नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
त्यसपछि म केटाकेटी रहिनँ
जब महसुस गरेँ मैले
मेरा जनता जीवनबाट वञ्चित छन्
चिहानबाट बर्जित छन् ।…
पाब्लो नेरुदा
आज ६५०० प्यालेष्टाइनीहरू इजरायली जेलमा छन् । तीमध्ये ३०० जना बालबालिका छन् । हाल इजराइलको हिरासतमा रहेका प्यालेष्टाइनीमध्ये ९५% युवा छन् । २०१८ को पहिलो हत्या प्यालेष्टाइनमा भयो । इजरायली सेनाबाट एक प्यालेष्टाइनी बालकको हत्यासंगै यो वर्ष पनि विश्व साम्राज्यवादले अर्को नरसंहारको खाता खोलेको छ । जीवनमरणको ठेगान नभएको देशमा बालबालिकाहरू कसरी गट्टा खेलेर बस्न सक्छन् ? प्यालेष्टाइनकी एक १६ वर्षे बालाले २०१७ डिसेम्बर १९ तारिखमा इजराइल र साम्राज्यवादको मुखमा बेस्सरी थप्पड हिर्काएर नेरुदाका यी हरफलाई आफ्नै बनाएकी छिन् ।

दोस्रो विश्वयुद्धको समाप्तिसंगै प्यालेष्टाइन निरन्तर इजरायली कब्जा र अत्याचारले आक्रान्त छ । (हेर्नुहोस् नक्सा ) कुनै समय स्वतन्त्र देश रहेको प्यालेष्टाइन आज केही गाउँ र शहरमा सिमित छ । यिनै गाउँमध्येको एउटा सानो गाउँ हो नबी सलेह । लगभग ५०० घरधुरी रहेको यस गाउँमा दैनिक इजरायली सेनाको दुव्र्यवहार भोग्न बाध्य छन् रैथानेहरू । खासगरी बालबालिकाहरू अत्यन्त पिडित छन । विद्यालय होस् वा खेल मैदान सबै ठाउँमा बालबालिका इजरायली सेनाको तारो बनिरहन्छन् । त्यसैले नबी सलेहका बालबालिकाका लागि उज्जवल भविष्यको परिकल्पना आकाशको फल हो । सन् २००९ पछि इजरायली सेनाले प्यालेष्टाइनका भूभागहरू कब्जा गर्ने क्रमलाई एकाएक बढायो । सोही वर्ष नबी सलेह गाउँको एकछेउमा बलजफ्ती कब्जा गरेर बस्ती बसाले । र गाउँको पानीको स्रोत पनि कब्जा गरे । यहीँ वर्षदेखि नबी सलेहका बासिन्दाहरू हरेक शुक्रबार इजरायली कब्जाविरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् । र यहाँको आन्दोलनलाई प्यालेष्टाइनकै सबैभन्दा सशक्त जनसंघर्र्ष मानिन्छ ।
यसबीच नबी सलेहका धेरै महिला र पुरुषलाई इजरायली सेनाले पक्राउ गरिसकेको छ ।
यहीँ बस्छ आहिद तमिमिको परिवार । सन् २०११ मा आहिद तमिमिका बुवा बेस्सिम तमिमिलाई पहिलोपल्ट प्रहरीले पक्राउ गरेको थियो । आरोप थियो, इजरायली अतिक्रमणको विरोधमा साप्ताहिक प्रदर्शन आयोजना गर्नु । १३ महिनापछि उनलाई रिहा गरियो । सोही वर्ष उनका दाजु पर्ने २८ वर्षे मुस्तफा तमिमिको टाउकोमा इजरायली सेनाले हानेको अश्रु ग्यासको गोली लागेर मृत्यु भयो । अर्को वर्ष उनका मामा रुस्दी तमिमिलाई ढाडमा गोली लाग्यो । हस्पिटलमा उनको निधन भयो । आहिद १३ वर्षकी छँदा उनकी आमा नरिमन तमिमिलाई खुट्टामा इजरायली सेनाले प्रहार गरेको गोली लाग्यो । नरिमन महिनौँसम्म बैसाखीको सहारामा हिँडिन् । २०१७ डिसेम्बर १५ गते उनका भाई पर्ने १४ वर्षे मोहम्मद तमिमिलाई इजरायली सेनाले रबरको खोल भएको स्टीलको गोलीले सिधै अनुहारमा प्रहार ग¥यो । मोहम्मद केही दिन कोमामा गए र अन्ततः सात सर्जनद्वारा अपरेशन गरिएपछि हाल आधा टाउको बिग्रिएको अवस्थामा सही उनी तङ्ग्रिँदै छन् । त्यसै दिन आहिदको घरमा पनि अश्रु ग्यासका गोली प्रहार गरियो । घरका सबै झ्यालहरू फुटे । इजरायली सेना बलजफ्ती घरको हाताभित्रै बसे । यी त नमूना मात्र हुन् । यीबाहेक नबी सलेहका धेरै बासिन्दाहरूको कहालीलाग्दा दुःखदर्दहरूसंगै आहिद तमिमि हुर्किन् ।

बालबालिकालाई कठोरभन्दा कठोर परिस्थितिसंग जुध्नसक्ने गरी तयार पार्नु हरेक अभिभावकको कर्तव्य हृुन्छ । बिस्तारै नबी सलेहका बासिन्दाले आफ्ना सन्तानलाई इजरायली ज्यादतीविरुद्ध हुने शुक्रबारे शान्तिपूर्ण प्रदर्शनहरूमा सहभागी गराउन थाले । आहिद तमिमि पनि ९ वर्षको उमेरदेखि आमा, बुवा र साथीहरूसित प्रदर्शनमा सहभागी बन्दै गइन् । उनी प्यालेष्टाइनी अधिकारकर्मीको रुपमा विश्वभर चर्चित भइन् । खासगरी नबी सलेह र रमल्लाहवरपरका गाउँहरूमा हुने इजरायली अतिक्रमणको विरुद्धमा उनी निरन्तर संघर्षरत थिइन । २०१७ मा उनले टर्की, दक्षिण अफ्रिका र युरोपेली संसदमा प्यालेष्टाइनी प्रतिकारमा महिला सहभागिता विषयमा बोलेकी थिइन । उनको जुझारु संघर्षले विश्वभरबाट समर्थन बटुलिरहेको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएपछि प्यालेष्टाइनमा सो निर्णयको विरोधमा आन्दोलन फैलँदै गयो । स्वाभाविक रुपमा नबी सलेहको शुक्रबारे प्रदर्शनमा पनि यस निर्णयको विरोध भयो । १५ डिसेम्बरको प्रदर्शनको क्रममा दुई इजरायली सेनाहरू तमिमि परिवारको घर पस्न खोजे । आफ्नी दिदी नूर तमिमिसंगै आहिद प्रतिकारमा उत्रिए । आहिदले चिच्याउँदै उनीहरूलाई आफ्नो घर फर्किन भनिन् । अनि उनीहरूलाई धकेलिन्, लात्तीले हिर्काइन् र अनुहारमा झाप्पड हिर्काइन । आहिदकी आमाले केही समय पहिलेदेखि इजरायली सेनाका अत्याचारका आततायी दृश्यलाई क्यामेरामा कैद गर्न थालेकी थिइन् । उनले इजरायली सेनालाई थप्पडाएको दृश्य फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिदिइन् । भिडियो भाइरल भयो । साम्राज्यवादीहरू सत्यसंग सधैँ तर्सिन्छन् । यो भिडियोले सेनाको ‘अपमान’ गरेकोे भनी इजरायलमा ठूलो हलचल ल्यायो ।
डिसेम्बर १९ तारिख रातको ३ बजे एकाएक लगभग ३० जनाको संख्यामा रहेको इजरायली सेना तमिमि निवासमा पस्यो । र आमालाई एकातिर धकेल्दै आहिदलाई पक्राउ ग¥यो । आहिदमाथि सेनालाई तर्साएको, सेनालाई काम गर्न छेकेको, उत्तेजना फैलाएको, सेनाउपर सामान प्रहार गरेकोजस्ता १२ वटा आरोप लगाएको छ । यी आरोपहरू प्रमाणित भएमा उनलाई १० वर्ष कैद सजाय हुनेछ । छोरीलाई हिरासतमा भेट्न पुगेकी आमालाई पनि सामाजिक संजालमा भिडियो प्रसारण गरी हिंसा भड्काएकोे आरोपमा हिरासतमा लिइएको छ । दिदी नूरलाई सेनालाई हस्तक्षेप गरेको आरोपमा डिसेम्बर ३१ गते हिरासतमा लिइएको थियो । पछि उनलाई हरेक शुक्रबार हाजिर हुनेगरी तारेखमा छाडिएको छ । उनकी अर्की दिदी मनल तमिमिलाई पनि हिरासतमा लिइएको छ ।
इजरायली सेनाले सन् २०१२ यता प्यालेष्टाइनी बालबालिकालाई निशानामा राख्दै आएको छ । राष्ट्र संघको प्रतिवेदन भन्छ, नोभेम्बर २४ देखि डिसेम्बर ४ बीच मात्र इजरायली सेनाले १०० प्यालेष्टाइनी गाउँहरूमा छापा मारेको थियो । खासगरी रातको समयमा उनीहरू बालबालिकालाई घरबाटै उठाउने गर्छन् । अनावश्यक हत्कडी लगाइदिन्छन् । पर्यवेक्षकहरू भन्छन्, हिरासतमा लिएपछि इजरायली सेनाले घण्टौँ केरकार गर्नेगर्छ । र आरोप स्वीकार गराउन ठूलो दबाब दिन्छ । उनीहरूलाई गलाउन हिरासतको स्थान फेरिरहन्छ । ६०% बालबालिकामाथि शारीरिक र मानसिक दुव्र्यवहार गर्छ । पर्याप्त खाना दिँदैन । निष्पट्ट अँध्यारो र सुनसान स्थानमा राखिन्छ । सोधपुछका क्रममा अभिभावक वा वकिल राख्न दिनुपर्ने कानून हुँदाहुँदै पनि बेवास्ता गरिन्छ । एक रिपोर्टअनुसार ४० मा ८ जना प्यालेष्टाइनी बालबालिकालाई इजरायली सेनाले यातना दिने गरेको छ । यता प्यालेष्टाइनी गाउँहरूमा इजरायली सेनाको ज्यादती बढेको छ । बालबालिकामा अनिद्रा, दुस्वप्न र बिस्तारामै पिसाब फेर्नेजस्ता मानसिक समस्याहरू आम बन्दै गइरहेका छन् । पक्राउ परेपनि पूरै लुगामा परौँ भनेर रातमा पूरै पोशाक लगाएर, जुत्ता पनि बिस्तरानजिकै राखेर सुत्न थालेका छन् । जतिबेला जेपनि हुनसक्ने त्रासैत्रासमा उनीहरू बाँचिरहेका छन् । अहिले महिला, पुरुष र बालबालिकाहरू सबै सेनाको निशानामा छन् ।
पक्राउ परेकामध्ये ९९.७% बालबालिकालाई आफूले नगरेको कसुर पनि स्वीकार्न लगाउने इजरायली सेनाको ‘कीर्तिमान’ छ । अधिकारकर्मीहरू भन्छन् आहिदमाथि इजरायली सेनाले माथि चर्चा गरिएका सबै तरिका अपनाइसकेको छ । तर पनि आहिदले कुनै प्रतिक्रिया नदिएको खबर छ । आहिदको मौनताले इजरायली न्यायप्रणालीको वैधानिकतामाथि अर्को थप्पड हिर्काएको छ ।
हरेक दिनजसो प्यालेष्टाइन, ल्याटिन अमरिका, सं.रा. अमेरिका, बेलायत, फ्रान्स, पोर्चुगललगायत युरोपका विभिन्न शहरमा तमिमि महिलाहरूको रिहाइको लागि जुलुस, सभा र अन्य कार्यक्रमहरू गरिँदैछ । प्यालेष्टाइनमा इजरायली सेनाले प्रदर्शनकारीमाथि दमन गरिरहेको खबर आइरहेको छ । तैपनि ट्वीटर, फेसबुकलगायत सामाजिक संजालमा पनि उनीहरूको रिहाइको माग चर्किँदै गएको छ । आहिद, नरिमन, नूर र मनललाई पत्र लेखेर ऐक्यबद्धता जनाउनेहरूको संख्या ह्वात्तै बढेको छ । (उनीहरूमध्ये कुनै एकजनालाई सम्बोधन गरेर यहाँले पनि यो ठेगानामा पत्र लेख्न सक्नुहुन्छ – HaSharon prison : Ben Yehuda, P.O. Box 7 : 40 330 Israel) संसारका सचेत जनताले आफ्ना देशका इजरायली दुतावासमा फोन गरेर उनीहरूको रिहाइको लागि दबाब दिने, लाखौँको संख्यामा हस्ताक्षर संकलन गरी बुझाउनेजस्ता गतिविधि बढाइरहेका छन् ।

विद्यालयमा शारीरिक शिक्षा आहिदको मनपर्दो विषय हो । उनलाई फुटबल खेलाडी बनेर देशको नाम उँचो पार्ने धोको थियो । तर जीवनै बन्धक बनेको देशमा सपनाको चङ्गा माथि उडाउन नसकिने रहेछ । आज आहिदजस्ता धेरै देशभक्त बालबालिका इजरायली कारागारमा थुनिएका छन् । हिब्रोन शहरका इब्राहिम अल–कवास्मी (१५) र लोय नस्तेह (१५), नाब्लसका वाएल हशाश (१९) र अत्ताल्लाह हशाश (२४), जेनिनका अहमद कासिम (१९) र रमल्लाहका अहमद अबु रहमा (१७) जस्ता नयाँ पुस्ताका प्यालेष्टाइनी स्वतन्त्रता संग्रामीको नाउँले साम्राज्यवादीहरू थर्कमान छन् । बेस्सिम तमिमिले हिरासतमा रहेकी छोरीलाई एक मार्मिक पत्र लेखेका थिए । यी शब्दहरूमा प्यालेष्टाइनी देशभक्तहरूको नयाँ ताँतीमाथि कति ठूलो आस्था र भरोसा छ, “आहिद, संसारको कुनैपनि अभिभावकले आफ्नी छोरीलाई हिरासतमा थुनिएको देख्न चाहन्न । तर आहिद तिम्रो कारण मजत्तिको गौरवान्वित अरु कोही नहोला । तिमी र तिम्रो पुस्ता अन्तिम विजयको निमित्त पर्याप्त साहसी छ । तिम्रो गतिविधि र उत्साहले मलाई नतशिर पारिदिन्छ र आँखामा आँसु ल्याइदिन्छ । तर तिम्रो अनुरोधजस्तै यी आँसुका थोपाहरू निराशा र पश्चातापका होइनन् । बरु संघर्षका आँसु हुन् ।”
चर्चित पत्रकार अबे मार्टिनसंगको अन्तर्वार्तामा आहिदले भनेकी थिइन्, “हाम्रो लडाईँ प्यालेष्टाइन वा अरब जगतका लागि मात्र होइन । यो एक मानवीय संघर्ष हो ।” विदेशी सेनाले हत्या गरेका नेपाली क्रान्तिकारी भीमदत्त पन्तको सम्मानमा हामी नेपाली आहिदको पक्षमा एकजुट हुन जरुरी छ । र त्यत्तिकै जरुरी छ देशभक्त र अन्यायविरोधी नेपाली पुस्ता तयार पार्न ।
आहिद तमिमि आज साम्राज्यवादविरोधी विश्वको एवं सम्पूर्ण नयाँ पुस्ताको आदर्श र प्रेरणा बनेकी छिन् ।
तमिमि नारीलाई मुक्त गर !
आहिद तमिमि जिन्दावाद !
प्रस्तुतिः सुरेश
Leave a Reply