“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
प्रधानमन्त्री केपी ओलीले सुखी नेपाली बनाउने लक्ष्यअनुरूप देश र जनताको आवश्यकताको आधारमा संविधान संशोधन गर्ने बताए । संविधान संशोधन गरेर सुखी नेपाली हुने भए, देश र जनताको आवश्यकता पूर्ति हुने भए संविधान संशोधन गर्न किन ढिलाइ ? के प्रम ओलीले भनेझैँ संविधान संशोधन हुने बित्तिकै जनता सुखी हुन्छन् ? जनताको आवश्यकता पूर्ति हुन्छ ? संविधान अग्रगमन र देशको राजनीतिक स्थिरताको निम्ति भनेर फुक्ने होइन गरेर देखाउने हो । सञ्चारमाध्यममा आएअनुसार संविधान संशोधनको एक एजेन्डा ‘थ्रेसहोल्ड’ हो । सरकारले थ्रेसहोल्ड ल्याएपछि नेपाली सुखी हुने र जनताको आवश्यकता पूरा हुने संशोधन हुने संविधान कस्तो ! के त्यस्तो जनपक्षीय संविधान आउन लागेको हो ?
हो, समयअनुसार संविधान परिवर्तन हुनु जरुरी छ । तर, यो पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सरकारले जनताको आवश्यकताअनुसार संविधान संशोधन हुने छाँटकाँट देखिँदैन । कम्युनिस्टको सिद्धान्त र विचार छोडेको एमालेले जनता सुखी हुने या जनताको जीवन सुनिश्चित हुने खालको संविधान संशोधन हुनेछैन । के अब हुन लागेको संविधान संशोधनले जनताको काम मामको सुनिश्चित गर्छ ? योग्यताअनुसार काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त हुन्छ ? स्वदेशमै रोजगारीको बन्दोबस्त हुन्छ ? जनताको जीवन र सम्पत्ति सुरक्षित हुन्छ ? सबैलाई व्यक्तित्व विकास गर्ने ढोका खुल्छ ? गरिबवर्गका सन्तानले पनि उच्च शिक्षा हासिल गर्ने अवसर मिल्छ ? के संविधान संशोधनपछि भ्रष्टाचारी, कमिसनखोर, अपराधीहरू कारबाहीमा पर्छन् ? सबैले न्याय र समानता पाउँछन् ? कुनै काममा ढिलासुस्ति हुँदैन ? के देशभर सन्तुलित विकास हुन्छ ?
प्रम ओलीले भने, “सरकारले कुनै भुलभुलैयामा कुनै पनि काम गर्दैन । कुनै विचार प्रस्तुत गर्दैन र कसैलाई झुक्याउने खेल खेल्दैन ।” प्रम ओलीले केही वर्षअघि पानीजहाज चलाएर नेपालको झन्डा गाडेर यात्रा सुरु गर्ने बताएका थिए । घर–घरमा ग्यासको पाइप लाइन पु¥याएर जनतालाई सेवा सुविधा दिने बताएका थिए । के पानीजहाज चल्यो ? के घर–घरमा ग्यासको पाइपलाइन आइपुग्यो ? यो झूट बोलेको हो कि झुक्याएको ? के यो भुलभुलैयामा पारेको होइन ? कुनै गाउँ या ठाउँको एक बस्तीमा ग्यासको पाइप लाइन पुगेको देखाएर गर्व गर्नु पनि उचित हुँदैन । पानीजहाज चलाउने भनेर कार्यालय उद्घाटन गरेर अहिले पनि बिनाकाम कसैले तलब खाइरहेको होला । प्रम ओलीले “म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्न” भनी बाचा गरेका थिए पहिले नै । के अब देशमा भ्रष्टाचार भइरहेको छैन ? के नेपाल भ्रष्टाचारमुक्त देश भइसक्यो ? प्रम ओलीको बाचा खोइ कहाँ गयो ? अनि इन्टरनेसनल ट्रान्सपरेन्सीले नेपाललाई किन बढी भ्रष्टाचार भएको सूचीमा राख्यो ? हरेक दिनझैँ छापामा भ्रष्टाचार प्रकरणका मुद्दा र घटनाहरू आइरहेका छन् । आफ्नै पार्टीका नेताहरूमाथि भ्रष्टाचारको अभियोग छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकपछि अर्काे भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गर्दै छ । सार्वजनिक लेखा समितिले अरबौँ खरबौँ बराबरको रकम बेरुजु भएको सार्वजनिक गरिसकेको छ ।
प्रम ओलीले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत आचरण गरेर पार्टी अघि नबढ्ने कसम पनि खाए । वास्तवमा एमाले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेर अर्कै गलत बाटोमा गइरहेको छ । कम्युनिस्ट पार्टीको नाउँमा कम्युनिस्ट पार्टीको विचार छोडेर गलत बाटोमा जाने एक दल एमाले पनि हो । कम्युनिस्ट पार्टी भएर कम्युनिस्ट पार्टीको बाटो छोड्ने एमाले पनि हो । एमालेले वर्गसङ्घर्षको बाटो छोडेको छ । हालको पुँजीवादी व्यवस्थालाई आत्मसात गरेर यही बाटोबाट जनताको समस्या समाधान गर्ने विश्वास एमालेले गरेको छ । वर्गसङ्घर्षको बाटो लिने दलहरू कुनै हालतमा कम्युनिस्ट हुन सक्दैनन् भनी एमालेकै नेता र लेखकहरू दाबी गर्छन् । के पुँजीवादी व्यवस्थाभित्र रमेर कामदारवर्गको सेवा गर्ने सपनामा भुलेर दलले बाटो बिराएको होइन ? एमालेले माक्र्सवाद–लेनिनवादअनुसार देशमा के गतिविधि गरिरहेको छ ? कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार के काम गरिरहेको छ ? आफू प्रम हुनकै निम्ति माओवादी सरकारको समर्थन फिर्ता लिएर नेकाको शरणमा गएको होइन ? के यो गलत आचरण होइन ?
साउन २१ गतेको ‘नयाँ पत्रिका’ दैनिकमा लेखियो, ‘फरक मत राख्दा ऊर्जा मन्त्रीद्वारा आचार्य र पुन बर्खास्त ।’ विद्युत् प्राधिकरण सञ्चालक समितिले तीन महिनाभित्र बक्यौता असुल नभए पुनः लाइन काट्ने गरी ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको थियो । बक्यौता नउठाई लाइन जोड्न नहुने भन्दै सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । फरक मत राखेकै आधारमा उनीहरू पदमुक्त भए । पदमुक्त भएका व्यक्तिहरूले भने, “राज्यकै पक्षमा काम गर्दा राज्यले नै सजाय दियो ।” बक्यौता उठाउनुपर्छ भनेर अडान लिँदा राज्यले नै आफूहरूमाथि अन्याय ग¥यो भन्ने उनीहरूको दाबी हो । यो कारबाहीले सत्यको पक्षमा बोल्ने शासकहरूको नजरमा अपराधी हुँदोरहेछ । यसरी यहाँ भनाइ र गराइको आकाश पातालको फरक हुन्छ । शासकहरूले भन्ने एक थरी गर्ने अर्काे रहेछ भन्ने थाहा हुन्छ ।
Leave a Reply