भर्खरै :

नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विरोध तथा भत्र्सना कार्यक्रम

नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विरोध तथा भत्र्सना कार्यक्रम

भक्तपुर, १६ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (भदौ ९) लाई कालो दिनको रूपमा स्मरण गर्दै नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाल क्रान्तिकारी मजदुर सङ्घले हरेक क्षेत्रका मजदुरहरूलाई ट्रेड युनियनवादमा मात्र सीमित नगरी समाजवादी व्यवस्थाको लागि क्रान्तिकारी परिवर्तन गर्न आ–आफ्नो क्षेत्रमा सङ्गठित गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आजको वर्गीय समाजमा पुँजीपतिहरूले राज्य सत्ता कब्जा गरी शोषकवर्गको पक्षमा ऐन कानुन व्यवस्था गरी नीतिगतरूपमा कामदारवर्गलाई शोषण गरिने यो पुँजीवादी व्यवस्थाकै विरुद्धमा कामदारवर्गलाई प्रशिक्षित गर्नुपर्छ ।”
अनुशासित र सङ्गठित कामदारवर्गलाई जुनसुकै कारखानामा काम गरे पनि पुँजीपतिवर्गले शोषण गर्ने वातावरण नहुने भएकोले कामदारवर्ग आफ्नो लागि आफै सिक्ने चाहना राखी सधैभरि राष्ट्रिय अन्तर्राष्ट्रिय समाजवादी राजनैतिक व्यवस्थाको अध्ययन अन्तरक्रिया तथा गोष्ठीजस्ता कार्यक्रममा सक्रिय सहभागी भई सैद्धान्तिकरूपले परिपक्व हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले २०४५ सालको भक्तपुर काण्डजस्तो जुनसुकै षड्यन्त्र गरे पनि असफल पार्न सकिने बताउनुभयो ।
२०४५ सालको भक्तपुर काण्डमा विशेषगरी प्रतिगामी शिक्षकहरूले षड्यन्त्रमा सक्रिय भूमिका खेलेको इतिहास स्मरण गर्दै उहाँले त्यसबेला अशिक्षित क्रान्तिकारी किसान तथा महिलाहरूको कानुनी र गैरकानुनी सङ्घर्ष गर्ने अदम्य साहसको कारण भक्तपुर काण्ड गर्ने षड्यन्त्र असफल भई पञ्चायती राज्य व्यवस्था ढलेको बताउनुभयो ।
प्यालेस्टिनका जनतालाई इजरायलले जातीय नरसंहार गरेको हुँदा संसारका न्यायप्रेमी जनताले विरोध गर्नुपर्ने उहाँले बताउनुभयो ।
२०३५ सालमा भारतमा प्रवासमा रहँदा नेमकिपाका अध्यक्ष रोहितलाई गोली हानी मार्ने षड्यन्त्र गरेको, २०४१ सालमा नेपालको पश्चिमाञ्चल क्षेत्रका जुम्ला, हुम्ला, कालीकोट, दैलेख, सुर्खेत जाजरकोट, मुगु जिल्लामा नेमकिपाको सङ्गठनलाई तहसनहस गर्न ११२ जना नेता कार्यकर्तालाई सरकारले पक्राउ गरेको स्मरण गर्दै उहाँले विरोधीले सधँै षड्यन्त्र गर्न सक्छ भन्ने कुरालाई मनन गरी सचेत र सजग हुन आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घका रुकेश कवांले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरूलाई नेपालको श्रम ऐनअनुसार पाउनुपर्ने न्यूनतम सेवा सुविधाबाट वञ्चित गरेको अवस्था भएको हुँदा अनुशासित र सङ्गठित सङ्घर्षबिना हाम्रो रोजगारीको सुनिश्चित नभएको बताउनुभयो ।
भक्तपुर सिकर्मी सङ्घका पुण्यराम न्हुछेले सरकारले सिकर्मीहरूलाई काम गरिखाने वातावरण बनाउन नसकेको निम्न आय भएका नेपाली सिकर्मीहरूको उत्पादनलाई भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने मजदुर मार्ने नीतिको कारण विदेशी फर्निचरका उत्पादन र मजदुरहरूले नेपाली उत्पादन र मजदुरहरूलाई विस्थापित गरेको हुँदा सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गरी वर्कपरमिट लागु गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका सभापति उपेन्द्र सुवालले नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अँगीकार गरी जनताको सेवामा निरन्तर अगाडि बढेको बताउँदै संसारका विभिन्न देशमा भएको मजदुर आन्दोलनहरूको इतिहास अध्ययन गरी आ–आफ्नो हक अधिकारलाई सुनिश्चित गर्न सङ्घर्षशील भावनालाई कायम राख्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका सचिव रमेश दुमरु र आयोजक समितिका पञ्चरत्न सैँजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *