कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न
- आश्विन १४, २०८१
भक्तपुर, ४ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा सङ्घको ३४ औँ स्थापना दिवसको अवसरमा ख्वप फुटसलमा नगरव्यापी मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरियो ।
प्रतियोगिताको पुरस्कार तथा समापन वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले खेलकुद भनेको मित्रता, अनुशासन, स्वास्थ्य र सार्वभौमिकताको लागि हुनुपर्ने आवश्यकता औँल्याउँदै खेलकुद प्रतियोगितामा हार–जीतभन्दा मित्रता र अनुशासन महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “कतिपय देशमा घनाबस्तीभित्रका विद्यालय र कलेजमा खेलमैदान पर्याप्त राखिएको हुन्छ । नेपालमा यस्तो बन्दोबस्त गरिएन । खेल मैदान र खेलकुद भवन पर्याप्त भए अस्पताल र स्वास्थ्य केन्द्रहरू थोरै भए पुग्ने अनुभवसिद्ध विषय हो । कतिपय देशमा खेलाडी, कलाकार र साहित्यकार भएर पनि बाँच्न सक्ने अवस्था छ । नेपालमा खेलाडी, कलाकार र साहित्यकारहरूको जीवनबारे सरकारको ध्यान गएको छैन ।”
“खेलाडीहरूले नयाँ पुस्ता तयार गरेरमात्र खेल क्षेत्र छोड्नु आवश्यक छ । सहभागी खेलाडी र विजयी खेलाडीहरूलाई धन्यवाद दिन चाहन्छु”, सचिव सुवालले भन्नुभयो ।
नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा सूनपा अध्यक्ष सूर्यभक्त त्वाती, नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष राजकुमार लघु, युवा सङ्घका रामशरण त्वाती र लक्ष्मी सुवालले पनि बोल्नुभएको थियो ।
टोलीको सहभागिता रहको प्रतियोगितामा नेक्रायुसङ्घ सूनपा ७ नं. वडा पहिलो, ८ नं वडा दोस्रो र वडा नं. ५ तेस्रो भएका थिए ।
फाइनल प्रतियोगितामा वडा नं. ७ ले वडा नं. ८ को टोलीलाई १–२ गोलले पराजित गरेको थियो । विजयी खेलाडीहरूलाई नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिता नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।
Leave a Reply