भर्खरै :

भिन्तुनामा स्वश्रृङ्गार तथा साबुन बनाउने तालिमको समापन

भिन्तुनामा स्वश्रृङ्गार तथा साबुन बनाउने तालिमको समापन

भक्तपुर, ५ असोज । भिन्तुना साकोसको आयोजनामा एकहप्ते स्वश्रृङ्गार तथा एकदिने डल्लो साबुन बनाउने तालिमको समापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी विभिन्न सीपमूलक तथा व्यवसायमूलक तालिम सञ्चालन गर्नु जरूरी रहेको र यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नु आवश्यक छ भन्नुभयो ।
भक्तपुरमा शिक्षा, स्वास्थ्य, सरसफाइमा परिवर्तन आउनुमा नेमकिपाका अग्रजहरूको भूमिका महत्वपूर्ण रहेको हुँदा उहाँहरूलाई कहिल्यै बिर्सन नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भनपाले शिशुस्याहारदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको र नगरपालिकाकै पहलमा ६०० जनाभन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक ऋण प्रदान गरिसकेको बताउनुभयो ।
पूर्वजननिर्वाचित वडाध्यक्ष रवीन्द्र खर्बुजाले मानिसको ज्ञान, सीप वा क्षमता धेरै उपयोगी हुने धारणा राख्नुभयो ।
तालिमलाई व्यवसायमूलक र जीविकोपार्जनको क्षेत्रमा उपयोग गर्न सके तालिमको सार्थकता हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा वडाका अग्रज रत्नकाजी नायोभारी, वडाध्यक्ष हरिप्रसाद बासुकला, संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवाल, प्रशिक्षकद्वय सोमलत्ता वैद्य र गीता केसीले पनि बोल्नुभएको थियो ।
समितिका संयोजक चञ्चल सुवालको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरू सुनिता गाईसी, उमाशोभा सुवाल, केशरी प्रधान र बद्रीलक्ष्मी कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *