भर्खरै :

भदौ ९ को शिक्षा

भदौ ९ को शिक्षा

वि.सं. २०४५ साल भदौ महिनाको ९ गते जीवनमा कहिल्यै बिर्सन नसक्ने दिन हो ।
वि.सं. २०४५ साल भदौ ५ गतेको ठुलो भूकम्पले भत्केको हाम्रो घरको सरसामान पन्छाउने तथा मिलाउने काम गरिरहेका थियौँ । सूर्यमढीतिर भिड लागेको सुनेर हेर्न गयौँ । भिड च्याम्हासिंहतिर गयो । भूकम्प पीडितको राहत वितरणमा धाँधली गर्ने ह्योजुलाई घुमाउन ल्याएको रहेछ । दिन अत्यन्त तनावपूर्ण ढङ्गमा बित्यो । भूकम्पको विपत्तिमा अर्को आपत् थपियो ।
राति घरमा प्रहरी पस्यो । सुनिल दाइलाई बोलाउन आएको भनी प्रहरी घरको चोटासम्म आए । म सुतिरहेकी थिएँ । प्रहरीको गाली र चर्को आवाजसँगै बिउँझेँ । दाइले आमालाई “जिल्ला प्रशासन कार्यालयमा मिटिङ छ रे, जान्छु है ।” भन्नुभयो । हामीले सोध्यौँ, “किन यति राति, भोलि गए भइहाल्छ नि ।” दाइले “इमर्जेन्सी छ रे ¤ केही भयो होला ¤ छिट्टै फर्कन्छु” भन्नुभयो ।
भाउजूले प्रहरीलाई भन्नुभयो, “भोलि बरु बिहानै आउनु हुन्छ नि, यति राति किन ? के प¥यो त्यस्तो ?” कसैले जवाफ दिएको सुनिन । ३, ४ जना प्रहरीसँगै दाइ जानुभयो ।
झट्ट बाहिर हेर्दा बाटोमा बत्ती निभेको थियो । चारैतिर सुनसान थियो । कुकुरको भुकाइले सन्नाटा चिर्दै थियो । प्रहरीको बुटको आवाजले वरपरका सबैलाई बिउँझाइसकेको थियो तर बाहिर निस्कने आँट कसैमा थिएन । प्रहरीले घर नै घेरा हालेकोे रहेछ । दाइको पछाडि प्रहरी बथान देखेर हामी अचम्मित भयौँ । आमा रुनुभयो । “गएर आइहाल्नु हुन्छ नि !” भनी सम्झायौँ । “के भएको होला ?” भनी सबैजना एकै ठाउँमा बसेर सोच्यौँ ।
भोलिपल्ट बिहानमात्र थाहा भयो । हिजो हिँडेर भ्यान चढेको त्यो मान्छे राति १२ बजे मरेछ । वडाध्यक्ष भएकाले दाइलाई सोधपुछका लागि लगेको रहेछ । अरू धेरै दाइहरूलाई पनि बिहान नहुँदै घरघरबाट लगेको रहेछ । नगर पञ्चायतका पदाधिकारीहरू सबैलाई लगेको बुझियो । अलि मन बुझायौँ ।
दिउँसो ह्योजुको शवयात्रा भयो । ‘ज्यानमारा रोहितलाई फाँसी दे !’ नारा लगाइयो । त्यसपछि बल्ल बुझ्यौँ । यो त षड्यन्त्र रहेछ । राति सोधपुछका लािग भनी लगिएका सबै दाइहरूलाई बिनाप्रमाण ज्यानमारा भन्न थाले !
छिमेकीले “बुबा बितेको दशा लाग्यो ।”, “ज्यानमुद्दा परेपछि अब २० वर्ष जेल जाने भो !” भन्न लागे । दाइहरू कहाँ हुनुहुन्छ ? के गर्ने ? केही थाहा थिएन । पछि भाउजूले थाहा पाउनुभयो । सबै दाइहरू लाय्कुको भण्डारखाल चौकीमा हुनुहुन्छ भनी भाउजूले थाहा पाउनुभयो । दैनिक खाना पु¥याउन जान थाल्यौँ । सबैको परिवार खाना लिएर आउनुहुन्थ्यो । कति दिदी–आमाहरू नेपाली भाषामा कुराकानी गर्न सक्नुहुन्नथ्यो । भाषा कति महत्वपूर्ण भन्ने बुझेँ । प्रहरीहरू बेस्सरी हप्काउँथे । कतिपयलाई भाषा बुझाउने काम गर्थेँ । खाएर भाँडा बाहिर नल्याउन्जेल कुरेर बस्थेँ । अरू भाउजूहरू, आमाहरूको कुरा सुनी बस्थेँ । दाइहरूको टाढाबाटै मुख हेरेर फर्कन्थेँ ।
करिब हप्ता दिनपछि ३ महिनाकी सुत्केरी भाउजू खाना दिन जानुभएको दिउँसोसम्म पनि आउनुभएन । अहिले जस्तो मोबाइल र टेलिफोन केही थिएन । पिर लिएर बस्यौँ । साँझमात्र थाहा भयो दाइहरूलाई काठमाडौँ हनुमानढोका लगिएको रहेछ । भाउजूहरू पनि सबैजना त्यहाँसम्म खाना दिन जानुभएको रहेछ ।
अब झन् गा¥हो हुन थाल्यो । तैपनि, दैनिक खानाको थरमस लिएर काठमाडौँ जान थाल्यौँ । भक्तपुरका धेरैजना भाउजूहरू, आमाहरू थर्मस बोकी काठमाडौँ पुग्नुहुन्थ्यो । तर, कुराकानी गर्न गा¥हो हुन्थ्यो किनभने काठमाडौँ पुगेसँगै दैनिक पत्रिका बेच्नेहरू पत्रिका बिकाउन त्यसको हेडलाइनलाई बेसरी चिच्याउँदै कराउँदै आउँथे, “आजको ताजा खबर, आजको ताजा खबर, रोहितलाई फाँसीको माग, भक्तपुरमा ह्योजुको हत्या ।” हामी नसुनेझैँ बस्थ्यौँ । आँसु झार्न नि सक्दैनथ्यौँ । कसैलाई जवाफ दिन नि सक्दैनथ्यौँ । चुपचाप सहेर गाडीमा हिँड्ने गथ्र्यौँ ।
बिस्तारै दैनिक १,२ जना दाइहरूलाई विशेष अदालत सिंहदरबारमा बयान लिने क्रम सुरु हुन थाल्यो । दाइहरूसँग प्रत्यक्ष भेट्ने आशाले धेरै दिदीभाउजूहरू हनुमानढोकादेखि सिंहदरबार जानुहुन्थ्यो । मैले पनि २ जना दाइहरूको बयान सुन्ने मौका पाएँ । दाइहरू त्यहाँका न्यायाधीशको अगाडि आफूलाई प्रहरी हिरासतमा गरिएका सम्पूर्ण कुरा बताउनुहुन्थ्यो । उहाँहरूको शरीरको निलडाम देखेर र उहाँहरूले न्यायाधीशलाई सुनाएका कठोर यातनाको बयान सुनेर हामी नरोई बस्न सक्दैनथ्यौँ । धेरैका आँखा रसाउँथे । तर, एकछिन भेटघाट गर्न पाउँदा हामी खुसी हुन्थ्यौँ ।
खानतलासी शब्द सुन्दै डरको अनुभव हुन्छ । हाम्रो टोलका बुद्धिकुमार काकाको घरमा खानतलासी भन्दै दुईपटक त गाडीभरि पुस्तक र अनेक सामान लगेको देखेँ । राति—दिउँसो उहाँको घरमा खानतलासी लिने र घर घेरा हाल्ने काम भयो । रातिसमेत आएर प्रहरीले ज्यादती गरेपछि चोकचोक बाटो बाटोमा आगो बालेर बस्न थाल्यौँ । कतै कुनै टोलमा प्रहरी आएको जानकारी पाएपछि अरू टोलका दिदीबहिनी पुग्न थाले ।
घरमा सुत्केरी भाउजू र आमा मात्रै हुनुहुन्थ्यो । एक रात भाउजू नानीलाई सुताउँदै हुनुहुन्थ्यो; ननिदाएको बेला कौसीबाट एक पुरुष तल आए । जो हामीले पहिला पनि शङ्का गरेकै व्यक्ति थियो । भाउजूले बत्ती बालेर सोधिहाल्नुभयो, “किन आएको ?” हामी केटीहरू मात्र भएकोले पिर परेको पो छ कि भनी हेर्न आएको रे ! हामीले बुझ्यौँ कि कसैले हाम्रो घरको चियो गर्दै छ ।
त्यतिबेला एसएलसीमा कक्षा ९ र १० को पाठ्यक्रमबाट नै परीक्षा हुन्थ्यो । तसर्थ, कक्षा ९ र १० का विद्यार्थी ‘फलामे ढोका’ पार गर्न पढ्न कोसिस गर्थे । तर, २०४५/४६ ब्याचका हामी वागीश्वरी स्कूलका विद्यार्थीले कुनै शिक्षक नै पाएनौँ । सबै भूमिगत हुनुभयो या बाहिर आउने जति समातिए । कक्षाबाटै शिक्षक, विद्यार्थीहरू सोधपुछका लागि भनी प्रहरीबाट लगिए ।
केही दिनमै हेडमास्टरदेखि सबै विषयका नयाँ शिक्षक शिक्षिकाहरू आउन थाले । तर, हामीले मानेनौँ । कक्षा लिन लगाएनौँ । विद्यार्थी हित समितिको अगुवाइमा नयाँ मान्छेलाई हामी शिक्षक मान्दैनौँ । हामीलाई पुराना शिक्षक नै चाहिन्छ भनी विरोध ग¥यौँ । विद्यालय र विद्यालयबाहिर समेत जुलुस ग¥यौँ । हेडमास्टरसँग वार्ता ग¥यौँ ।
एसएलसीलाई नराम्रो असर पर्न लागेकाले हामीलाई चित्त नबुझाएसम्म शिक्षक नमान्ने सर्तमा हामीले कक्षा नियमित लियौँ । मावि विषयको शिक्षक ३ महिनामा ७ जनासम्म फेर्न बाध्य बनायौँ । यो विद्यार्थी एकताको सफलता नै मान्नुपर्छ ।


धान काट्ने र रोप्ने समय
असोज महिनामा धानका पहेँला बाला झुलेसँगै कसरी भित्र्याउने भन्ने पिर गर्न थाल्नुभयो, आमा । त्यतिबेला पुरुषबिना खेतको काम असम्भवजस्तै हुन्थ्यो । जब धान काट्ने समय भयो । छिमेकी किसान दाइहरू दुई जना आउनुभयो र भन्नुभयो, “हामीलाई खेत चिनाउनु, धान भित्र्याउन पिर गर्नुपर्दैन ।” साँच्चै भोलिपल्ट ती दुई दाइहरूसँग म खेत गएँ । एकै दिनमा धेरै दाइदिदीहरू आउनुभयो । ४ रोपनी खेतको धान ३ वटा थ्रेसर मेसिन प्रयोग गरेर खाजा नै व्यवस्था गर्न नपर्नेगरी धान घरसम्म पु¥याइदिनुभयो । त्यो घटनाले परिवारलाई सान्त्वना दियो र मनोबल बढायो ।
त्यस्तै, २०४६ सालमा ठुलो पानी नपरेर खेत बाँझो हुने स्थिति थियो । तिनै दाइहरू आएर बिनापानी खेत रोपेर सहयोग गर्नुभयो । यसप्रकार नेपाल मजदुर किसान पार्टीले पहिलेदेखि नै अप्ठ्यारो पर्नेबेला सहयोगको भावना जगाइदिएको थियो । किसान सङ्घ भित्रभित्रै काम गर्दै छ भन्ने पछि बुभ्mयौँ ।
मेरो मामाघरमा एक वकिल दाइ हुनुहुन्थ्यो । आमा उहाँकोमा गएर एक्लो छोेरा छुटाउन सहयोग माग्न जानुभएछ । उहाँले आमालाई सहयोग गर्नुभन्दा तर्साउनुभएछ ।
“अहिलेको यो मुद्दा अति कठोर ज्यान मुद्दा हो । मैले केही गर्न मिल्दैन । भाइले आफैले मारेको हो भनी सही गरिसकेछ । अब तपाईँले भाइबाट दागबत्तीको आशा नगर्नू ¤ कम्तीमा २० वर्ष त बस्ने नै भयो ।”
आमाले रिसाएर “म मेरो छोरा राम्ररी चिन्छु । उसले यस्तो भन्दैन पनि, गर्दैन पनि । तिमी झूटा हौ” भनी फर्कनुभयो । त्यही कुरा छिमेकी दाइलाई भन्नुभयो । उहाँले सत्य कहिल्यै हार्दैन† यो झूटा मुद्दा हो† छिट्टै छोरा फर्कन्छ भनी सान्त्वना दिनुभयो । त्यसबेलाबाट आमाले रगतको नाताभन्दा गहिरो अर्को नाता पनि रहेछ भन्ने बुझ्नुभयो ।
२०४० सालदेखि नै होला । टोल–टोलमा महिलाहरूका रात्रि कक्षा (प्रौढ कक्षा) हरू सञ्चालन हुन्थे । म दिउँसो विद्यालय गए पनि रात्रि कक्षामा दिदीसँग जान्थेँ । ती कक्षामा लेख्न—पढ्न सिकाउनेदेखि राजनीतिक शिक्षा पनि दिइन्थ्यो । व्यवहारका कुरा सिकाइन्थ्यो । सामाजिक कुरा सिकाइन्थ्यो । ती महिलाहरू बिस्तारै सङ्गठित हुन थाले । तिनै महिलाहरूले भदौ ९ पछि राजनीतिक सङ्घर्षमा बलियो साथ तथा अगुवाइ गर्न थाले । सङ्कटमा महिलाहरूको साहस बढ्यो । भदौ ९ को सङ्कटले महिला सङ्घर्ष हुर्कायो भन्नु गलत नहोला ! यो सङ्घर्ष झन्झन् बलियो बनाउन आवश्यक छ ताकि कुनै पनि षड्यन्त्रसँग सामना गर्न सकियोस् । अब महिलाहरू दमन सहेर बस्ने छैनन् ।

स्रोत : केटीहरू बुलेटिन, अङ्क १७, २०८१ भदौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *