भर्खरै :

गणतन्त्रका केही दृश्यहरू

गणतन्त्रका केही दृश्यहरू

पहिलो दृश्य
(मेयर आफ्नो कार्यकक्षमा केही लेखिरहेको हुन्छ । पिउन एउटा कार्ड र एउटा पत्र लिएर मेयरको कोठामा पस्छ ।)
पिउन – (नमस्ते गर्दै) मेयर साहेब, बाहिर एउटा टाइ र सुट लगाएका एक पढेलेखेका एकजना सर र दुईजना उहाँका सहयोगीहरू आउनुभएको छ । (कार्ड र पत्र दिँदै) उहाँले आफ्नो परिचयपत्र र एउटा पत्र दिनुभएको छ ।
मेयर – (चस्मा, टाइ र सुट लगाएका व्यक्तिको परिचयपत्र गम्भीर भएर हेर्छ र पढ्छ) । डाक्टर कृष्णराज शर्मा – राजनीतिक सल्लाहकार । खाम खोली (चिट्ठी हेर्छ र पढ्छ) म दुईजना साथीसँग आएको हुँ। म पहिले अञ्चलाधीश र मन्त्रीलाई सल्लाह दिन्थेँ । देशमा प्रजातन्त्र र गणतन्त्र आएपछि मेयर, प्रदेशका प्रमुखमन्त्री र संसद् सदस्यलाई पनि सल्लाह दिने गर्छु । सल्लाहको हामी कुनै शुल्क वा पारिश्रमिक लिन्नाँै, देशको सेवा हाम्रो मुख्य उद्देश्य हो ।
मेयर – (पिउनतिर) हेरेर उहाँहरूलाई बोलाएर ल्याउनू । (पिउन बाहिर जान्छ ।)
(एकैछिनमा पिउनले डाक्टर कृष्णराज शर्मा र अरू दुईजना सहयोगीलाई पनि सँगै ल्याउँछ ।)
डाक्टर कृष्णराज शर्मा – (मेयरलाई अदवका साथ अभिवादन गर्छ र आफ्ना साथीहरूको परिचय गराउँछ) । उहाँ साथी डाक्टर रमेश उपाध्याय हुनुहुन्छ र उहाँ डाक्टर रामकृष्ण खत्री हुनुहुन्छ । उहाँहरू दुवै राजनीतिक सल्लाहकार र विश्लेषकहरू हुनुहुन्छ ।
मेयर – (तीनैजनासँग पालैपालो हात मिलाउँछ र पिउनलाई चिया ल्याउन इसारा गर्छ ।) तपाईँहरूलाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउँदा खुसी लाग्यो । अब तपाईँहरूको के सल्लाह छ, बताउनुहोला ।
डाक्टर शर्मा – तपाईँको आथित्यले म साह्रै खुसी र उत्साहित भएको छु । सबैभन्दा पहिले मेयर जस्तो गरिमामय पदमा विजयी भएर नगरवासीको सेवा गर्ने अवसर पाउनु भएकोमा म बधाई दिन चाहन्छु ।
मेरो पहिलो सल्लाह हो – हिजोका मेयरले गरेका सबै कामहरूको समीक्षा आवश्यक छ । ती कामहरूबारे नकारात्मक रूपले सोच्नु आवश्यक छ । ती काम र योजनाहरू राम्रा भएका भए देशमा यस्तो अनिश्चितताको स्थिति हुने थिएन ।
पुराना मेयरले भर्ना गरेका सबै सल्लाहकार र कर्मचारीहरूलाई बिदा दिनुपर्दछ र निर्वाचनमा सहयोग गरेका व्यापारी, बुद्धिजीवी र अरू सहयोगीहरूको एउटा सल्लाहकार समिति बनाउनु आवश्यक छ ।
दोस्रो, पहिलेका मेयरले विभिन्न कारणले निकालेका, बिदा दिएका र प्रमोसन नगरेका सबै कर्मचारीहरूलाई पुनः बहाली, फेरि काम गर्न निम्तो दिने र बढुवा गर्नुपर्दछ । तिनीहरू उत्साहित भएर तपाईँको राम्रो सेवा गर्ने छन् ।
मेयर – यदि तिनीहरूमध्ये अयोग्य, काम नगरी खालि झगडा लगाउने खालका र जनतालाई दुःख दिने र भ्रष्ट भए पनि पुनःबहाली गर्ने ?
डाक्टर शर्मा – हेर, मेयर साहेब, हारेको सिपाही बढी होसियार हुन्छ भनेजस्तै पहिले हन्डर खाएका काम चोर, भ्रष्टाचारी, जनविरोधी आदि नराम्रा मानिसहरू बढी होसियारपूर्वक काम गरी आफ्नो योग्यता र कौशल देखाउन लालायित हुन्छन् ।
मेयर – (अलि आश्चर्य हुँदै) अर्को सल्लाह के हो ?
डाक्टर शर्मा – अमेरिकाको राष्ट्रपति फेरेपछि ‘स्प्वाइल सिस्टम’ (माथिल्ला पुराना सबै कर्मचारी हटाउने पश्चिमेली बन्दोबस्त) अनुसार माथिल्ला पदाधिकारीहरूको पदहरूमा आफ्ना मानिस राखेजस्तै मेयर साहेबले आफ्ना मानिसहरू र नातागोता राख्नु उचित हुन्छ ।
मेयर – अनि के पार्टीका साथीहरू राख्नुहुन्न ?
डाक्टर शर्मा – राजनीतिक कार्यकर्ताहरू महत्वाकाङ्क्षी हुन्छन् । तिनीहरू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति आदि ठुल्ठुला पदमा जाने उद्देश्यले नै राजनीतिमा लागेका हुन्छन् । यसकारण, ती राजनीतिक कार्यकर्ताले तपाईँलाई असफल पारी अर्को निर्वाचनमा आफू मेयर हुन खोज्नेछन् ।
मेयर – के अरू देशमा पनि यस्तै हुन्छ ?
डाक्टर शर्मा – हो, मेयरज्यू भनिन्छ, अमेरिकाको उपराष्ट्रपतिका श्रीमतीले सधैँ राष्ट्रपति दुर्घटनामा मरेको, हत्या भएको र कडा कडा रोगले मरेको सपना देख्छन् र राष्ट्रपतिमा आफ्नो श्रीमान् राष्ट्रपति भई आफू देशको प्रथम महिला हुन चाहन्छन् ।
अब म आफ्नो साथी डाक्टर रमेश उपाध्यायलाई आफ्नो सल्लाह प्रस्तुत गर्न अनुरोध गर्छु ।
मेयर – हुन्छ !
डाक्टर रमेश उपाध्याय – मेयरज्यूलाई पहिले बधाई दिन चाहन्छु !
मेयर साहेब, तपाईँजस्तो युवक यस नगरको पिता बन्न पाउनु तपाईँको भाग्य र नगरवासीहरूको गौरवको विषय हो । (आफ्नो टोपी मिलाउँदै) हरेक दिन हाम्रा दिनहरू बदल्छन्, त्यसलाई क्यालेन्डर बदलिन्छ भनेजस्तै हिजोका मेयरले उपयोग गरेका सबै मेच, टेबल, कार्पेट पङ्खा, हिटर र झ्यालका पर्दाहरूसमेत बदल्नु आवश्यक छ ।
पर्दाको रङ्ग र सामानको चहकले पनि मेयरज्यूको काम गर्ने उत्साहमा वृद्धि हुन्छ भने आगन्तुक र पाहुनाहरू तपाईँको व्यक्तित्वले प्रभावित भएर नगरका जनताको काम फत्ते हुन्छ । बरु सामान जोडजाम गर्न र कुन कम्पनीको सामान सस्तो र असल हुन्छ भन्नेबारे हामीलाई अनुभव छ, हामी यहाँसम्म ल्याउने बन्दोबस्त गर्छौँ, बिल पेमेन्ट पछि मात्र गरे पनि हुन्छ ।
ध्यान दिएर सुनिदिनु भएकोमा धन्यवाद ! सहयोगको निम्ति तयार छौँ ।
मेयर – (अर्को व्यक्तितिर इसारा गर्दै) तपाईँको सल्लाह सुन्न चाहन्छु ।
तेस्रो व्यक्ति – मेरो नाम डाक्टर रामकृष्ण खत्री हो । मैले ज्योतिषशास्त्र पनि अध्ययन गरेको हुँदा कुनै सभा–सम्मेलन र राम्रो कामको निम्ति राम्रो मुर्हुत मिलाउनुपर्छ भन्ने विषयमा विश्वास गर्छु । मेयर साहेबको राशिअनुसार खानपान, सुत्ने कोठा आदिको पनि शास्त्रअनुसार मिलाउनु आवश्यक छ । (मेयरको हातका औँलाहरू इङ्गित गर्दै) मेयर साहेबको सुन्दर हातमा आँैठीहरूको कमी देख्छु । तपाईँको जन्म मिति, राशि हेरेर सुनको औँठीमा कुन हीरा वा पत्थर आवश्यक छ, शास्त्रअनुसार गरेमा हरेक काम सफल हुन्छ र शत्रुहरू पनि नाश हुन्छन् ।
(मेयरको मनको कुरो अध्ययन गरेर) आजै समय दिनुभयो भने सो समयमा म ती सबै आँैठी र मालासमेत लिएर आउनेछु र मेयरजीको म्याडमको निम्ति सुनको हारको नमुना पनि लिएर आउनेछु । अचेल सुनमा पनि अनेक रासायनिक वस्तु मिसाउने हुँदा पसलको सामान प्रयोग गर्नुहुन्न र रूप, रंग, उमेर र राशि हेरेर त्यसको पनि बन्दोबस्त हामी गर्छौँ, मूल्यको पिरै नगर्नुहोला ।
महिलाहरूको श्रृङ्गार र पुरुषहरूको प्रयोग गर्ने आँैठीले पनि व्यक्तित्वको चमक बढाउने हुँदा मेयरज्यूको प्रभाव बढ्ने कुरामा म पूर्णरूपले विश्वस्त छु । यसकारण, सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने मलाई पूरा विश्वास छ । धन्यवाद !
मेयर – (तीनैजनालाई पालैपालो हेरेर) तपाईँहरूबाट म त साह्रै प्रभावित भएँ, सल्लाहको निम्ति धन्यवाद ! आवश्यक हुनासाथै म फोन गरेर तपाईँहरूलाई दुःख दिउँला ! धन्यवाद ! (पर्दा खस्छ) ।

दृश्य दुई
(प्रदेशको मुख्यमन्त्री गम्भीर मुद्रामा केही लेख्न बसेका छन् । एक हातमा कलम र अर्को हात निधारमा राख्दै गरेको हुन्छ । डाक्टर शर्मा, डाक्टर रमेश उपाध्याय र डाक्टर रामकृष्ण खत्री भित्र पस्छन् –पिउनसँगै) । तीनै जनाले मुख्यमन्त्रीलाई अभिवादन गर्छन् र तीनैजनालाई अगाडिको मेचमा बस्न इसारा गर्छन् )
डाक्टर शर्मा – समय दिनुभएकोमा धन्यवाद छ – मुख्यमन्त्रीज्यूलाई । यो हाम्रो दोस्रो भेट हो । हामीले अस्तिको छलफलबारे सोच विचार गर्याँै । मैले मुख्यमन्त्रीज्यूको जीवनी लेख्नेबारे एक ‘घोस्ट’ (छाया लेखक) राइटरसँग कुरा गरिसकेको छु ।
मुख्यमन्त्री – उसले मेरो जीवनी लेख्नमा कति पैसा लिने भन्छ ?
डाक्टर शर्मा – धेरै होइन, पहिले घोस्ट राइटर (छाया लेखक) कति जना मिलाउने, कति पृष्ठको पुस्तक लेख्ने आदिबारे तिनीहरूसँग छलफल गर्नु आवश्यक छ । साधारणरूपले लगभग ५ देखि १० लाख रूपैयाँसम्म लाग्ने अनुमान छ । तर, मुख्यमन्त्रीज्यूको जीवनी पछि प्रधानमन्त्री र राष्ट्रपति हुने लक्षणसमेत झल्कने गरी लेख्नु आवश्यक हामीले देख्यौँ ।
त्यसमध्ये एकजना पुरुष र दुईजना महिला घोस्ट (छाया लेखक) राइटर हुनेछन् । म्याडम (श्रीमती) र छोराछोरीको पनि उल्लेख गर्नु उपयुक्त सम्झेको हुँदा खर्च बढ्ने सम्भावना छ – मन्त्रीज्यू । (मुख्यमन्त्रीले डाक्टर रमेश उपाध्यायलाई आफ्नो कुरा राख्न इसारा गर्छ ।)
डाक्टर रमेश – अस्ति मुख्यमन्त्रीसँग भेटेर दुई चार जनासँग छलफल गरेँ । मैले एकजना भर्खर २५ वर्षका युवा भेटँे, उसले अङ्ग्रेजी साहित्यमा एम.ए. गरेका र उसलाई जापानी र कोरियाली भाषाको पनि काम चलाउ ज्ञान छ ।
सेवाको अवसर मिलेमा उनी खुसी हुनेछन् र बडा लायक व्यक्तित्वका छन् ।
अर्को दुईजना विवाह नगरेका महिलासँग पनि कुरा गरेँ । तिनीहरू दुवै राजनीतिशास्त्र र अर्थशास्त्र डबल एम.ए. हुन् । अङ्ग्रेजी भाषामा दुई तीनवटा तालिमको पनि अनुभव छ । अन्तर्राष्ट्रिय कूटनीतिक ज्ञान पनि छ ।
मुख्यमन्त्री – त्यसो भए म तीनैजनासँग भोलि नै भेट गर्छु । तिनीहरूले आफ्नो पारिश्रमिक कति खोज्ने हो, त्यसको बारे केही कुरा भयो ?
डाक्टर रमेश – निजी सचिव भए काम गाह्रो हुन्छ । आफ्ना मानिस, पार्टीका नेता तथा कार्यकर्ता, नाता–गोता र विदेशीहरूसँग पनि समय मिलाएर काम गर्नुपर्ने हुँदा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म काम गर्नुपर्ने र सबैसँगको कुराकानी टिपोेट पनि रेकर्ड राख्नुपर्ने हुँदा सरकारी तलब भन्दा अलि बढी मागेका छन् ।
मुख्यमन्त्री – हुन्छ, त्यसबारे सोच्न सकिन्छ । (डाक्टर राम खत्रीलाई इसारा गर्छन् ।)
डाक्टर खत्री– मुख्यमन्त्रीज्यू, मैले चारजना एक दुई नम्बरका निर्माण व्यवसायी र चारजना प्राविधिक इन्जिनियरहरूसँग कुराकानी गरँे । तिनीहरूले प्रदेशमा सबै निर्माण कार्य तिनीहरूकै कम्पनीलाई दिएमा ठीक समयभित्र काम समाप्त गर्ने र पार्टी र मुख्यमन्त्रीलाई गरी २० प्रतिशत मात्र दिन सक्ने बताए । सामानको पनि मूल्य बढेको र अख्तियारमा पनि धेरै उजुर परिरहेको हुँदा पहिला जस्तो टालटुल गरेर काम गर्दा मन्त्रीको पनि अनावश्यक नकारात्मक चर्चा हुने र कम्पनीको पनि बदनाम हुन्छ ।
मुख्यमन्त्री – अनि हाम्रा सांसदहरूको निर्वाचनमा खर्चउपर गर्ने कुरा कसरी मिलाउने हो, मैले बुझ्नै सकिनँ ।
डाक्टर खत्री – त्यसमा मुख्यमन्त्रीले चिन्तै लिनुपर्दैन, योजनाहरू हाम्रो हातमा दिएको खण्डमा ५० प्रतिशत सांसदहरूलाई पु¥याउँला र काम एक दुई वर्षको निम्ति तरिहाल्छ ।
मुख्यमन्त्री – त्यसोभए सांसदहरूलाई तपाईँहरूसँग मिलाउन भनुँला ! धन्यवाद !
(तीनैजना आफ्नो काम सफल भएकोमा हाँसेर बिदा हुन्छन् र पर्दा खस्छ ।)

दृश्य तीन
(सांसद आफ्नो घरको कोठामा समाचारपत्र हेरिरहेको हुन्छ । तीनै जनाको प्रवेशसँगै अभिवादनको आदानप्रदान हुन्छ ।)
सांसद – तपाईँहरूको विषयमा गृहमन्त्री र सांसदहरूसँग कुरा राखेँ, उहाँहरूले केही बोल्नुभएन, पछि फेरि कुरा गरौँला !
डाक्टर शर्मा – माननीयज्यू, तपाईँ चुनावभन्दा अगाडि मैले केही पद पाइन भनेर निराश भएर बस्दा हामी तपाईंको व्यापारी साथीको घरमा कुराकानी गर्दा सबै मिलेको थियो, तर आज अलि कुरो नमिले जस्तो छ, माननीयज्यू ।
सांसद – मैले त्यसो कहाँ भनेको हुँ र मन्त्रीसँग भेटेर तपाईँहरूको पैरवी गर्दा पार्टीले थाहा पाए मलाई अलि दबाब पर्छ, मेरो बाध्यता बुझिदिनुहोस् ।
डाक्टर शर्मा – माननीयज्यू, तपाईँ पनि पहिले हामीजस्तै व्यापारी हुनुहुन्थ्यो, पार्टीलाई थाहै थिएन । तपाईंको पार्टनरहरूसँग कुरा नमिलेपछि त कुरा बाहिर आयो । तपाईँ कतिको भित्रभित्र काम हुन्छ, हामीलाई थाहै छ नि ! सर्पको खुट्टा सर्पले थाहा पाउँछ भनेको यही हो । हो, तपाईँको पार्टीमा तपाईँबारे कार्यकर्तामा राम्रो छवि बनाउन समय लाग्ने देखिन्छ ।
सांसद – किन ?
डाक्टर शर्मा – अहिले सबै कार्यकर्ता पढेलेखेका छन् । पार्टी नेताहरूले आफ्नो घर परिवार र छोराछोरी मात्र हेरेर बुझिहाल्छन् नि ! कत्तिले मुख फोर्छन् त कत्तिले बोल्दैनन्, धेरै भएपछि विस्फोट हुन्छ ।
सांसद – मैले कुरा बुझिन ।
डाक्टर शर्मा – तपाईँका कार्यकर्ताहरू तपाईँभन्दा चलाख छन्  । अहिलेका कार्यकर्तालाई दबाब दिएमा हाँक दिने खालका छन् । नेतामा आज शेरबहादुर देउवालाई फ्याउफ्याउ पारेका छन्, कार्यकर्तालाई करोडौँ रूपैयाँ बाँड्दा पनि । तपाईँको बोली वचन र व्यवहार देउवाको भन्दा फरक छैन । होस गर्नु होला । भन्छन् – कार्यकर्ता नोकर चाकर होइनन् स्वयम्सेवक हुन्, पार्टी सिद्धान्त पार्टीअनुसार विधानसम्मत काम गर्छन्, कसैको हैकम मान्दिन भन्छन् ।
सांसद – हो, ती को हुन् भन्ने मैले थाहा पाएँ ।
डाक्टर शर्मा – एकजना होइन धेरै छन् जहाँ–जहाँ तपाईँले काम गर्नुभएको छ त्यहाँ त्यहाँ तपाईंको व्यवहारबाट कार्यकर्ता चिढिएका छन् ।
(सांसद मुख अँध्यारो पार्छ र चुप लाग्छ ।)
डाक्टर रमेश – कार्यकर्तालाई आफ्नो पदको धाक देखाएर हप्कीधम्की गर्ने समय गयो माननीयज्यू ! एकजनाको निम्ति सधैँ दुईचार जना पछिपछि लगाउनु राम्रो कार्यशैली होइन । आलोचना सहन नसकेपछि आलोचना गर्न छोड्छन्, आलोचना नगर्नु भनेको पतन सुरु हुनु भनेको हो ।
सांसद – यस्ता कम्युनिस्ट र वामपन्थी कुराहरू कसरी थाहा पाउनुभयो ?
डाक्टर रमेश – हामी व्यापारी हौँ, हाम्रो सिद्धान्त भनेको नाफा हो, अरू हामीलाई थाहा छैन । नाफाबाहेक हाम्रो अरू धर्म हँुदैन । हामीले कुखुरापालनबाट काम सुरु गर्यौं, पछि ठेकेदारी गर्याँै, अनि इँटाभट्टामा पैसा लगानी गर्याँै, आज–भोलि घरजग्गा र पर्यटन उद्योगमा पनि लगानी गर्दै छौँ । हामीले निर्वाचनमा जित्ने पार्टीलाई ७० प्रतिशत पैसा दिन्छौँ भने अरूलाई २० प्रतिशत र साना पार्टीलाई ५ प्रतिशत, २ प्रतिशत र १ प्रतिशत दिन्छौँ । गृहमन्त्री, उद्योगमन्त्री, वाणिज्यमन्त्री भएकालाई हामी बढी दिन्छौँ ।
(सांसद मेरो सङ्गत गलत व्यक्तिहरूसँग भएको अनुभव गर्छ र डाक्टर राम खत्रीलाई बोल्न सङ्केत गर्छ ।)
डाक्टर खत्री – पार्टीको विधान एकातिर छ, काम गर्ने शैली अर्कोतिर छ, मिल्छ कसरी सांसदज्यू ? मेयर, प्रदेश, जनप्रतिनिधि र सांसद पार्टीको आदेश निर्देशनमा बस्नुपर्नेमा निर्वाचितहरूबाट पार्टी र स्वयम्सेवक कार्यकर्ताहरूलाई बाँड्न खोजेमा बग्गीको पछाडि घोडा हुनेछ, समयमै विचार गर्नु राम्रो !
सांसद – तपाईँहरू आज खुब राजनीतिक कुरा गर्दै हुनुहुन्छ, मलाई अचम्म लागेको छ ।
डाक्टर खत्री – म पहिले पञ्च थिएँ, पञ्चायत ढलेपछि ५–१० लाख रूपैयाँ चन्दा दिएर म काङ्ग्रेस भएँ, काङ्ग्रेस हारेपछि म प्रधानमन्त्रीको कम्युनिस्ट पार्टीमा लागेँ । मेरा साथीहरूलाई अन्य साना राजनीतिक दलहरूमा पनि पठाएको छु ।
महत्वाकाङ्क्षी, पदलोलुप र ‘नयाँ लुगा लगाउने सम्राटहरू’ हामीले चिनेका छौँ, हाम्रै पैसा खाएर हाम्रै खोइरो खनेमा हामीले त्यसको जवाफ दिन जानेका छौँ ।
सांसद(झस्केर अलमल पर्दै ।) ला,ै आज मेरो स्वास्थ्य ठीक छैन, पछि कुरा गरौँला ! बिदा !
(पर्दा खस्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *