भर्खरै :

चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ता कब्जा – ४

चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ता कब्जा – ४

फासीवादले हिंसा प्रयोग गरी सबै नष्ट गरिदिन्छ । त्यसले विश्वविद्यालयहरूमा हमला गर्छ, बन्द गर्छ र दमनमा उत्रन्छ । त्यसले बुद्धिजीवीहरूलाई हमला गर्छ, दमन र हत्या गर्छ । त्यसले राजनीतिक पार्टी र मजदुर सङ्गठनहरूलाई दबाउँछ । त्यसले सबै जनवर्गीय सङ्गठन र सांस्कृतिक संस्थाहरूमा हमला गर्छ । फासीवादजस्तो हिंस्रक, प्रतिक्रियावादी र अवैधानिक अरू केही छैन ।”
हामीले भनेकै कुराहरू दुर्भाग्यवश अहिले चिलीमा भइरहेका छन् । (संरा अमेरिकी) साम्राज्यवादले फासीवादी सत्ता कब्जामा आफ्नो संलग्नता र जिम्मेवारी अस्वीकार गर्दै छ । साम्राज्यवाद जनतामाथि दमनमा निर्देशित एउटा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक प्रणाली हो । ल्याटिन अमेरिकामा साम्राज्यवादले जनतालाई शक्तिशाली बन्नबाट रोक्न खोज्दै छ । चिलीमा पपुलर युनिटी पार्टीको विजयपूर्व नै यसको लागि षड्यन्त्रको तानाबाना बुनिँदै थियो । पपुलर युनिटी पार्टीलाई दबाउन पुँजीवादी पार्टीहरूलाई करोडौँ डलर बाँडिँदै थियो । घुसखोरी, ठुलो धनराशीको प्रयोग, फूट, आतङ्क र विश्वासघातमार्फत ती पुँजीवादी दलहरूले थुप्रै निर्वाचनहरू पनि जिते ।
साम्राज्यवादले चिलीका जनतालाई भ्रष्ट बनाउन खोज्यो । एकाधिकारवादले खानीका मजदुरहरूलाई भ्रष्ट बनाउन खोज्यो । तामाको चर्को मूल्य र एकाधिकारवादले कुम्ल्याउने उच्च नाफाका कारण चिलीका अरू मजदुरहरूको तुलनामा खानी मजदुरहरूको ज्याला ज्यादै धेरै थियो ।
चिलीलाई आर्थिक क्षेत्रमा कहीँकतैबाट ऋण लिन रोक लगाए पनि पेन्टागन (संरा अमेरिकी रक्षा मन्त्रालय) ले चिलीको सेनासँग सुमधुर सम्बन्ध कायम राखेको थियो । चिलीको सेनाका धेरैजसो अधिकारीहरू साम्राज्यवादी प्रतिष्ठानबाट दीक्षित थिए । चिली सरकारलाई सबै ऋण सहयोगमा रोक लगाइयो तर सत्ता कब्जाको केही साताअघि निक्सनले चिली सेनालाई १ करोड डलर ऋण स्वीकृत गरे ।
सरकार र सेनाबिच विभाजन ल्याउन साम्राज्यवादले निर्लज्ज खेल खेल्यो । सरकारमाथि निषेध गर्यो, सेनालाई सहायता गर्यो ।
साम्राज्यवादले ‘अमेरिकी राज्यहरूको सङ्गठन’, ‘अन्तर–अमेरिकी रक्षा बोर्ड’ र ‘संयुक्त जलसैनिक अभ्यास सङ्गठन’ जस्ता सङ्गठनहरू स्थापना गर्यो । साम्राज्यवादले यो गोलाद्र्धमा षड्यन्त्रहरू बुन्न र प्रतिक्रान्तिकारी गतिविधि गर्न यी संस्थाहरू स्थापना गरेको थियो ।
पपुलर युनिटी सरकार चिलीको जलसेनालाई संरा अमेरिकी सेनासँग संयुक्त सैनिक अभ्यासमा सहभागी बन्नबाट रोक्न वा निषेध गर्न असफल भयो ।
सत्ता कब्जाको दिन सेप्टेम्बर ११ मा संरा अमेरिकी पानीजहाजहरू भाल्पारासोको ठीक बाहिरतिर तैनाथ थिए । चिली र संरा अमेरिकी सेना त्यो दिन युद्धका लागि तम्तयार थिए । दुवै सेना समुद्री बिहारमा निस्के र केही घण्टापछि सत्ता कब्जाको नेतृत्व गर्न फेरि भाल्पारासो फर्के ।
वास्तवमा सत्ता कब्जा धेरै दिनको तयारीपश्चात् भएको थियो । यी घटनाको इतिहास लेखिंदा (पूर्वराष्ट्रपति) फ्रेई र क्रिश्चियन डेमोक्रेटिक पार्टीभित्र उसको दक्षिणपन्थी गुटको जिम्मेवारीबारे कदापि उपेक्षा गर्न मिल्दैन । त्यस्तै प्रतिक्रियावादी सञ्चारमाध्यम, नेसनल पार्टी, न्यायपालिका र व्यवस्थापिकाले यो घटना पछाडि खेलेको भूमिकाको लेखाजोखा गरिनुपर्छ किनभने चिलीका जनताले उनीहरूको हिसाबकिताब गर्नैपर्छ ।
हामी क्रान्तिकारीहरूले यी घटनाक्रमबाट आफ्नै निचोड निकाल्नुपर्छ । साम्राज्यवाद अगाडि बढ्दै छ र ल्याटिन अमेरिकामा रणनीतिक आक्रमण चलाउँदै छ ः पहिले बोलिभियामा सत्ता कब्जा, त्यसपछि उरुग्वे र अहिले चिलीमा सत्ता कब्जा । दस वर्षअघि पुँजीपतिवर्ग र साम्राज्यवादले आफूलाई व्यवस्थापिका र पुँजीवादी संविधानका माध्यमबाट जोगाउँथे ।
उरूग्वे र चिलीलाई वैधानिकता र संवैधानिकताको उदाहरणको रूपमा लिइन्थ्यो । तर, आज पुँजीपतिवर्ग र साम्राज्यवाद स्वयम्ले उरुग्वे र चिलीमा संविधान र पुँजीवादी प्रजातन्त्रको धज्जी उडाएका छन् । आज ब्राजिलसहित यी देशहरूको एउटा प्रतिक्रियावादी समूह बनेको छ जो दक्षिण अमेरिकामा साम्राज्यवादको सेवा गर्न उद्यत छ ।
चिलीले हामीलाई एउटा पाठ सिकाएको छ । जनताले मात्र क्रान्ति गर्न असम्भव छ, हतियार पनि आवश्यक छ । हतियारले मात्र क्रान्ति हुन असम्भव छ, जनता पनि आवश्यक छ ।
हामीलाई लाग्छ, यसले हाम्रा जनतालाई यो गोलाद्र्धको समग्र परिस्थितिबारे राम्रो दृष्टिकोण दिनेछ ।
केही सञ्चारमाध्यमहरूले उत्साहपूर्वक चिलीको सैनिक विद्रोहको समर्थन गरे । उनीहरूले क्युवासँग कूटनीतिक सम्बन्ध गाँस्ने बढ्दो क्रम यो घटनापछि तोडिनेसमेत दाबी गरे ।
चिलीको सन्दर्भमा उसले हामीसँग सम्बन्ध तोडेकोमा हामी दुःखी छैनौँ, बरू चिलीका जनताले सामना गर्नुपरेको प्रहार र उनीहरूले लामो समयसम्म झेल्नुपर्ने रक्तपातपूर्ण सङ्घर्षका कारण हामी दुःखी छौँ जहाँसम्म चिलीका जनतासँगको हाम्रो सम्बन्धको कुरा छ, हामीलाई चिलीका जनता फासीवादविरूद्ध लड्ने कुरामा कति पनि शङ्का छैन । हामीले चिलीका जनतालाई बुझेका छौँ । हामी त्यहाँका मजदुर, किसान र विद्यार्थीबिच पुगेका छौँ र हामीले चिलीका जनताको भावना बुझेका छौँ । उनीहरूको उत्साह, देशभक्ति र क्रान्तिकारी ऊर्जा तथा धारणा महसुस गरेका छौँ । हामीले मागालानिसदेखि उत्तरका खानीका मजदुर र किसानलाई भुलेका छैनौँ । त्यहाँका कोइलाखानी मजदुर, औद्योगिक मजदुर, चिलीका युवा, योद्धा र क्रान्तिकारीहरूलाई भुलेका छैनौँ ।
हामीलाई पूर्ण विश्वास छ, उनीहरूलाई फासीवादसँग कसरी लड्नुपर्छ भन्ने विषयमा पूरा ज्ञान छ । हामीलाई पूर्ण विश्वास छ, सेप्टेम्बर ११ मा एउटा सङ्घर्षको आरम्भ हुनेछ जुन जनताको विजयमा पुगेर मात्र टुङ्गिनेछ । यो तत्काल आइहाल्ने विजय हुनेछैन ।
चिलीको अवस्थामा कसैले जादुको अपेक्षा गर्न सक्दैन । जनतामाथि चर्को बज्रपात भएको छ, पार्टी र सङ्गठनहरूले पनि फासीवादी हमलाको चोट सन्चो बनाउनुपर्नेछ । निःसन्देह चिलीका क्रान्तिकारीहरू अथकरूपमा फासीवादविरूद्ध लड्न आफै सङ्गठित बन्नेछन् ।
क्रान्तिकारी सशस्त्र सङ्घर्षबाहेक अर्को कुनै विकल्प नभएको कुरा चिलीका क्रान्तिकारीहरूले सिकिसकेका छन् ।
उनीहरूले चुनावको शान्तिपूर्ण बाटो प्रयोग गरे । तर, साम्राज्यवादी र प्रतिक्रियावादीहरूले संविधान, कानुन, व्यवस्थापिका आदि सबैमाथि हमला गरेर खेलको नियम नै परिवर्तन गरिदिए । त्यो अवस्थाको आज कुनै समाधान छैन । उनीहरूले चिलीमाथि फासीवादी संस्थाहरूमार्फत बलजफ्ती शासनमात्र गरिरहेका छन् ।
फासीवादीहरू अहिले आर्थिक पुनः निर्माणको कुरा गरिरहेका छन् । तर, त्यो ज्यादै हास्यास्पद कुराकानी हो । कर्णेल–जर्णेलका धनी श्रीमतीहरूबाट केही गर–गहना चन्दा मागेर चिलीको अर्थतन्त्र पुनः निर्माण गर्ने कुरा गरिरहेका छन्, उनीहरू । के यो दन्त्यकथामा तपार्इँ विश्वास गर्नुहुन्छ ? हामीलाई थाहा छ, फासीवादीहरू चिलीमा मजदुरहरूका श्रम र रगत मुछेर पुँजीवादी अर्थतन्त्र विकास गर्न चाहन्छन् । हामीलाई राम्ररी थाहा छ, उनीहरूले चिलीको अर्थतन्त्र महिलाहरूका शृङ्गारिक गहनाबाट होइन, चिलीका मजदुरहरूका रगत पसिनाबाट पुनः निर्माण गर्नेछन् । साम्राज्यवादले विश्व बैङ्क र अन्य संस्थामार्फत तत्काल ऋण दिने पक्का छ र त्यसपछि चिलीलाई आफ्नो साम्राज्यवादी दाँतले मज्जाले चपाउनेछ ।
राष्ट्रपति एयेन्डेले आफ्ना जनतालाई आफूले दिनसक्ने सर्वोच्च र अत्यन्त वीरतापूर्ण दृष्टान्त दिएका छन् । चिलीमा हालै भएका घटना, राष्ट्रपति एयेन्डेले प्रस्तुत गरेका उदाहरण र उनीसँगै लडेका योद्धाहरूका बलिदानले सबै इमानदार र विचारवान् चिलियालीको रगत आत्मस्वाभिमानले उम्लनेछ ।
फासीवादीहरू सेप्टेम्बर ११ देखि चिलीमा शान्ति छाएको बताउँछन् । तर, क्युवामा मार्च १० (फल्गेन्सिओ बाटिस्टा नेतृत्वको सत्ता कब्जा भएको दिन) जस्तै हो सेप्टेम्बर ११ । क्युवामा जुलाई २६ (सशस्त्र सङ्घर्ष सुरु भएको दिन) र जनवरी १ (क्रान्ति भएको दिन) जस्तै अब चिलीमा पनि त्यस्ता दिन आउनेछन् ।
यो खुलामञ्चमा यति धेरै भव्य उपस्थिति देख्दा, चिली र क्युवाको राष्ट्रिय गान सुन्दा, राष्ट्रपति एयेन्डेको सम्झनामा दसौँ लाख जनताले मौन धारण गरेको देख्दा, चिलीका जनताप्रति गहिरो भावना, माया र सम्मान व्यक्त भएको यो क्षणमा हामी सोच्दै छौँ, कुनै दिन चिलीमा पनि यस्तै विशाल जमघट हुनेछ जहाँ शोषकहरूको उपस्थिति हुनेछैन । त्यो चिली जहाँ सेना र जनता एउटै हुनेछन् । त्यो चिली जो क्युवाजस्तै सशस्त्र हुनेछ । त्यो चिली जहाँका जनता हाम्रा जनताजस्तै सङ्गठित हुनेछन् । त्यतिबेलाको चिली हामी जतिकै सुव्यवस्थित हुनेछ र आजका क्युवाली जनतामा जस्तो राजनीतिक चेतनास्तरको विस्तार हुनेछ । त्यहाँ कोही जमिनदार, बिचौलिया, शोषक, फासीवादी वा पुँजीवादी सञ्चारमाध्यम हुनेछैन । जनताको हातमा नभएका कुनै रेडियो स्टेसन वा सञ्चारका अन्य माध्यम हुने छैनन् । पुँजीवादी व्यवस्थापिका नभएको चिली, रियो डि जेनेरिओ सन्धिबाट मुक्त चिली, कुनै संयुक्त सैनिक अभ्यास नगर्ने चिली । चिलीका जनता सफल हुनेमा हामी ढुक्क छौँ । क्रान्तिकारी भावना, नागरिक जिम्मेवारीबोध, उत्साह, मानवीय गुण, अझ त्यसभन्दा माथि हाम्रा न्यायपूर्ण विचार, भविष्यको विचार, जनमुक्तिका विचारका कारण क्युवाली जनता सफल भए जसरी नै चिलीका जनता पनि सफल हुनेछन् । विश्वभर प्रगतिशील शक्ति बढिरहेको र विस्तारित भइरहेको अनि साम्राज्यवाद ओरालो झरिरहेकोले त्यो सफलता अवश्यम्भावी छ ।
हामीले यो गोलाद्र्धमा साम्राज्यवाद कसरी ओरालो लाग्यो, देखेका छौँ । हामीले त्यसलाई खेद्न थालेका हौँ । हामीले संसारको यो भागमा साम्राज्यवादको अन्त्य भएको पक्कै देख्नेछौँ ।
हाम्रा जनता चिलीका जनताको पक्षमा छन् र उनीहरूलाई सबै क्षेत्रमा हामीले दिन सक्ने सबै सहायता प्रदान गर्न हामी तयार छौँ । हामीले चिलीका जनतालाई केही हिस्सा चिनी दिइसकेका छौँ र चिलीको क्रान्तिलाई सहयोग गर्न आवश्यक परे हामी हाम्रो हृदय दिन पनि तयार छौँ । हामीले राष्ट्रपति एयेन्डेलाई विश्वास ग¥यौँ, उनीप्रति निष्ठा राख्यौँ । हाम्रा जनताले पनि त्यही गरे । हाम्रा जनतालाई आफ्नो अन्तिम साससम्म आफ्नो गौरव जोगाउने उनको इच्छाशक्ति, उत्साह र साहसप्रति शतप्रतिशत विश्वास थियो । राष्ट्रपति एयेन्डेले चिली र क्युवाका जनताको शिर झुक्न दिएनन् । चिलीका जनताले पनि राष्ट्रपति एयेन्डेको शिर झुक्न दिने छैनन् । उनलाई असफल पार्ने छैनन् । बरू मुक्ति सङ्घर्षलाई अझ अगाडि बढाउन बलियो एकताको लागि उनले गरेको आह्वानलाई आत्मसात् गर्दै जानेछन् ।
क्युवाली जनताले पनि आफ्ना इमानदार मित्र, सङ्घर्षका सहयोद्धा साल्भाडोर एयेन्डेलाई असफल बनाउने छैनन् । चिलीका जनताले फासीवादलाई परास्त गर्नेछन् ।

स्रोत : चिलीमा फासीवादको प्रतिरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *