भर्खरै :

उदयपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

उदयपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

उदयपुर, ९ भदौ । नेमकिपा उदयपुर जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको भत्सर्ना एवं विरोध गर्दै शनिबार सिरूवामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कोशी प्रदेश समितिका सदस्य महेन्द्र बखुन्छेँले नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रयावादी सङ्घसंस्थाभित्र गएर पनि जनताको सेवा गर्ने नीतिलाई व्यवहारमा ल्याउन तत्कालीन भक्तपुर नगर पञ्चायत, जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतलाई समेत उपयोग गरी निःस्वार्थपूर्वक जनताको सेवा गरेको असह्य भएको कारण नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट भक्तपुर काण्ड (२०४५ भदौ ९) को षड्यन्त्र रचिएको बताउनुभयो ।
“उक्त काण्डमा ६७ जना नेता–कार्यकर्ताविरुद्ध झूटा ज्यान मुद्दा लगाउनुको साथै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँलगायत बन्दी कार्यकर्ताहरूलाई सर्वस्वसहित फाँसीको माग गरी नेमकिपाका नेता–कार्यकर्ताहरूलाई दुःख दिएको थियो”, उहाँले भन्नुभयो ।
राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे पार्टीको धारणा राख्दै उहाँले देशघाती एमसीसी सम्झौता खारेज गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा उदयपुर संयोजक विष्णुबहादुर खत्री, दक्षबहादुर बुढाथोकी, पूर्णबहादुर बुढाथोकी, सीता मगर, चन्द्रबहादुर कार्की, पदम तामाङलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *