भर्खरै :

सन्देशमूलक सांस्कृतिक पर्व

भक्तपुर नगरपालिकाले सापारु (गाईजात्रा) को अवसरमा भदौ ६ गतेदेखि १० गतेसम्म भक्तपुरमा रहेका परम्परागत नाचगान तथा आधुनिक नृत्य, नाटक, ख्याल तथा अन्य नाचगानहरूको मूल्याङ्कन गरिरहेको छ । उक्त मूल्याङ्कन नपाद्वारा गठित मूल्याङ्कन समितिले गरिरहेको हो । यस वर्ष मूल्याङ्कन समिति स्थलमा यहाँ रहेका भैल, देवी, भालु, जङ्गली, ख्या, कवां, शेर, सिंह, दैत्य, फाकंदली, माक, हनुमान, गाइँचा, साँय् सामिचा, लाहुरे, हुला (नृत्य), झ्याउरे, लुसी (मुसल) कलाँली, लाखे, म्हेखा, नागाचा आदि देखाइएको छ । त्यस्तै, खिचा, तामाङ नृत्य, ख्याल, एकाङ्की नाटक, दोहरी गाइँचा, कपाय् फेनेगु, किजा पूजा पनि देखाइएको छ । परम्परागत नाचगानबाहेक अन्य आधुनिक नाचगानका विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका घटनालाई गीतमार्फत प्रस्तुत गरिएको छ । देशमा परिवर्तनको निम्ति जनतालाई सचेत र सङ्गठित गर्नुपर्ने, समाजमा व्याप्त अन्धविश्वास र कुरीति हटाई जागरुक बनाउनुपर्ने, देश र जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने विचार पोखिएको पाइन्छ । सरकारले गरेको देशघाती र जनविरोधी एमसीसी सम्झौता, नेपालीलाई भुटानी शरणार्थी बनाएर संयुक्त राज्य अमेरिका पु¥याएको, देशका जालीफटाहा, ठगहरूलाई सजाय गर्नुपर्ने आदि विषयमा गीतमार्फत जनतालाई जानकारी दिइएको छ ।
समाजवादी व्यवस्था भएको देशमा जन्मेदेखि मर्दासम्म गरिने काम, आफ्नै देशमा उद्योग, कलकारखाना खोलेर रोजगारीको व्यवस्था गर्नुपर्ने, सर्वसाधारण जनता सहकारी ठगहरूको जालमा परेर पीडित भएको, सन्तानले आमाबुबा र आमाबुबाले सन्तानप्रति सद्भाव राख्नुपर्ने, पालनपोषण र हेरविचार गर्नुपर्ने, आफ्नै जन्मभूमिमा खेतीपाती गरेर आवश्यक अन्न, तरकारी फलफूल, गेडागुडी पर्याप्त उत्पादन गर्नुपर्ने कुरा पनि गीतमा प्रस्तुत भएको पाइन्छ । कृषिप्रधान देशमा रासायनिक मल, नयाँ नयाँ बीउबिजन, कृषि औजारको अभाव र सिँचाइको समस्याबारे पनि उजागर गरेको पाइएको छ । सत्तासीन दलका नेता तथा सांसदहरूले बाख्रापालन, सर्पपालन आदिको नाउँमा सहयोग लिएर राजस्वमा दाइँ गरिरहेको, गाउँ–ठाउँमा भएका पारिवारिक झगडा, जन्मभूमि भुलेर विदेश जाने, आफ्नो श्रम, समय र अनुभव स्वदेशमा नखन्याइकन विदेशमै खन्याएर विदेशमै रम्न नहुनेजस्ता सन्देशमूलक गीत पनि नाचगानमा प्रस्तुत गरिएको पाइन्छ । देश र जनताको समस्याभन्दा दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न लागिपरेका सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूलाई पनि खबरदारी गरिएको पाइन्छ । सर्वसाधारण जनताले पनि निःशुल्क उच्च शिक्षा हासिल गर्ने व्यवस्था पाउनुपर्ने, देश र जनताको समस्या भुलेर भागबन्डा गर्ने, मन्त्री हुन तँछाडमछाड गर्ने, कुर्सीको निम्ति सिद्धान्त र विचार छोड्नेजस्ता प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत घृणित क्रियाकलापको पनि व्यङ्ग्य गरिएको छ ।
सत्तासीन दलका नेताहरू लोकतन्त्र र गणतन्त्र स्थापित गर्नुको सट्टा बदनाम हुने क्रियाकलापमा सरिक भएको, स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, बम खसालेर ध्वस्त पार्ने, धाक, धम्की र दबाब दिने, आक्रमण गरेर अरु देशको प्राकृतिक स्रोतसाधन कब्जा गर्ने, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत एकतर्फी बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुवान पार्ने कामको पनि विरोध गरिएको पाइन्छ । जन्मेपछि जन्मको सार पाउन देश र जनताको निम्ति कुनै न कुनै उल्लेखनीय काम गर्नुपर्ने, आशा बाँड्ने तर काम नगर्ने, मानिस बेचबिखन गर्ने, भ्रष्टाचार गर्ने, अरु देशको भरमा होइन आफ्नै देशको भरमा बस्न पूर्वाधार तयार गर्नुपर्ने विषय पनि विभिन्न नाचगानको गीतमा उल्लेख भएको पाइन्छ । बारम्बार मन्त्री फेर्ने तर काम नहुने या जिम्मेवारी इमानदारीपूर्वक बहन नगर्ने, देशका सरकारी कलकारखाना निजीकरण गर्ने, विदेशी कम्पनीलाई दिने, कौडीको मूल्यमा बिक्री गर्ने गरेको सन्दर्भ पनि गीतमा पाइन्छ । त्यस्तै, एकले अर्काेलाई जन्जाल र लोभलालचमा फसाउने, अरुलाई फसाउन पाएपछि गर्व गर्ने, बढ्दो महँगीबारे गीत गाइएको पाइएको छ । भनपाले सरसफाइ, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा गरेको प्रगति तथा नगर र नगरवासीको सेवामा जनप्रतिनिधिहरू थप सेवामा जुट्नुपर्ने सुझाव पनि दिइएको छ ।
देश, समाज र परिवार छोडेर आमाबुबा र मातृभूमि भुल्ने, समाजमा रक्सी खाएर हो–हल्ला गर्ने, उच्छृङ्खल र अराजनीतिक गतिविधि गर्ने, चोरी, हत्या, हिंसा गर्ने, समाजमा अशान्त मच्चाउने, नदीनाला बेच्ने, असमान सन्धि सम्झौता गर्ने कार्यको विरोध पनि गीतमा पाइन्छ । हरेक नागरिकले सही पार्टी खोजेर सही विचार अँगाल्नुपर्ने, सेवा गरेर जनताको विश्वास जित्नुपर्ने, सही विचार देशव्यापी पु¥याउनुपर्ने, हरेक नगर र गाउँपालिकालाई नमुना बनाउनुपर्ने विचार पनि गीतमा पाइन्छ । पुराना सम्पदा, नाचगान मात्र होइन पुराना सामग्रीहरू पनि सङ्कलन गरेर जीवित सङ्ग्रहालय खोल्नुपर्ने, राजनीति सिद्धान्त र विचारको आधारमा गर्नुपर्ने, देशघाती नेताहरूलाई सत्तामा राख्न नहुने, नेता खराब भएपछि देश पछि पर्ने र जनताले दुःख पाउने, सरकार कठपुतली हुन नहुने, आफ्नो इज्जत र प्रतिष्ठामा आँच आउने काम गर्न नहुने; पुँजीवादले बहुमत जनताको हित नगर्ने हुँदा समाजवाद ल्याउनुपर्ने र आमूल परिवर्तनको निम्ति बहुमत जनता सचेत र सङ्गठित भई सङ्घर्ष गर्नुपर्ने आवश्यकता बोध यस वर्षको सापारुले सन्देश छरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *