भर्खरै :

विश्व स्तनपान सप्ताह र यसको सान्दर्भिकता

विश्व स्तनपान सप्ताह र यसको सान्दर्भिकता

विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएको भन्ने भनाइ छ । विभिन्न तथ्याङ्कअनुसार विश्व स्तनपान सप्ताह अहिले आएर १२० भन्दा बढी देशहरूले मनाउने गरेको पाइन्छ । विश्व स्तनपान सङ्गठन, युनिसेफलगायतका संस्थाहरू र अन्य सम्बन्धित संस्था र अभियानहरूको प्रत्यक्ष संलग्नतामा हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह विश्वभरी भब्यताका साथ मनाउने चलन चलिआएको छ । हुन त आफ्नो बच्चालाई स्तनपान गराउने कुरा सबैलाई जानकारी भएकै कुरा हो । तर यस बारेमा विस्तृत रुपमा जानाकारी पाउन आवश्यक छ । प्रारम्भिक स्तनपान अर्थात बच्चा जन्मिएको एक घन्टाभित्र वा यसमा पनि जतिसक्दो चाँडो स्तनपान गराउने, पूर्ण स्तनपान गराउने अर्थात ६ महिनासम्म नवजात शिशुलाई आमाको दूधमात्र खुवाउने र बच्चा जन्मेको कम्तिमा २ वर्षसम्म अन्य खानेकुराको सँगसँगै आमाको दूध पनि पर्याप्त मात्रमा खुवाउने कुरामा सबै आमाहरूलाई अनिवार्य जानकारी हुनु आवश्यक छ ।
बच्चालाई पूर्ण स्तनपान गराउन निम्न कुरामा जानकारी हुनुपर्दछ
शिशु जन्मिएपछि जतिसक्दो चाँडो (१ घन्टा भित्र) आमाको बिगौति दूध खुवाऔँ । शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाऔँ ।
बालबालिकालाई ६ महिना पूरा भएपछि पूरक खानाका साथै कम्तिमा २ वर्षको उमेरसम्म निरन्तर स्तनपान गराऔँ ।
आमाको दूध शिशुको लागि सर्वोत्तम आहार हो र यसले शिशुको रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ । साथै मानसिक समस्यालाई समेत कम गर्दछ ।
चिकित्सकको सल्लाहबिना शिशुलाई आमाको दूधबाहेक अन्य कुनै किसिमको दूध नखुवाऔँ ।
स्तनपानसम्बन्धी उचित परामपर्श तथा थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्पर्क गरी थाहा पाउन सकिने छ । बच्चालाई पूर्ण स्तनपान गराउनको लागि प्राकृतिक रूपले आमाको महत्वपूर्ण भूमिका भए तापनि यसमा परिवारका हरेक सदस्यको जिम्मेवारी पनि महत्वपूर्ण रहन्छ । हरेक परिवारका अन्य सदस्यहरूले स्तनपानजस्तो महत्वपूर्ण कार्यमा आमालाई सहयोग नगरेमा कुनै पनि हालतमा उसको बच्चाले पूर्ण स्तनपान गर्न सक्दैन । नेपालमा अझैपनि शिशु जन्मेको १ घन्टाभित्र दूध चुसाउने आमाको सङ्ख्या जम्मा ६३ प्रतिशत रहेको छ । त्यस्तै शिशुलाई ६ महिनासम्म आमाको स्तनपान मात्र गराउने आमाको सङ्ख्या ६८ प्रतिशत र शिशुलाई २ वर्षभित्र निरन्तर स्तनपान गराउने आमाको सङ्ख्या बल्ल ९४ प्रतिशत रहेको कुरा सर्वेक्षणहरूबाट देख्न सकिन्छ ।
त्यस्तै गरेर पहाडी गाउँहरूमा जन्मेको १ घन्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ६३ प्रतिशत र शहरमा ५१ प्रतिशत रहेको तथ्याङक पाइन्छ । शुदूरपश्चिम प्रदेशमा ६ महिनासम्म स्तनपान गराउने आमाको सङ्ख्या ७४ प्रतिशत छ भने बागमतीमा ४३ प्रतिशत छ । लुम्बिनी प्रदेशमा जम्मा ३६ प्रतिशत स्तनपान गराउने आमाको सङ्ख्या रहेको छ । त्यसैले यो प्रतिशतलाई आधार मानेर भन्ने हो भने अझैपनि हाम्रा समुदायहरूमा शिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौति दूध खुवाउनेप्रति जोड दिनुपर्छ । आमाको बिगौति दूध बच्चाको लागि रोगसँग लड्न सक्ने क्षमता बढाउने एक प्रकारको पहिलो खोप नै हो भनेर बुझाउनुु निकै आवश्यक छ ।
शिशुलाई जन्मेको १ घन्टाभित्र जति सक्दो चाँडो आमाको दूध अनिवार्य खुवाऔँ, जन्मेको ६ महिनासम्म आमाको दूध मात्र पूर्णरूपमा खुवाऔँ । स्तनपान गराउँदा २४ घन्टामा कम्तीमा १० देखि १२ पटकसम्म गराऔँ । एउटा स्तनको स्तनपान गराउँदा कम्तिमा १५ मिनेटको समय अवधिसम्म दूध चुसाऔँ । एउटा स्तनको दूध पूरामात्रामा सकाएर मात्र अर्को स्तनको दूध खुवाउन सुरुवात गरौं । यसो गरेमा मात्र बच्चाले दूधबाट प्राप्त गर्नुपर्ने पानीदेखि सम्पूर्ण पोषक तत्वसमेत प्राप्त गर्न सक्दछ । जन्मेको कम्तिमा २ वर्षको उमेरसम्म थप खानाको साथमा पूर्ण स्तनपान गराऔँ ।
शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत आमाहरूलाई सहजताका लागि सोच्नुपर्दछ । सरोकारवालाहरूले जागिरे आमाहरूको लागि हरेक कार्यालयमा स्तनपान कक्षको बारेमा नीति निर्माण गर्ने र कार्यान्वयन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *