भर्खरै :

विशेषज्ञता हासिल गर्ने सोचका साथ अध्ययन गर्नुपर्ने

विशेषज्ञता हासिल गर्ने सोचका साथ अध्ययन गर्नुपर्ने

भक्तपुर, २६ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटरको १९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार पुरस्कार तथा प्रमाणपत्र वितरण भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले कमजोर र दुःखमा परेकालाई सहयोग गर्नु मानवीय गुण भएकोले यसतर्फ विद्यार्थीहरूले मनन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “विद्यार्थीहरूमा सहयोगी भावना हुनुको साथै समूहमा बसेर काम गर्ने क्षमताको विकास गर्नुपर्छ । सतहीरूपमा होइन विशेषज्ञता हासिल गर्ने सोचका साथ अध्ययनमा जोड दिनुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सफल व्यक्तित्वको लागि राम्रो सुनाइ, सिकाइप्रति अभिरूचि हुनुपर्ने धारणा राख्दै आफूले हासिल गरेको ज्ञान, सीप र क्षमता व्यवहारमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीले सिकेको ज्ञान र सीप आफ्नै जन्मथलोमा प्रयोग गरेर देशको सेवा गर्न सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको इतिहास, पहिचान र सभ्यता जोगाउने उद्देश्यले भनपाले स्थानीय पाठ्यक्रम तयार गरी विद्यालय पठनपाठन गराइरहेको बताउनुभयो ।
विद्यार्थीहरूको उच्च शिक्षालाई निरन्तरता दिन भक्तपुर नगरपालिकाले छात्रवृत्ति तथा शैक्षिक ऋण उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले ख्वप अस्पताल सञ्चालन गरी जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ भन्नुभयो ।
निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रशिक्षकद्वय कृष्णप्रसाद त्वी त्वी, सदीक्षा कोजू तथा प्रशिक्षार्थीद्वय विराट मानन्धर तथा अस्मिता राणामगर, प्रशिक्षक प्रविना बनमालालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पौवा चित्रकार सूर्यबहादुर चित्रकारलाई सम्मान तथा तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *