै जाँदा केही पत्रिकाका सम्पादकहरूले पत्रिकामा छाप्ने सम्पादकीय, लेख र रचनाहरू किनेर ल्याएर छाप्ने पनि गरिन्थ्यो भने केही प्रेसका कामदारहरू राजनैतिक पार्टीसँग सम्बन्ध राखेर प्रेसमा काम गर्ने मजदुरहरूलाई २०४६ सालको जनआन्दोलनमा जुलुस गर्ने र सभा गरेको ठाउँमा पठाइने काम पनि भयो । त्यस्तो जुलुस र सभामा म पनि सहभागी भएको थिएँ ।
२०४५ साल भदौ ५ गते बिहान ५ बजे ५.५ रेक्टरको भूकम्प गयो । त्यो भूकम्पले घरहरू ढली जनधनको क्षति भएको थियो । पार्टीको निर्देशनअनुसार भूकम्पबाट क्षति भएको घरमा राहत दिने काम भइरहेको बेला पानी परेको हुँदा त्यो दिन रोकियो । २०४५ भदौ ९ गते साँझ करिब ६ बजेतिर म खेतबाट जगातीमा आइपुग्दा जनताले जुलुस गरेको आवाज सुनियो । अनि मैले जुलुस हेरेर आएको केही व्यक्तिहरूसँग सोधेँ, “त्यहाँ केको जुलुस र के भयो ?” उनीहरूले कर्ण ह्योजुले भूकम्पबाट जनधनको क्षति भएका व्यक्तिहरूलाई राहत कार्ड, राहतको सामग्री नदिई पक्षपात गरेकोले ह्योजुलाई घुमाउन ल्याएको भनियो । त्यसपछि म सूर्यमढी हुँदै साकोठासम्म पुगेँ । त्यहाँ बसेका साथीहरूसँग मैले सोधेँ, ‘खोइ ह्योजु’ भनेर । साथीहरूले ह्योजु र उत्तमलाई प्रहरीको गाडीमा राखेर लग्यो भने । त्यसपछि म घर पुगेँ । म बेलुकाको भात खाएर सूर्यमढीमा भैल प्याखं (भैरव नाच) हेर्न भनी पुगेको थिएँ । केही छिनपछि इन्स्पेक्टर अर्जुन शाहीको नेतृत्वमा करिब ३० जना जति प्रहरीको टाली लिएर तरिकाले आइपुग्यो । म बाटोको छेउमा बसी नाच हेरिरहेको ठाउँमा आएर कहाँ बसेको भनेर एकचोटि सानो लट्ठीले हान्यो । प्रहरीहरू गएपछि म घर गएर सुत्न गएँ । भोलि बिहान हल्ला भयो, “ह्योजु म¥यो, नारायणमान दाइ, आशाकाजी बासुकला, गोविन्द दुवाललगायतका व्यक्तिहरूलाई समातेर लग्यो !” त्यसपछि कुरा बुझ्न भनी साथीहरूकहाँ गएँ । साथीहरूसँग भेटेँ । अब के गर्ने भनेर सल्लाह गरी बाहिर निस्कँदा पञ्च, मण्डले तथा पञ्च समर्थकहरू बाहिर बसेर ह्योजुलाई नेमकिपाका मानिसहरूले मारे रे भनेर हल्ला गरिरहेका थिए । त्यसैबेला कर्ण ह्योजुको ‘शव यात्रा’ मा सहभागी हुन भनेर माइकिङ गरेको गाडी आइपुग्यो । त्यसपछि म घरमा गएँ । घरमा पनि परिवारबिच छलफल भयो, अब के गर्ने भनेर । बाहिर नजाने सल्लाह भयो । त्यसपछि ह्योजुको ‘शव यात्रा’ को ¥याली आयो । ‘शव यात्रा’ मा विभिन्न अराजक नारा लगाएका व्यक्तिहरू ह्योजुलाई घुम्न ल्याएको बेलाका मानिस आज पनि आएको देखेर जनता आश्चर्यचकित भए । बेलुका खानापछि बुबाआमाले अब तिमी घरमा नबस साथीहरूकहाँ गएर बस भने । कहाँ बस्ने हो सल्लाह गरेर बस्न जानू भने । त्यसपछि साथी विष्णुगोपालको घरमा गएँ । साथीसँग सल्लाह गर्यौँ, अब के गर्ने ? सल्लाह गरी बसेको बेला श्रीबहादुरका छोरा श्रीप्रसाद भन्ने व्यक्ति पनि हामीसँगै थिए । उनले हामीलाई ‘हेर भाइहरू, यो राजनीति केस (मुद्दा) हो, ह्योजुको हत्यामा सहभागी भएको नभएको कुरासँग मतलब राख्दैन । नेमकिपाका नेता, कार्यकर्ता र समर्थकहरूसमेतलाई समातेर मुद्दा चलाउन सक्छ । त्यसकारण, तिमीहरू कहाँ जाने हो लुक्न जानू भने । त्यसपछि हामी दुईजना २ वडामा गएर भूमिगत बस्यौँ ।
२०४५ भदौ २३ गते भक्तपुर नगर पञ्चायतको जनप्रतिनिधिको संस्थालाई भङ्ग गरी मण्डलेहरूलाई मेयर, उपमेयर, वडाध्यक्ष र नगर सभासद्हरू बनाएर नियुक्ति गरी भक्तपुर नगर पञ्चायत मण्डलेहरूले भागबन्डा गरे । नेमकिपाका नेता, कार्यकर्ता र समर्थकहरूलाई डर–त्रास देखाई घर–घरमा गएर मण्डलेहरूले सुराकी गराउने, खेत–खेतमा गएर मान्छे देखाउने र पक्रनमा सहयोग गरे र कार्यकर्ताहरू एवम् साधारणसमेत गरी केही दिनमै १५८ जनाभन्दा बढीलाई गिरफ्तार गरे ।
विशेष अदालतमा नारायणमान दाइलगायत ६७ जना नेता तथा कार्यकर्ताहरूलाई ज्यानको मुद्दा चलाइयो । मुद्दाको प्रमाणको लागि मण्डलेहरूलाई बयान र व्यहोरा तयार गरी शनिबारको दिन प्रहरीहरूको घेरामा हनुमानघाटमा सरजमिन गराइयो । एकतर्फी सरजमिन गरिएको विरोधमा नेपाल क्रान्तिकारी महिला सङ्घले ‘नक्कली सरजमिन खारेज गर !’ लगायतका विषयमा नारा लगाई नगरका मुख्य–मुख्य टोलमा जुलुस प्रदर्शन ग¥यो । त्यसपछि विशेष अदालतमा पेस गरेको ज्यान मुद्दाको प्रतिवेदन हेरेँ । प्रतिवेदनमा ६७ जनालाई ज्यान मुद्दा चलाइएको थियो । हाललाई सबुत प्रमाण नभएको हुँदा पछि प्रमाण भएपछि ज्यान मुद्दा चलाउने भनी मलाई प्रतिवेदनमा उल्लेख गरेको पाएँ र ३ महिनासम्म भूमिगत बसेपछि बाहिर आएँ ।
२०४६ सालमा नेपाली काङ्ग्रेस र वाम मोर्चाको संयुक्त भएर निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा भएको आन्दोलनमा सक्रियतापूर्वक भाग लिएँ । २०४६ को आन्दोलनको कारण राजा वीरेन्द्र शाहले शाही घोषणामार्फत संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्थापना गर्ने घोषणा गरे । संविधान बनाउन र संविधानअनुसार चुनाव गराउनको लागि कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार गठन भयो । अन्तरिम सरकारको मन्त्रिपरिषद्को बैठकले २०४७ वैशाख ६ गते ज्यान मुद्दा फिर्ता लिने भनी निर्णय ग¥यो । नारायणमान दाइलगायत नेता तथा कार्यकर्ताहरू रिहा भएपछि भक्तपुरका जनताले टौमढीको ठुलो चोकमा विशाल जनसभा गरी अभिनन्दन गरे ।
२०४७ सालपछि नेमकिपा साबिक भनपा १ मा पार्टी अध्यक्ष, नेमकिपा क्षेत्र नम्बर १ का पार्टी सदस्य, नेक्राकिसङ्घ भनपा १ को अध्यक्ष र नेक्राकिसङ्घ भक्तपुर जिल्लामा पनि आबद्ध भई काम गरेँ । नारायणहिटी दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र शाह २०५९ सालमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनी पदबाट बर्खास्त गरी प्रतिनिधिसभा विघटन गरी राजकीयसत्ता आफ्नो हातमा लिएर कार्यकारी राजा भए र देशमा प्रतिगमन सुरु भयो ।
नेमकिपाले उक्त प्रतिगमनको विरोधमा भक्तपुरदेखि काठमाडौँसम्म विरोध प्रदर्शन र सभा ग¥यो । त्यसपछि प्रतिगमनविरुद्ध पाँच राजनैतिक पार्टीको संयुक्त आन्दोलन सुरु भयो । आन्दोलनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिक सङ्घर्ष चिहानबाट सुरु हुन्छ; संसद् पुनःस्थापना नभएसम्म प्रतिगमनको विरोधमा जनआन्दोलन चालु गर्नुपर्छ भन्नुभएको थियो । प्रतिगमनविरोधी आन्दोलनमा विभिन्न स्थानबाट भएका जुलुस प्रदर्शन र सभामा भाग लिँदै जाँदा प्रहरीले समातेर नेपाल खाद्य संस्था थापाथलीको गोदाममा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म थुनेको थियो ।
प्रतिगमनको विरोधमा जनआन्दोलन भएको दल र माओवादीबिच बा¥हबुँदे समझदारी भएपछि राजा ज्ञानेन्द्रले शाही घोषणाबाट २०६३ साल वैशाख ११ गते प्रतिनिधिसभा (संसद्) पुनः स्थापना गरे । त्यसपछि प्रतिगमन समाप्त भयो । यसरी २०३३ सालदेखि नेमकिपा पार्टीमा बसी पार्टीको निर्देशनअनुसार काम गर्दै जाँदा दाइलाई दरभङ्गामा भेटेको, २०३६ सालको विद्यार्थी आन्दोलन र जनआन्दोलनमा भाग लिएको, प्रेसमा काम गरेको, भक्तपुर काण्ड २०४५ सालको जनआन्दोलनको प्रतिगमनविरोधी आन्दोलन र २०६२–६३ सालको आन्दोलनमा भाग लिएको झल्झली सम्झना हुन्छ । अहिले पनि पार्टीमा आबद्ध भएर काम गरिरहेको छु ।
Leave a Reply