भर्खरै :

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

ढाका, ६ अगस्ट (एएफपी) । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विघटन गर्नुभएको छ ।
“राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ,” राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।
बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।
बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीहरूको पर्खाइमा परिवार
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्यरूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएको खबर पाएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।
“हामीलाई जवाफ चाहिन्छ,” हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसको रिहाइको माग गर्दै अभियान चलाइरहेको ‘आमाहरूको आह्वान’ समूहका संयोजक सन्जिदा इस्लाम तुलीले भन्नुभयो ।
अधिकारकर्मीहरूले हसिनाको सुरक्षा बलले विशेषगरी प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र देशको सबैभन्दा ठुलो इस्लामवादी पार्टी ‘जमात–ए–इस्लामी’ का कार्यकर्तासहित लगभग ६०० जनालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन् ।
टुलीले बताएअनुसार कम्तिमा २० परिवार बन्दी बनाइएको आफन्तको खबरको प्रतिक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् ।
सेना प्रमुख जनरल वाकर–उज–जमानले सोमबार हसिनाले हप्तौँको विरोध प्रदर्शनपछि राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो ।
हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष ७८ वर्षीय पूर्वप्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो ।
विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेम पनि मङ्गलबार रिहा हुनुभएको हो । “उहाँलाई आज बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ,” पारिवारिक साथी र आफन्त मासुम खलिलीले बताउनुभयो ।
हसिनाको सुरक्षा बललाई दसौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।
सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १०० जना अझै पनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो । हसिनाको सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ ।

मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।
प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् ।
ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गर्नुभएको थियो ।
बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।
यसैबिच, बङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गर्नुभएको छ ।
महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्णरूपमा निर्वासित गरिएको जनाउँदै उहाँले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *