भर्खरै :

बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी, अन्तरिम सरकार बनाउने घोषणा

बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी, अन्तरिम सरकार बनाउने घोषणा

ढाका, २१ साउन (एएफपी) । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउँसो जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । शेख हसिना बङ्गलादेशबाट हेलिकोप्टर चढी त्रिपुराको अगरतल्ला पुगेको बताइएको छ ।
“प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उहाँले भन्नुभयो । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नुहुनेछ वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उहाँले केही बताउनुभएको छैन ।
बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो ।
“देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो ।” वाकरले भन्नुभयो ।
“मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।”
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ ।
आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।
यसअघि प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन सुरु गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार एकैदिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार बिहानैदेखि राजधानी ढाकामा गस्ती गरेको छ । विश्लेषकहरूले आइतबार देशभरका लाखौँ प्रदर्शनकारी र सरकारी समर्थकहरूबिच लाठी र चक्कुले एकअर्कासँग आक्रमण गर्न थालेपछि सुरक्षा फौजले गोली चलाएको थियो ।

Bangladesh army personnel stand guard during a curfew following clashes between police and Anti-Discrimination Student Movement activists amid anti-government protests in Shahbag area of Dhaka on August 5, 2024. Bangladeshi security forces patrolled the capital on August 5, as protesters demanding Prime Minister Sheikh Hasina’s resignation said they would take to Dhaka’s streets again following the deadliest day of unrest since demonstrations erupted last month. (Photo by Munir UZ ZAMAN / AFP)

ढाकामा रहेका सैनिक र प्रहरीले आइतबार साँझदेखि लागु भएको कफ्र्यू लागु गर्नका लागि काँडेतार लगाएर प्रधानमन्त्री हसिनाको कार्यालय जाने बाटोहरूमा अवरोध गरेका छन् ।
गत महिनादेखि सुरु भएको आन्दोलन प्रधानमन्त्री हसिनाको १५ वर्षे शासनकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ र ७६ वर्षीय हसिनाले राजिनामा दिनुपर्ने व्यापक मागमा परिणत भएको छ ।
आन्दोलनप्रति नागरिक सहभागिता बढेसँगै मोबाइल इन्टरनेटलाई देशव्यापीरूपमा कडाइका साथ प्रतिबन्धित गरिएको थियो, कार्यालयहरू बन्द गरिएको थियो र देशका आर्थिक रूपले महत्वपूर्ण तीन हजार ५०० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द गरिएको थियो ।
विद्यार्थीद्वारा अवज्ञा आन्दोलनको घोषणा गरेकै दिन राजधानी ढाकालगायतका स्थानमा स्थिति थप तनावपूर्ण बनेको हो ।
राष्ट्रव्यापी अवज्ञा अभियानको नेतृत्व गरेका एक प्रमुख नेता आसिफ महमुदले भन्नुभयो, “अन्तिम विरोध प्रदर्शन गर्ने समय आएको छ । हामी देशभरका विद्यार्थी र सर्वसाधारणलाई ढाकातर्फ अघि बढ्न आह्वान गर्दछौँ ।”
आइतबार उत्तरपूर्वी सहर इनायतपुरको एक स्टेसनमा प्रदर्शनकारीले आक्रमण गर्दा १४ जना प्रहरी अधिकारीसहित कम्तीमा ९४ जनाको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा बङ्गलादेशमा भइरहेको प्रहरी ज्यादती र हिंसा रोकिनुपर्ने बताउनुभएको छ ।
इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिका प्राध्यापक तथा बङ्गलादेशका विज्ञ अली रियाजले प्रधानमन्त्री हसिनाले ‘प्रदर्शनकारीका मागप्रति खासै चासो दिएकोजस्तो’ नदेखिएको र यसले तनाव थप बढिरहेको चेतावनी दिनुभएको छ ।
रियाजले भन्नुभयो, “यो सबै उपायहरूद्वारा अभूतपूर्व लोकप्रिय विद्रोह हो ।” राज्यपक्षधर र सत्ताका वफादारहरूबिचको अहिलेको क्रूरतालाई बङ्गलादेशको इतिहासमा नै भएका सीमित आन्दोलन र तीनको प्रभाबसँग जोड्न सकिन्छ ।
एएफपीले पुष्टि गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार ढाकामा प्रदर्शनकारीहरूले हसिनाका पिता शेख मुजिबुर रहमानको शालिकमा आन्दोलनकारी चढेर यसलाई हथौडाले तोडेको तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *