भर्खरै :

सांसदहरूको सरकारलाई प्रश्नै प्रश्न

काठमाडौँ, २१ साउन । सोमबारको प्रतिनिधिसभाको आकस्मिक र विशेष समयमा सांसदहरूले देश र जनताका समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विशेष समयमा उद्योगीहरूसँग अर्बौँ रुपैयाँ विद्युत् महसुल बक्यौता असुल नगरिएको, एसर्ईई र कक्षा १२ का आधाआधी विद्यार्थीमात्र उत्तीर्ण भएको, प्रधानमन्त्री र मन्त्रीहरूसँग देश विकासको खाका नभएको, इजरायलले हमासका नेता हानानीलाई तेहरानमा हत्या गरेको, अमेरिकी सरकारले तिब्बतलाई चीनबाट विखण्डन गराउने र विश्व शान्ति खलबल्याउने कुनियत लिएको बारे चर्चा गर्नुभयो ।
आकस्मिक समयमा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्युठानको समस्याबारे संसद्मा बारम्बार उठाए पनि सरकारको कानमा बतास नलागेको उल्लेख गर्नुभयो ।
माओवादीका सांसद माधव सापकोटाले अर्बौँ रुपैयाँ विद्युत् महसुल बक्यौता भएका उद्योगमा प्रम ओलीको दबाबमा विद्युत् पुनः जडान गरिएकोमा विरोध गर्नुभयो ।
रास्वपाका सांसद सोविता गौतमले काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा जनतासँग भेटघाट गर्न जाँदा राष्ट्रिय पार्टी दाबी गरेका पार्टीका कार्यकर्ताहरूले मादक पदार्थ खाएर आफूलाई अभद्र व्यवहार गरेको बताउनुभयो ।
राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले नेपालीसँग रहेका बन्दूक नवीकरण नगरिए कतिपयको घरघरमा अवैध बन्दुक हुने र बन्दुक नवीकरण नहुने भए सरकारले जनतालाई मूल्य तिरी जिम्मा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विशेष समयमा नेकाका सांसद प्रकाशशरण महतले बजेट विनायोजना राख्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एमालेका सांसद ठाकुर गैरेले समाजवाद कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
माओवादीका सांसद शक्ति बस्नेतले उद्योगीहरूको विद्युत् महसुल बक्यौता एमाले–काङ्ग्रेसको सरकारको पालामा २०७२ सालबाट सुरु भएको हुँदा ती दुई पार्टी नै जिम्मेवार हुने बताउनुभयो ।
रास्वपाका सांसद मनिष झाले उद्योगीले अर्बौँ रूपैयाँ विद्युत् महसुल नतिरे नेपाल टेलिकमको अर्बौँ रूपैयाँ बक्यौता असुल नहुने बताउनुभयो ।
आमजनता पार्टीका सांसद प्रभु साहले बङ्गलादेशको आन्दोलन, त्यहाँ रहेका नेपाली विद्यार्थीको अवस्था, इजरायलमा बेपत्ता पारिएका विपिन जोशी, युक्रेनको सेनामा भर्ती भएका नेपालीको अवस्था, राजदूतहरूको नियुक्तिबारे सरकारसँग स्पष्टीकरण राख्नुभयो ।
रास्वपाका सांसद शिशिर खनालले बिचमा विशेष समय लिएर बङ्गलादेशका राष्ट्रपति शेख हसिना राजीनामा दिएर भारत शरणमा गएको उल्लेख गर्दै त्यहाँ अध्ययनरत ३ हजारभन्दा बढी विद्यार्थीको अवस्थाबारे सरकारसँग प्रश्न गर्नुभयो ।
रास्वपाकै सांसद तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटी कतै दर्ता नभएको र त्यसभित्र अर्बौँ रूपैयाँ भ्रष्टाचार भएको औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *