भर्खरै :

देशभक्त नागरिक तयार गर्ने पाठ्यक्रम आवश्यक

हरेक देशभक्त नागरिकलाई आफ्नो मातृभूमिप्रति अगाध माया हुन्छ । देशभक्त नागरिकले आफ्नो जन्मभूमि र जन्मदिने आमालाई बिर्सेको हुँदैन । कसैले भुलेमा या बिर्सेमा त्यो नेपाल र नेपाल आमाप्रति लात मारेको ठहर हुनेछ । प्रत्येक नेपालीले आफ्नो श्रम, समय, सीप आफ्नै भूमिमा सिञ्चित गर्नुपर्छ । प्रत्येक नेपालीलाई देशप्रति माया जगाउन, नेपालमै आवश्यक सेवाको व्यवस्था गर्न देशभक्तिको भावना जगाउनुपर्छ; देशमै रोजगारीको व्यवस्था गर्ने काम सरकारले गर्नुपर्छ । देशभक्तिको भावना जगाउन विद्यालय तथा कलेजमा देशभक्तसम्बन्धी पाठ्यपुस्तक आवश्यक हुन्छ । देश जोगाउने, देश जोगाउन आन्दोलन गर्ने, देश र जनताको पक्षमा, सेवामा सङ्घर्ष गर्ने योद्धाहरूको जीवनी पाठ्यपुस्तकमा राख्नु आवश्यक छ । शोषणरहित समाज स्थापना गर्न लाग्ने, समाज परिवर्तनमा टेवा पु¥याउने समाजसेवी, जनसेवी सङ्घर्षशील व्यक्तित्वहरूको जीवनी पाठ्यपुस्तकमा राख्नुपर्छ । त्यसले देश जोगाउन युवा विद्यार्थीलाई उत्प्रेरित गर्नेछ ।
नागरिक भावना जगाउन नागरिक शिक्षा आवश्यक हुन्छ । अनुशासित, सिर्जनशील, कर्तव्यनिष्ठ नागरिक तयार गर्न, देशभक्तिको भावना विकास गराउन विद्यालय स्तरदेखि नै नागरिक भावना जगाउने र सांस्कृतिक स्तर जगाउने पाठ्यक्रमको व्यवस्था गर्नुपर्छ । देशका नागरिकमा नागरिक भावना र सांस्कृतिक स्तर नहुँदा झैझगडा र अशान्ति बढेको छ । उच्छृङ्खल गतिविधि बढेको छ; आपराधिक, हिंसात्मक, चोरीचकारी, लुटपाटका घटनाहरू दोहोरिरहेका छन् । चोरी चकारी गर्न नहुने, घुस खान नहुने, अनियमितता गर्न नहुने, ढिलासुस्ती गर्न नहुने, घरपरिवार, समाजदेखि देशप्रतिको कर्तव्यबोध गराउने शिक्षा दिइनुपर्छ । यस्ता विषयहरू कथा, कविता, जीवनी, वादविवाद, चिट्ठी आदि विधामा समावेश गराउने काम गर्नुपर्छ ।
नेपाली पाठ्यपुस्तकमा देशविरोधी र देश विखण्डन गर्ने भ्रष्टमतिविरुद्धको भावना जगाउने शिक्षा दिइनुपर्छ । देश र जनताप्रति आस्था जगाउन, स्वदेशमै रहेर देश र जनताको सेवा गर्न प्रेरित गर्ने पाठहरू हुनु आवश्यक छ । कुनै विदेशी शक्ति राष्ट्रले थिचोमिचो गरेमा, आक्रमण, हस्तक्षेप गरेमा त्यसविरुद्ध लड्ने आँटिला, साहसिला नागरिक तयार गर्न अभिप्रेरित गर्नुपर्छ । साउन २४ गते प्रकाशित ‘राजधानी’ दैनिकमा डा. देवीप्रसाद आचार्यले ‘देशप्रेम जगाउन नागरिक शिक्षा’ शीर्षकको लेखमार्फत देशलाई सम्पन्न बनाएर स्वदेशमै काम गर्न र आफ्नो श्रम र सीप आफ्नै देशमा खन्याउन जोड दिएका छन् ।
देशमा भएको जनशक्ति देशमै उपयोग गर्नेतर्फ सरकार लाग्नुपर्छ । विदेशमा सम्पत्ति राख्न नपाउने, अवैध सम्पत्ति वैध बनाउन नपाउने या सरकारीकरण गर्नुपर्ने राजनीतिक बन्दोबस्त तयार गर्नुपर्छ । स्वाधीन र सार्वभौम देश जोगाउनुपर्छ भन्ने भावना सत्तासीन दलका नेता, मन्त्री र जनतामा चेत हुनुपर्छ । भारतले हजारौँ बिघा नेपाली भूमि मिचे पनि, नेपाली भूमिमा भारतीय सेना राखे पनि सरकार किन मौन हुन्छ ? सत्तासीन दलका नेताहरूमा खोइ देशभक्तिको भावना ? सरकारले नेपाली भूमि जोगाउनुपर्दैन ? अरुले गरिरहेको हस्तक्षेप रोक्नुपर्दैन ? मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ, देश जोगाउनेतर्फ सत्तासीन दलका नेताहरूको ध्यान गएकै छैन । सत्तासीन दलका नेता र मन्त्रीहरूको यही कमजोरीको फाइदा साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतले लिइरहेका छन् ।
भारत र अमेरिका एकपछि अर्काे नेपाल र नेपाली जनतालाई दूरगामी असर पार्ने सन्धि सम्झौता गर्ने काममा लागिरहेका छन्† सत्तासीन दलका नेताहरू उनीहरूको पछि पछि लाग्दै छन् । दूरगामी असर पर्नेबारे ध्यान नपु¥याउँदा सरकार पराधीन बन्दै छ । यसकारण, हरेक नागरिकमा देश प्रेमको भावना आवश्यक छ । देश र जनताको हितमा लाग्नु नै आफ्नो कर्तव्य हो भन्ने भावना जगाउनुपर्छ । आज व्यापारी, व्यवसायी, विद्यार्थी, युवाहरू किन बिदेसिरहेका छन् ? उनीहरू विदेशमै बस्ने चाहना किन व्यक्त गर्छन् ? सरकारले उद्योग र व्यवसाय गर्ने वातावरण बनाउन नसकेर, पूर्वाधार तयार गर्न नसकेर, तयार भएको जनशक्तिलाई स्वदेशमै उपयोग गर्ने वातावरण तयार गर्न नसकेर के त्यो समस्या दोहोरिरहेको होइन ? अतः सभ्य, सुसंस्कृत, देशभक्त, कर्तव्यनिष्ठ र कर्मशील नागरिक तयार गर्न सबैजना जुट्नुपर्छ र देशको मुहार फेर्न सरकार, दल र नागरिक समाज जुट्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *