भर्खरै :

भक्तपुरका गाईजू श्रीलङ्कामा सम्मानित

कोलोम्बो, २७ पुस । २०७२ सालको विध्वंसकारी भूकम्पको समयमा आफ्नो ज्यानको पर्वाह नगरी घाइतेको उद्वार कार्यमा सक्रिय भक्तपुरका युवा लक्ष्मीसुन्दर गाइजू श्रीलङ्कामा सम्मानित भएका छन् । बुधबार श्रीलङ्काको राजधानी कोलोम्बोमा आयोजित एक विशेष समारोहबीच गाइजूलाई नागरिक वीरता स्वर्णपदकबाट सम्मानित गरिएको हो । श्रीलङ्काली संसदभवनभित्र भएको कार्यक्रममा त्यहाँका सभामुख करु जयसुर्याले उनलाई सो पदकबाट विभूषित गरेका हुन् ।
सम्मानित गाइजूले भूकम्पको समयमा आठ परिवारका भग्नावशेषले पुरिएका २४ जना जीवित उदार गरेका थिए । बारम्बारको पराकम्पनबीच उनले उदार गरेका २४ मध्ये हाल २१ जना हाल सामान्य जीवनयापन गरिरहेका छन् । उदारका क्रममा उनले कतै हातले माटो खोस्रेर र कतै डन्डीको भरमा माटो पन्छाई घाइतेहरुको उदार गरेका थिए । उनले विशेष गरी भूकम्पले अतिप्रभावित जेलाँमा उदार कार्य गरेका थिए ।
उनले सो क्रममा विभिन्न स्थानबाट ११ वटा लास भग्नावशेषबाट निकालेर सद्गति गर्न मद्दत गरेका थिए ।
विभिन्न देशहरुमा भएका प्राकृतिक विपद्का क्रममा स्वंयसेवी भावनाका साथ काम गरेका असल नागरिकलाई दिने गरेको सो पदक यसअघि माल्दिभ र पाकिस्तानका नागरिकहरुलाई प्रदान गरिएको थियो ।
पदक ग्रहण गरिसकेपश्चात सम्मानित गाइजूले उदारका क्रममा आफू कहींबाट सम्मानित हुने आशाले नभई निस्वार्थी मानवीय भावनाका उदार कार्यमा लागेको बताए ।
गाइजूले समारोहमा सगरमाथाको सफल आरोहण गरेकी प्रथम श्रीलङ्काली महिला जयन्ती कुरुउतुम्पलालाई पनि सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *