अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हरेक देशको स्वाधीनता तथा प्रजातान्त्रिक आन्दोलन या सङ्घर्षमा युवाहरूको अहम् भूमिका रहेको कुरा निर्विवाद छ । युवाहरू जाँगरिला र आँटिला हुन्छन् । उनीहरू अन्धविश्वासविरोधी र समाज परिवर्तनका पक्षपाती हुन्छन् । उनीहरू सिक्न, आफ्नो सीप, कला, अनुभव साट्न र काम गर्न सक्रिय हुन्छन् । सानादेखि ठुलठुला या ग¥हौँ काम गर्न, बाटोघाटो, ढल, भवन बनाउन, सामान पन्छाउन या विकासको काम गर्न युवाहरू नै अगाडि रहन्छन् । त्यसरी नै पार्टीको काममा पनि युवाहरूको अहम् भूमिका हुन्छ । उनीहरू जहाँसुकै, जहिले पनि पार्टी सङ्गठनको काममा जान तयार हुन्छन् । जनतामाझ भिजेर जनतालाई सुसूचित पार्ने काममा युवाहरूको महत्वपूर्ण देन हुन्छ । त्यसैले चिनियाँ नेता माओ त्सेतुङले भन्नुभएको थियो, “संसार तिमीहरूको हो, हाम्रो पनि हो तर अन्तिम विश्लेषण तिमीहरूकै हो । शक्ति र चेतनापूर्ण तिमी युवाहरू बिहान आठ–नौ बजेको सूर्यझैँ जीवनको फक्रँदो बेलामा छौ । हाम्रो आशा तिमीहरूमै रहेको छ ।”
देशलाई बलियो र समृद्ध बनाउन मात्र होइन शत्रुविरूद्ध लड्न या विदेशी हस्तक्षेप, आक्रमण र दबाबको विरोधमा पनि युवाहरू नै अघि सरेका हुन्छन् । भारतले नेपाली भूमि धेरै ठाउँमा मिचेको छ; मिच्ने प्रयास गर्दै छ । भारतीय सेना नेपालको कालापानीमा तैनाथ छ । भारतीय पक्षबाट एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाइएको छ । यस्ता देशघाती र जनविरोधी कार्यको विरोधमा सशक्त आवाज उठाउन, सङ्गठित भएर अघि बढ्न र बढाउन युवा जनशक्तिको ठुलो आवश्यकता हुन्छ । समाज परिवर्तन गर्न, परिवर्तनको निम्ति पूर्वाधार तयार गर्न, गाउँ ठाउँका जनतालाई सचेत पार्न युवाहरू अघि सर्नुपर्छ । समाजवादी व्यवस्था ल्याउनमात्र होइन स्थापित समाजवाद टिकाउन पनि युवाहरूको महत्वपूर्ण देन हुन्छ ।
नेपाली समाज अझै अन्धविश्वास र कुरीतिमा अडेको छ । अन्धविश्वासले समाजलाई पछि पार्छ; अन्धविश्वासी मानिसले शत्रु चिन्दैन । उनीहरू आफूले पाएको दुःख कर्मको फल हो भनी शोषणको कारण बुझ्दैनन् । अन्धविश्वासीहरू समाज बदल्न चाहँदैनन् । अतः राजनीतिक र वैचारिकरूपले सचेत युवाहरू अन्धविश्वासविरोधी हुन्छन्; समाज परिवर्तन गर्न अगाडि बढ्छन् । समाजवादी व्यवस्था स्थापना गर्न किसान, मजदुर, विद्यार्थी, महिला, शिक्षक, विद्यार्थी, कर्मचारी, व्यापारीझैँ युवाहरूको पनि सहयोग चाहिन्छ । उनीहरू समाज परिवर्तनका पक्षपाती हुन्छन् । युवाहरू सचेत, सङ्गठित र आन्दोलित भएको ठाउँमा छिट्टै परिवर्तन भएको पाइन्छ । उनीहरू साम्राज्यवादी, प्रतिक्रियावादीहरूको थिचोमिचोको विरोध गर्न पछि पर्दैनन् । उनीहरू जनताका दुःखकष्ट बुझ्छन् र दुःख कष्ट बुझेर अघि बढ्न सक्छन् । घामपानी खपेर, हुरी बतास सहेर, जाडो गर्मी नभनी, पहाड, डाँडाकाँडा, खोलानाला, पहाड, तराई नभनी अघि बढ्न सक्छन्; जीवनमा आइपर्ने समस्याको सामना गर्दै अघि बढ्न सक्छन् । अतः हाम्रो जस्तो पुँजीवादी व्यवस्था फाली समाजवादी व्यवस्था ल्याउन सङ्गठित युवा जनशक्तिको खाँचो छ । त्यस्तो जनशक्ति तयार गर्न देशभक्त र परिवर्तनकारी दलहरू जुट्नुपर्छ ।
युवाहरू सचेत, अनुशासित, देशभक्त र देश र जनताप्रति समर्पित हुनुपर्छ । युवाहरू इमानदार, स्वस्थ, फरासिला, फूर्तिला, जाँगरिला हुनुपर्छ । युवाहरू परिवर्तनकारी या क्रान्तिकारी हुनुपर्छ । युवाहरू देशका बहुमत जनता किसान र मजदुरको हितमा लड्ने सङ्घर्षशील हुनुपर्छ । किसान र मजदुरसँग एकाकार गर्ने, समुदायसित भिज्ने, मिल्ने, उनीहरूसँग मिलेर, भिजेर अघि बढ्ने भावना हुनुपर्छ । जनसङ्घर्षमा सामेल नहुने, परिवर्तनको बाटोमा नलाग्ने, जनतासँग नभिज्ने युवाहरू क्रान्तिकारी हुँदैनन् । देश र जनताको हितमा नलाग्ने मनोगतवादी, अहङ्कारी, व्यक्तिवादी, अवसरवादी युवाहरू समाजविरोधी, जनविरोधी या क्रान्तिविरोधी हुन्छन् । सङ्कटमा साथ नदिने, आपत्विपत्मा सहयोग नगर्ने युवाहरू देश र जनताका पक्षपाती हुँदैनन् । उनीहरू स्वार्थी हुन्छन् । उनीहरू दूरदर्शी हुँदैनन् । उनीहरू सङ्घर्षमा साथ दिँदैनन् । सारमा त्यस्ता युवाहरू समाजविरोधी नै हुन्छन् ।
युवाहरू साम्राज्यवादविरोधी र विस्तारवादविरोधी हुनुपर्छ । युवाहरू देशभक्त हुनुपर्छ । युवाहरू निःस्वार्थी हुनुपर्छ । युवाहरू सङ्घर्षशील र आन्दोलित हुनुपर्छ । कामको सिलसिलामा युवाहरूमा अनेक बाधा अड्चन आउनसक्छ । गर्न लागेको काम अधुरो, अपुरोमात्र होइन असफल हुनसक्छ । आन्दोलन र सङ्घर्षको क्रममा बाधा अड्चन आउन सक्छ । स्वतन्त्रता र न्यायप्रेमी आन्दोलनमा भिज्दा पक्राउ पर्नसक्छ† जेलमा थुन्न सक्छ, शारीरिक र मानसिक यातना दिन सकिन्छ । प्रतिक्रियावादी, जनविरोधीहरूले घरमा झगडा गराउन, चिढाउन या निरास बनाउन अनेक दबाब दिन सक्छन् । आफ्नो बाटो छोडाउन अनेक षड्यन्त्र गर्न सकिन्छ । यसरी जीवनको बाटोमा आइपर्ने अनेक सङ्कट, समस्या र पीडाविरूद्ध लड्ने जोश जाँगर युवाहरूमा चाहिन्छ । शत्रुसामु झुक्नु हुँदैन; काम पूरा भएन भनेर निरास हुनुहुँदैन । बरू आफ्नो उद्देश्य फत्ते नभएसम्म हारेको सिपाही झन् राम्रोसित लड्छ भनेझैँ युवाहरू अघि बढ्नुपर्छ ।
Leave a Reply