यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई अध्ययनशील र सामाजिक बनाउने दायित्व शिक्षक–शिक्षिकाहरूको भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिङ विभागका शिक्षक–शिक्षिकाहरूसँग भेटघाट कार्यक्रममा उहाँले भक्तपुर नपाले नर्सिङअन्तर्गत बी.एस.सी. नर्सिङ कक्षा सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।
शिक्षालाई उद्योगको रूपमा परिणत गर्न खोज्दा शिक्षा असाध्यै महँगो र सर्वसाधारणको पहुँचबाट टाढा हुँदै गएको बताउँदै उहाँले गरिब जनताको सेवा गर्ने उद्देश्यले ख्वप अस्पताल सञ्चालन, सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शैक्षिक संस्थाहरू सञ्चालन गरेको प्रस्ट पार्नुभयो ।
कमजोर विद्यार्थीलाई राम्रो बनाउन सक्ने खुबी शिक्षकहरूमा हुनुपर्ने बताउँदै उहाँले संस्थामा कार्यरत शिक्षक कर्मचारीहरूले आफ्नो व्यक्तित्व विकाससँगसँगै संस्थाको दिगो विकासमा विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले देश र समाजप्रतिको कर्तव्य पूरा हुने ढङ्गले काम गर्न शिक्षक–शिक्षिकाहरूलाई मार्गनिर्देश गर्दै उहाँले शैक्षिक क्षेत्रमा भक्तपुरले परिवर्तन गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजको सेवा गर्ने भावना नागरिकमा हुनु जरुरी रहेको बताउँदै भक्तपुरका दक्ष नर्सहरू देशभरिका स्वास्थ्य संस्थाहरूमा इमानदारीपूर्वक सेवा गर्दै आइरहेको बताउनुभयो । भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको स्पष्ट पार्दै उहाँले यसलाई थप परिस्कृत गर्दै लानुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं.९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले दक्ष नयाँ पुस्ता तयार गर्न संस्था निरन्तर अगाडि बढिरहेको उल्लेख गर्दै कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएको नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य बोकेको बताउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, नर्सिङ विभागका विभागीय प्रमुख ईश्वरी डंगोल, शिक्षिका प्रभा प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply