रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
आमाबाबु, शिक्षक, नेता आदिले बोलेको कुराले सुन्नेहरूलाई सही बाटोमा डो¥याओस्, नयाँ ज्ञान पाओस्, अनुकरण गरोस् भन्ने मान्यता छ । आमा–बाबु आपसमा आमाचकारी झगडा गरे केटाकेटीले त्यही दोहो¥याउँछन्, शिक्षकले गलत कुरा पढाए विद्यार्थीको भविष्य अन्धकारतिर धकेलिन्छ । त्यस्तै नेताले ढाँट र वाहियात गफले प्रशिक्षित गरे कार्यकर्ता त्यसकै सिको गरेर हुल्याहा बन्छ ।
हाम्रो देशका एकाधलाई छोडेर थुप्रै नेताहरूको अभिव्यक्तिमा गम्भीरता देखिँदैन । मुखमा जे आयो त्यही बोलिदिन्छ र आफैमा बाझिने भाषण गर्छन् ।
केही दिनअघि देशका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको एक समितिको बैठकमा यस्तै वाहियात कुरा बोले । उनले भने, “यो धर्तीको अदालतमा मात्र होइन, चित्रगुप्तको अगाडि पनि जवाफ दिन सक्छु ।”
यसअघि प्रतिनिधिसभाको बैठकमा ‘दुनियाँ’ ले सुन्ने गरी भ्रष्टाचार गर्दिनँ, सहन्न, गर्न दिन्न भनेका थिए । अहिले भ्रष्टाचार नगर्ने कुरा धर्तीको अदालतमा मात्र होइन, चित्रगुप्तको अगाडि पनि जवाफ दिन सक्छु भनेका छन् ।
तर, यी कुराको प्रतिध्वनि नथामिँदै दिनको १८ घण्टा लोडसेडिङ हुँदा उद्योग–कारखानाले उपयोग गरेको विद्युत् बक्यौताको विषयमा अनावश्यक बोलेर भ्रष्टाचारको दुर्गन्ध सर्वत्र फैलिएको छ । यदि विद्युत् प्रयोग नगरेको भए सप्रमाण विरोध गर्थे, मुद्दा हाल्थे । प्रमलाई त्यस विषयमा चासो लिनुपर्ने कारण के हो ? उद्योगीहरूप्रति यतिविघ्न सहृदयको रहस्य के हो ?
उद्योगीहरू धनी छन् । के प्राधिकरणले माग्दैमा दिन्छन् र ? हो, देशका सबैजसो ‘राष्ट्रिय’ पार्टीहरूले धनी उद्योगपति, व्यापारी, कालाबजारी, दलाल पुँजीपति, ठेकेदार, कमिसनखोर, तस्करलगायतसँग राम्रो मुखले, धम्काएर र ‘ब्ल्याकमेल’ गरेर ‘चन्दा’ माग्छन् र पाउँछन् पनि । भोलि चन्दा लिने पार्टी सत्तामा पुग्दा एकलाख चन्दा दिनेले दस लाख फाइदा लिन्छन् । यो खुला रहस्य हो । तर, प्राधिकरणले धनी उद्योगीबाट प्रयोग नगरेको विद्युत्को महसुल दिँदैमा के फाइदा पाउँछन् र दिन्छन् ? कुकुरलाई मासु पैँचो दिएजस्तो बाटोमा फाल्ने पैसा त उद्योगीहरूसँग पनि हुँदैन होला ।
राज्य र विभिन्न सरकारी कोषमा आम्दानी हुने रकम मिनाहा गर्ने, छुट दिने, सहुलियत दिने कार्य सरकारहरूले गर्दै आएका छन् । टेलिफोन, इन्टरनेटलगायतमा अर्बौँ अर्बको बक्यौताका विषय पटकपटक दोहोरिएका छन् । सत्तामा बसेर राज्यलाई गरिब बनाउने काम गर्ने सत्ताधारीहरू के नेपाली होलान् ? हुन सक्छन् ? अनि, सत्ताधारीहरूको स्वार्थअनुकूल निर्णय गर्ने बेन्च र न्यायकर्मीहरू के न्यायपालिकाको लागि योग्य र सक्षम छन् भन्न सकिन्छ ?
भ्रष्टाचारको अवस्था देशमा डरलाग्दो होइन भयावह छ । त्यसैले प्रम ओलीले भ्रष्टाचार नगर्ने कुरा दोहो¥याइतेह¥याइ भन्न बाध्य भएका छन् र धर्तीको अदालतमा जवाफ दिन सक्छु भनी दृढताका साथ भनेका छन् ।
यो कुनै गा¥हो कुरा पनि होइन । न्यायपालिकामा नियुक्ति भएलगत्तै कतिपय न्यायाधीश बल्खुमा ‘दर्शन भेट’ को लागि पुगेको कुरा कसलाई थाहा छैन र ¤ त्यस्ता न्यायाधीशको बेन्चमा जवाफ दिन एमाले नेतालाई कुन ठुलो कुरा हो र ! प्रम ओलीलाई मात्र होइन सत्ताधारी पार्टीका चवन्नी सदस्यलाई पनि चानचुने कुरा हो । हिजो पञ्चायतकालमा र पछि बहुदलीय र गणतन्त्रकालमा पनि सत्ताधारी पार्टीका कार्यकर्ताहरू २४ घण्टामा छुटेर देखाइदिन्छु भनी हुँकार गरेको धेरैले सुने–देखेकै घटना हो । कतिपय भ्रष्टाचारका मुद्दा अदालतले सफाइदिए पनि जनता विश्वस्त हुन नसकेका थुप्रै घटना छन् । त्यसैले धरतीको अदालत न्यायपालिका भइसक्यो भनी कोही ढुक्क हुन सकेका छैनन् ।
जहाँसम्म ‘चित्रगुप्त’ को अगाडि जवाफ दिन सक्छु भनेका छन्, त्यो चाहिँ को हो ? कहाँको हो ? कुन अदालतको हो ? नेपालको हो कि विदेशको हो ?
यदि पौराणिक कथाको यमलोकका चित्रगुप्तलाई भनेको हो भने ओलीले आफूलाई जनैधारी भएको र बठ्याइँमा विद्यावारिधी गरेको स्पष्ट गरेका छन् । कुनै कुनै बेइमान नेवार साहुले नेपालभाषा नबुझ्नेलाई ठग्न ‘थुँम्येको मासु खान्छु’, ‘योमारीको गु खान्छु’ भनेर किरिया खान्छन् भन्ने सुनेको थिएँ । प्रम ओलीले यस्तै दाबी गरेर ‘चित्रगुप्त’ को उल्लेख गरेका छन् ।
हाम्रो पौराणिक कथामा यमलोकमा एउटा चित्रगुप्त भन्ने हुन्छ, त्योसँग प्रत्येक मानिसको धर्म र पापको विवरण लेखिएको पुस्तक वा ढद्दा हुन्छ । कुनै मानिस मरेर यमलोक पुगेपछि चित्रगुप्तले त्यस मृतकको धर्म बढी भए स्वर्ग र पाप बढी भए नर्कमा पठाउँछ । मृतकले कुनै जवाफ दिनु पर्दैन, केही भन्नु पर्दैन ढद्दामा सबै कुरा लेखिएको हुन्छ ।
अब हाम्रा प्रम ओलीले चित्रगुप्तलाई के जवाफ दिने ? कस्तो तर्क, बहस र गफ छाँट्ने, उखान सुनाउने ? चित्रगुप्तको ढद्दामा ओलीले राष्ट्रघाती महाकाली सन्धि, एमसीसीलगायतका विषयमा कति धर्म र पाप गरे भन्ने अङ्कित भइसकेको छ । त्यस्तै, नक्कली भुटानी शरणार्थी, सुन काण्ड, गिरिबन्धु टि स्टेट, बालमन्दिर, गुठी जग्गा, ललिता निवास, छाया कम्प्लेक्स आदिमा प्रम ओलीको पुण्य र पाप पनि लेखिँदै जानेछ । त्यहाँ सच्याउने र प्रायश्चित गर्ने कुनै अवसर प्राप्त हुँदैन । त्यसैले चित्रगुप्तको अगाडि जवाफ दिने भनेको त ‘दुनियाँ’ लाई मूर्ख बनाउने कुरा हो । अर्को शब्दमा म जतिसक्दो भ्रष्टाचार गर्छु, जवाफ दिनपरे मरेपछि चित्रगुप्तलाई दिन्छु भनेको हो । धन्य हो, यो देशका अभागी जनता, यस्ता बठ्याइँका महागुरू पनि प्रधानमन्त्री हुन्छन् !
Leave a Reply