भर्खरै :

भनपा वडा नं. १ स्थित भाजुपोखरी परिसरमा छिकोङ प्रदर्शनी

भनपा वडा नं. १ स्थित भाजुपोखरी परिसरमा छिकोङ प्रदर्शनी

भक्तपुर, २८ साउन । भक्तपुर नगरपालिकाबाट नगरको १० वटै वडाहरूमा सञ्चालित छिकोङ खेल प्रदर्शन कार्यक्रम सोमबार भक्तपुर नपा वडा नं. १ स्थित भाजुपोखरी परिसरमा सम्पन्न भयो ।
विभिन्न वडामा प्रशिक्षणरत ४५० जना सहभागी भएको बृहत् छिकोङ खेल प्रदर्शनीमा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले छिकोङ श्वासप्रश्वाससँग सम्बन्धित शारीरिक व्यायाम भएको बताउँदै शारीरिक अभ्यास नियमित गर्न सके रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने बताउनुभयो ।
उहाँले नियमित शारीरिक अभ्यासले शरीरलाई सन्तुलित बनाउन मद्दत पु¥याउनुका साथै सन्तुलित खानपान र शरीरलाई आराम दिन सके स्वस्थ जीवनयापन हुने बताउनुभयो ।
पत्रु खाना (जङ्क फुड) ले पनि शरीरमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने हुँदा यस्ता खानेकुराको सेवन घटाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले सन्तुलित मात्रामा भोजन गर्न सके शरीर स्वस्थ हुने बताउनुभयो ।
समाजवादी व्यवस्थामा जनताका आवश्यकता र समस्याहरू सरकारले सम्बोधन हुने उल्लेख गर्दै उहाँले धूमपान र मद्यपानबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई मानव जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्ने उद्देश्यले विद्यालयस्तरदेखि विद्यार्थीहरूलाई खेलकुद प्रशिक्षण, विभिन्न खेलहरूको प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
नगरवासीहरूलाई स्वस्थ बनाउन नगरका विभिन्न ठाउँमा व्यायामशाला स्थापना गरेको बताउँदै उहाँले छिकोङ व्यायाम शरीरको निम्ति महत्वपूर्ण भएकोले प्रशिक्षक नियुक्ति गरी सबै वडामा यसका प्रशिक्षण सञ्चालन भएको स्मरण गर्नुभयो ।
शारीरिक व्यायाम मनोरञ्जनको हिसाबले नभई नागरिकहरूलाई स्वस्थ राख्ने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पार्दै उहाँले नागरिकहरूलाई स्वस्थ बनाउने भक्तपुर नपाको उद्देश्य भएको बताउनुभयो ।
नसर्ने रोगको जोखिम बढिरहेको हुँदा नागरिकहरूलाई यसबारे सचेतना जगाउने काम पनि नपाले गर्दै आएको चर्चा गर्दै उहाँले नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले निःस्वार्थरूपमा देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले छिकोङ खेल प्रशिक्षणले नागरिकहरूको स्वास्थ्यमा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने भएकोले यो खेल निकै महत्वपूर्ण भएको बताउनुभयो । उक्त कार्यक्रममा भनपा वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *