भर्खरै :

कार्तिक ७ र ८ गते नेमकिपा जुम्लाको १५ औँ जिल्ला सम्मेलन हुने

कार्तिक ७ र ८ गते नेमकिपा जुम्लाको १५ औँ जिल्ला सम्मेलन हुने

जुम्ला, असोज ४। नेपाल मजदुर किसान पार्टीको १५ औँ जिल्ला सम्मेलन तयारी समिति जुम्लाको आयोजनामा बिहीबार सदरमुकाम खलङ्गामा प्रदेश (क) र नराकोटमा प्रदेश (ख) का कार्यकर्ताहरूको भेला भयो ।
दुवै स्थानमा भएको भेलाले पार्टीको १५ औँ जिल्ला सम्मेलन आगामी कार्तिक ७ र ८ गते जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा सम्पन्न गर्ने निर्णय ग¥यो ।
सम्मेलन भव्यताका साथ सम्पन्न गर्न भेलाले जुम्ला जिल्ला प्रदेश (क) मा पार्टी जिल्ला सदस्य राजेश्वर देवकोटाको संयोजकत्वमा ९ सदस्यीय सम्मेलन सहयोग समिति र प्रदेश (ख) मा नवराज खत्रीको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन सहयोग समिति गठन ग¥यो ।
नराकोटमा सम्पन्न भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पार्टीका कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभयो । प्रशिक्षणमा केन्द्रीय सदस्य काफ्लेले अमेरिकी साम्राज्यवादको हतियार बोकेर इजरायली फासीवादले प्यालेस्टिनी जनतामाथि गरेको अत्यन्त क्रूर तथा बर्बर नरसंहारको कार्यकर्ताहरूले विरोध गर्नु जरुरी रहेको औँल्याउनुभयो ।
खलङ्गामा भएको भेलामा पार्टीका केन्द्रीय सल्लाहकार जयबहादुर शाहीले कर्णालीमा नेपाल मजदुर किसान पार्टीले कम्युनिस्ट आन्दोलनको बीउ छरेको प्रसङ्ग उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनलाई अझ अगाडि बढाउन कार्यकर्ताहरू कठिनभन्दा कठिन कार्यमा पनि एकढिक्का भएर अघि बढ्नु जरुरी रहेको औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी १५ औँ जुम्ला जिल्ला सम्मेलन तयारी समितिका संयोजक पूर्णलाल खत्रीले सम्मेलन भव्यताका साथ सम्पन्न गर्न नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू जनताका घरदैलोमा पुगेर समाजवादी गणतन्त्रको प्रचार अभियानलाई तीव्र पार्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *