भर्खरै :

क्युवाविरुद्धको अमानवीय नाकाबन्दीविरुद्ध नेमकिपा सदन र सडकमा सङ्घर्षरत

क्युवाविरुद्धको अमानवीय नाकाबन्दीविरुद्ध नेमकिपा सदन र सडकमा सङ्घर्षरत

भक्तपुर, १८ भदौ । नेपालका लागि कार्यवाहक महामहिम राजदूत अबेल अबाले डिस्पेन्जले मङ्गलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) सँग भेटघाट गर्नुभयो ।
भेटको क्रममा अध्यक्ष बिजुक्छेँले क्युवाली जनता एक्लै नभएको र न्यायपूर्ण सङ्घर्षमा विश्वका न्यायप्रेमी जनताले जस्तै नेपाली कामदार जनताको पनि साथ रहेको प्रस्ट पार्नुभयो । उहाँले क्युवाविरुद्धको अमानवीय नाकाबन्दीविरुद्ध नेमकिपाले सदन र सडकमा निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।
क्युवाको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाबारे राख्नुभएको जिज्ञासामा महामहिम राजदूतले अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा संयुक्त राज्य अमेरिका र क्युवाबिचको कूटनीतिक सम्बन्धले नयाँमोड लिनुका साथै अमेरिकी दूतावास हवानामा सुरु भइसकेको अवस्थामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपश्चात ती सबै निर्णयहरू उल्टाउँदै क्युवालाई अझ थप अमानवीय आर्थिक नाकाबन्दी लगाएको उल्लेख गर्नुभयो । राजदूत अबेल अबाले डिस्पेन्जले अमेरिकाले सबै अन्तर्राष्ट्रिय वित्तीय सङ्घसस्थाहरू तथा निजी कम्पनीहरूलाई समेत क्युवासँग कुनै आर्थिक क्रियाकलाप र कारोबार नगर्नु भनी उर्दीसमेत जारी गर्दै आएको बताउनुभयो । क्युवाली नेतृत्व र क्युवाली जनता कठोर परिस्थितिसँग नझुकी लडिरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले आर्थिक नाकाबन्दी कुनै राजनीतिक उपाय नभएको र त्यसले निर्दोष जनताको घाँटी निमोठिरहेकोले त्यो एक अमानवीय तथा निन्दनीय कार्य भएको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले नेपाल मजदुर किसान पार्टी स्वतन्त्र र सार्वभौम देशमाथिको अमेरिकी हस्तक्षेप तथा कठोर नीतिको सदा विपक्षमा रहँदै आएको बताउँदै ल्याटिन अमेरिका, अफ्रिकालगायतका देशमा भइरहेको अमेरिकी हस्तक्षेपविरुद्ध गतिविधि तथा प्रकाशनमार्पmत सङ्घर्ष चालू राख्दै छ भन्नुभयो ।
सो भेटघाटमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको पनि उपस्थिति थियो ।
त्यसअघि कार्यवाहक राजदूत अबेल अबाले डिस्पेन्जलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँलगायतले लायकुलीमा स्वागत गर्नुभयो । लायकु र तमारीको उहाँले अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । कार्यवाहक राजदूत डिस्पेन्जले ख्वप अस्पताल, ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, आदर निकेतन, तःपुखु र न्हूपुखुको समेत अवलोकन गर्नुभयो । नेमकिपाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेको सेवा सराहनीय भएको बताउँदै उहाँले अनुभव आदानप्रदान आवश्यक भएको चर्चा गर्नुभयो । उहाँले सम्पदा संरक्षण, पुनःनिर्माण, प्राज्ञिक क्षेत्रमा क्युवाले हासिल गरेको अनुभव तथा सफलता नेपाली जनतासम्म पु¥याउन उत्सुक रहेको प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *