भर्खरै :

वागीश्वरीमा १५९ औँ मोती जयन्ती

वागीश्वरीमा १५९ औँ मोती जयन्ती

भक्तपुर, १७ भदौ । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा युवा कवि मोतीराम भट्टको १५९ औँ जन्म जयन्ती गजल गोष्ठीसहित सोमबार मनाइयो ।
कार्यक्रममा वागीश्वरी मा.वि. कक्षा ११/१२ का संयोजक ज्ञानसागर प्रजापतिले गजलमा प्रस्तुत भावलाई व्यवहारिक र सार्थक जीवनको लागि प्रयोग गर्न सुझाव दिनुभयो ।
साहित्यकारका हरेक रचना सोख र मनोरञ्जनका लागि मात्र नभएर समाज र जीवनमा सकारात्मक परिवर्तनको लागि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “साहित्यमार्फत भ्रष्टाचारको विरोध गर्नु जति सजिलो छ, भ्रष्टाचारीहरूको सामना गर्न निकै कठिन हुने भएकोले निडर हुनु आवश्यक छ ।”
विद्यार्थीहरूले वाचन गरिएका गजलहरूको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् वागीश्वरी मा.वि.का पूर्वशिक्षक चन्द्रप्रसाद ढकालले गजल विधामा उत्कृष्ट विद्यार्थी तयार गर्न वागीश्वरी सफल हुनुमा यस्तै कार्यक्रमको योगदान रहेको बताउनुभयो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापक एवं कार्यक्रमका सभापति कृष्णप्रसाद कर्माचार्यले वागीश्वरीले पाठ्यक्रममा मात्र सीमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूलाई अघि बढाएको स्पष्ट पार्नुभयो ।
नेपाली विषय शिक्षक हिरालाल फुँयालले स्वागत गरेको उक्त कार्यक्रममा गजल गायक देनि निरौला, गितारबादक रमेश सुवेदी र तवलाबादक बद्री सेवाको साङ्गीतिक समूहबाट मिठासपूर्ण गजल प्रस्तुत भएको थियो ।
शिक्षक हरिप्रसाद ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षकहरू रवीन्द्र न्हेम्हाफुकी, नवीन्द्रलाल कर्माचार्य, प्रजापति खनाल, गीता खनाल, गनु साम्पाङ राईले गीत तथा गजल प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरू क्रिषला प्रजापति, सृष्टि कार्की, प्रकाश रोकाया, रमेश गोरा, सरिना श्रेष्ठ, सुवान सुवाल, दावा तामाङ, हीरा तामाङ, देवराज विक, सुमित्रा श्रेष्ठ, गणेश विष्ट, मुकुण्ड रोकाया, सन्ध्या श्रेष्ठ, आभा प्रजापति, सुशान्त बुढाथोकी, झरना कुमारी विक, स्मृति घले, सुजन खत्री, निरूता श्रेष्ठ, विवेश धमलालगायतले गीत तथा गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रमपश्चात प्रमुख अतिथिबाट साङ्गीतिक टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *