पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
पुँजीवादी व्यवस्थामा श्रमजीवी वर्गको हित नहुने हुँदा दुःख पाउनु स्वाभाविक हो । पुँजीवादी व्यवस्थाका सञ्चालकहरू पुँजीपतिहरू नै हुन्छन् । पुँजीपतिहरूले कहिले पनि बहुमत जनताको हित हेर्दैनन् । सरकारकै नीति र नियमको कारण मेचीदेखि महाकालीका श्रमजीवी जनता प्रताडित छन् । यसबाहेक हिमाल, पहाड र तराईका सामन्त, जमिनदार, पुँजीपति, जालीफटाहाहरूका कारण पनि शोषितपीडित जनतामा मर्कामा छन् । जनताका मर्का, पीडा या व्यथा अन्त्य गर्न श्रमजीवी जनता सचेत, सङ्गठित र एकजुट हुनुपर्छ । सङ्गठित शक्तिको सङ्घर्षबिना बहुमत जनतामाथि भइरहेको थिचोमिचो, अन्याय, अत्याचार र समस्याबाट मुक्ति मिल्ने छैन । बहुमत श्रमजीवी जनताले समस्या पाएको ठाउँ तराई पनि हो । तराईका आदिवासी, उत्पीडित जनता अनेक कारणबाट प्रताडीत छन् ।
तराईका जनता सामन्त, जमिनदार र जालीफटाहाहरूको मारमा छन् । पुस्तौँ पुस्तादेखि जोत्दै आएको जमिनमा उनीहरूको कुनै नामोनिशान छैन । मोही कायम नहुँदै भएको द्वैधस्वामित्वको अन्त्य र कमैयामुक्त घोषणाले किसान र कमैयाहरू घुमन्ते जीवन बिताउन बाध्य भए । उनीहरूको खाने, लाउने र बस्ने कुनै निश्चित स्थान भएन । जोत्दै आएको जग्गाको केही अंश पाएको भए उनीहरूको एउटा बाँच्ने आधार हुन्थ्यो; जीवन सुनिश्चित हुन्थ्यो या फिरन्ते जीवन बिताउन बाध्य हुँदैनथ्यो । तर, नेकाको सरकारले जग्गा र आवासको कुनै व्यवस्था गरेन । यसबाट बुढाबुढी र बालबालिका भोकभोकै परे । कति रोग, भोक र चिसोले बिते । उनीहरूको बसाइँ निश्चित छैन, खानपिन निश्चित छैन । द्वैधस्वामित्व अन्त्य र कमैया मुक्तिको कारण किसान र कमैयाहरू मर्कामा परे ।
तराईका जनता जमिनदार, जालीफटाहाहरूबाट पनि मर्कामा परेका छन् । तराईका जमिनदारहरू सर्वसाधारण जनतासँग चर्काे ब्याज लिएर ऋण दिन्थे । त्यही ऋण तिर्न नसकेर ब्याजमाथि ब्याज लिएर जमिनदार र जालीफटाहाहरूले सर्वसाधारण जनतासँग लाखौँ लाख पैसा सोहर्थे; ऋणको साँवा ब्याज तिरेन भनी जग्गै हात पार्थे । कतिलाई ऋण नतिरेको भनी आफ्नो घरमा नोकरी राख्थे या सित्तैमा काम गराउँथे । मिटरब्याज आर्थिक शोषणको एउटा अर्काे दृष्टान्त हो । जमिनदार र जालीफटाहाहरूले चर्काे ब्याज मात्र होइन नक्कली कागज बनाएर लिएको ऋणभन्दा धेरै बढाइचढाइ गरेर ऋण लिएको कागज गराउँथे र पैसा असुल्थे । यस्ता आर्थिक र श्रमशोषण तराईमा अद्यापि चलिरहेको छ ।
तराईका जनता आर्थिक शोषणका साथै धार्मिक, सामाजिक शोषण र विभेदले पनि मर्कामा परेका छन् । उनीहरूमाथि सामाजिक शोषण भइरहेको हुन्छ । धार्मिक र सामाजिक शोषणले गर्दा पनि तराईका शोषितपीडित तथा उत्पीडित जनता मर्कामा परेका छन् । सर्वसाधारण महिलाहरूलाई बोक्सीको आरोप लगाइन्छ । बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना दिइन्छ । कहिले गाउँबाटै निकालिन्छ त कहिले गाउँ घुमाइन्छ; कहिले घर आँगनमा बाँधिराख्छ त कहिले अर्धनग्न बनाएर दिसा खुवाइन्छ । समाजमा व्याप्त कुरीति, अन्धविश्वासले सर्वसाधारण जनता अनाहकमा शारीरिक र मानसिक, यातना सहेर जीवन बिताउन बाध्य छन् । खुला ठाउँमा शारीरिक र मानसिक यातना दिइरहँदा पनि प्रहरीको कुनै कारबाही हुँदैन; गाउँ बस्तीका राजनीतिक कार्यकर्ताहरू पनि मूकदर्शक हुन्छन् । यो पनि तराईका जनताको समस्या हो ।
दाइजो प्रथा तराईको अर्काे समस्या हो । दाइजो प्रथा अनियन्त्रित ढङ्गले विकास भइरहेको छ । पति या पतिको परिवारले मागे जति दाइजो दिनुपर्ने संस्कारको रूपमा विकास भइरहेको छ । दाइजोकै कारण कति सम्बन्धविच्छेद भएको पाइन्छ । कतिको हत्या भएको त कतिको घर निकाला भएको पाइन्छ । भने जति दाइजो दिएन भनेर आफ्नै पत्नीलाई जलाउने काम भएको घटना बरोबर सञ्चारमाध्यममा आइरहेको छ । उखुको मूल्य नपाउने पनि तराईका किसानहरू हुन् । मकैको घोगा नलाग्ने, बाढीले डुबानमा पर्ने, नेपाली भूमिमा भारतीय पक्षले अतिक्रमण गरेर नेपाली जनतालाई उठिवास गर्ने ठाउँ पनि तराई क्षेत्र नै हो । तराईका जनताका यस्ता समस्या समाधान गर्न तराईका किसान, मजदुर, आदिवासी, उत्पीडित जनता सचेत र सङ्गठित हुनुपर्छ । जनताको यस्तो समस्या हल गर्न तराईका जनताले सामन्त, जमिनदार, जालीफटाहा, पुँजीपतिवर्गको विरोध गर्नुपर्छ† सचेत र सङ्गठित भएर सङ्घर्ष गर्नुपर्छ । सङ्घर्षबिना जनताको समस्या समाधान सम्भव छैन । सङ्घर्ष नै समाधानको एक मात्र विकल्प हो ।
Leave a Reply