भर्खरै :

जनमतसङ्ग्रहमा विश्वेश्वरको प्रतिक्रिया !

जनमतसङ्ग्रहमा विश्वेश्वरको प्रतिक्रिया !

एक दिन के के चिठी आएको छ भनी चिठी राख्ने ठाउँ हेरेँ । त्यहाँ एउटा निम्तो रहेछ । टाइप पेपरमा पाँचौँ, छैटौँ पेजमा लेखिएकोले अक्षर बल्ल बल्ल बुझिने । वास्तवमा त्यो रहेछ विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो भतिजीको विवाहमा बोलाउनुभएको । अक्षर बल्ल बल्ल बुझेँ । म त्यो विवाहमा गएँ । विश्वेश्वरप्रसाद कोइरालाले चिठीमा लेखिएको आफन्त र माया गर्ने मान्छेहरूलाई विवाहमा सहभागी हुन बोलाएको । म विश्वेश्वरप्रसाद कोइरालाको भतिजीको विवाहको निम्तो आउँ दङ्गदास परेँ । बोलाएको दिन, समय र ठाउँमा पुगेँ । जन्ती आउन बाँकी रहेछ । जन्ती आए । जन्ती पर्सियो । अब खाने बेला भयो । खाने ठाउँमा पुरी, फुरन्दाना, दुई टुक्रा मिठाइ र एकथोक तरकारी, एक थोक अचार थियो । भोज खाइयो । खानेकुरा महँगो थिएन । यस्तो थियो विश्वेश्वरप्रसाद कोइरालाको आत्मीय व्यवहार । त्यस्तै अर्को विवाहको पनि निम्तो आएको छ विश्वेश्वरको मलाई । चिनजान भएपछि नसनाता केही नपर्दा पनि विवाह समारोहमा सहभागी हुन बोलाउने परम्परा रहेछ कोइराला परिवारको । विश्वेश्वरप्रसाद कोइरालाको पारिवारिक समारोहमा सहभागी हुन पाउँदा मेरो हर्षको सीमा रहेन । एउटा विवाहमा प्रधानमन्त्री सूर्यबहादुर थापा पनि आएका थिए । २०३६ सालमा जनमतसङ्ग्रहको घोषणा भयो । म राससबाट प्रतिक्रिया लिन गएँ विश्वेश्वरप्रसादकहाँ । उहाँले जनमतको पक्षमा प्रतिक्रिया दिनुभयो । यी घटना सम्झँदा मेरो विश्वेश्वरप्रतिको श्रद्धा अरू बढेर गयो ।
जनमतको घोषणापछि स्वतन्त्रता अलि बढ्यो
जनमतसङ्ग्रहको घोषणा भएपछि नेताहरूको वक्तव्य र प्रतिक्रियाहरू अखबारमा दिन पाइन्थ्यो । म राससमा काम गर्थेँ । राससले श्री ५ को व्यक्तित्वको बारेमा नेताहरूको प्रतिक्रिया सार्वजनिक गर्न खोज्यो । त्यसै क्रममा म विश्वेश्वरकहाँ प्रतिक्रिया लिन गएँ । विश्वेश्वरले प्रतिक्रिया दिनुभयो । विश्वेश्वरसँग मेरो विश्वासको वातावरण थियो । मैले राजा वीरेन्द्रको व्यक्तित्वबारे प्रश्न गरेँ । उहाँले उत्तर दिनुभयो । त्यसको केही समयपछि नेपाली काङ्ग्रेसले खुलामञ्चमा आमसभाको आयोजना ग¥यो । जसमा विश्वेश्वरको पनि भाषण थियो । म जान अलि ढिला भएछ । पत्रकारको लागि छुट्याएको सबै कुर्सी भरिभराउ भइसकेको रहेछ । तसर्थ, म अलि वरै साइकल लिएर उभिएँ । विश्वेश्वरप्रसादले मलाई ठम्याउनुभएछ । कति तीखा आँखा उहाँको ! अनि उहाँले भन्नुभयो, एक दिन दिउँसो एकजना पत्रकार म बसेको ठाउँ जयबागेश्वरीमा आए र सोधे – “राजा तपाईंलाई कस्तो लाग्छ ?” हो, मैले राजाको व्यक्तित्वबारे सोधेको थिएँ । उहाँले सहर्ष भन्नुभयो, “मैले मेरो घरको सानो झ्यालबाट जम्मै स्थिति देख्छु, राजाले दरबारको ठुलो झ्यालबाट हेर्दा उनी त्यही देख्छन् । मुलुकको स्थिति झ्याल सानो ठुलो भएर फरक पर्ने होइन । उहाँले मलाई त्यसरी सोध्ने पत्रकार अहिले यही हुनुहुन्छ ।” राजाले २०३६ साल वैशाख ०६ गते बहुदल कि सुधारिएको पञ्चायत भन्ने विषयमा जनमतसङ्ग्रह गर्ने घोषणा गरेका थिए । त्यसपछि जेल परेका पार्टीका नेताहरू र स्वनिर्वासितहरूलाई नेपाल आउन र आफ्ना कुरा भन्न स्वतन्त्रता दिएका थिए ।
त्यसरी छ्याङ्ङै भन्न हुन्नथ्यो कि ?
त्यही स्वतन्त्रताको उपभोग गर्दै पार्टीहरूले भाषण गर्न पाउँथे । राजाले दिएको त्यही सीमित स्वतन्त्रताभित्र विश्वेश्वरप्रसादलगायत सबै राजनीतिक पार्टीका नेताहरू आफ्ना कुरा सार्वजनिक मञ्चमा प्रस्ट पार्नुभयो । राससले त्यो भाषणको रिपोर्टिङ ग¥यो । विश्वेश्वर पनि रिसाएनन् । यसरी विश्वेश्वरप्रसाद कोइराला हामी पत्रकारलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो । उहाँलाई थाहा थियो बहुदल भनेको । आफ्नो कुरा मात्र राख्ने, अरूको कुरा नसुन्ने हुनुहुँदैन । विश्वेश्वरप्रसाद कोइरालाले नदिनू भनेको कुरा प्रेसमा दिँदैन थिएँ । त्यसैले, उहाँ मलाई पूरा विश्वास गर्नुहुन्थ्यो । जनमतसङ्ग्रहको मतदानको दिन बेलुका म विश्वेश्वरप्रसाद कोइरालाकहाँ प्रतिक्रिया लिन गएँ । तर, उहाँले मतदान निष्पक्ष, निर्भिक र इमानदारीसाथ भएको कुरा स्पष्ट राख्नुभयो ।
मेरो स्मरणअनुसार उहाँले वेदविद्याश्रम पशुपतिको मैदानमा मत दिनुभएको थियो । त्यो बेला मुलुकभरको सम्पर्कको माध्यम प्रशस्त थिएन र उहाँलाई मुलुकका अरू सबै भागबाट मतदान कसरी भयो भन्ने समाचार आउने अवस्था थिएन । त्यही पनि जनमतको पक्षमा निष्पक्ष, स्वस्थ, स्वच्छ र धाँधलीरहित भयो भन्नुभयो । जसले गर्दा पछि जनमतसङ्ग्रहबारे गुनासो गर्ने ठाउँ रहेन । त्यसरी, विश्वेश्वरप्रसाद कोइराला जनमत सङ्ग्रहमा बाँधिनुभयो । जसले गर्दा निर्दलीय पञ्चायत शासन अर्को एक दशकभन्दा बढी चल्यो । तसर्थ, ठुला मान्छेले बोल्दा दीर्घकालीन विचार गर्नुपर्छ भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *