भर्खरै :

शैक्षिक क्षेत्रको विकासले मात्र समृद्ध समाज निर्माण हुने

शैक्षिक क्षेत्रको विकासले मात्र समृद्ध समाज निर्माण हुने

भक्तपुर, २६ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घको सातौँ भक्तपुर नगर सम्मेलनको दोस्रो दिन बन्दसत्रमा नेमकिपाका सचिव प्रेम सुवालले दुई सय वर्षअगाडि रूसका कतिपय परिवारले आफ्ना १५ वर्षका छोराछोरीलाई आठ ओटा विदेशी भाषामा पोख्त बनाएको र गणित, इतिहास, साहित्य, चित्रकारिता, सङ्गीत, तरबारबाजी, घोडचढी, नृत्यसमेत सिकाएको चर्चा गर्दै नेपाल क्रान्तकारी महिला सङ्घमा सङ्गठित महिलाहरूले पनि नयाँ पुस्तालाई त्यसरी नै तयार गर्न लागिपर्नु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “रूसका तत्कालीन राजतन्त्र र भूदास प्रथाको विरोधमा सङ्घर्ष गर्दा साइबेरियामा सजाय दिइएकाहरूको लागि तिनका क्रान्तिकारी परिवारहरूले चिट्ठीपत्र लेख्ने तथा स्थानीय जनताको लागि स्वास्थ्य केन्द्र र पाठशाला सञ्चालन गरेर सेवा गरेका थिए ।”
जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गराई भएको आन्दोलन मात्र उपलब्धिमूलक हुने स्पष्ट पार्दै पार्टी सचिव सुवालले विदेशीको आडभरोसामा आन्दोलनको नाममा जनतालाई जालझेल गर्ने पार्टीहरू सरकारमा पटक पटक गए पनि देश र जनताको हित हुनेछैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “२००७ साल, २०४६ साल र २०५१ देखि २०६२/६३ सम्मको आन्दोलन नेपालीको भरमा मात्र नभएको अहिले खुलिरहेको छ । प्रतिक्रियावादीहरूद्वारा नेमकिपाविरूद्ध भारत प्रवास र नेपालमा षड्यन्त्र र जालझेल भइरहेको पनि अहिले खुलिरहेको छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका सबै सदस्य र शुभेच्छुकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार हुनुपर्नेमा सचिव सुवालले बताउनुभयो ।
प्रशिक्षणमा भनपाका प्रमुख सुनिल प्रजापतिले पार्टी नियमहरू इमानदारीताका साथ मान्नुपर्ने, हल्लाको पछाडि लाग्न नहुनेतर्फ सचेत गराउनुभयो ।
प्रमुख प्रजापतिले महिलाहरू पनि राजनैतिकरूपमा सक्षम हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यकर्ता बन्न सजिलो नहुने धारणा राख्दै उहाँले हामीले गरेका हरेक राम्रा–नराम्रा कामको आलोचना भयो भन्दैमा हतोत्साही हुन नहुने बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “पार्टी राम्रो बनाउन सङ्गठन महत्वपूर्ण हुन्छ । हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र देशको हितको लागि कार्य गर्नुपर्दछ । समाजवादी व्यवस्था भनेकै कामदार वर्गको लागि ‘स्वर्ग’ हो । नेमकिपा समाजवादी व्यवस्था स्थापना उद्देश्यका साथ सङ्घर्षरत छ ।”
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले फासीवादबारे प्रशिक्षण दिनुभएको थियो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले विश्वका क्रान्तिकारी महिलाहरूको जीनव सङ्घर्षबारे सिक्नुपर्ने आवश्यकता औँल्याउँदै क्रान्तिकारी महिला न्गुयन थि डिन्हको सङ्घर्ष र उहाँले गर्नुभएको योगदानबारे जानकारी गराउनुभयो ।
बन्दसत्रले रामेश्वरी कोजुको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन ग¥यो ।
कार्यक्रममा नेमकिपा नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले कार्यकताहरू अनुशासित र इमानदार हुनुपर्नेमा जोड दिँदै नवगठित नगर समितिलाई सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।
बन्दसत्रमा प्रत्येक वडाबाट प्रतिनिधिहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सहसंयोजक रत्ना चवाल र मन्जुमैया लाखाजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *