भर्खरै :

श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार

श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार

कोलम्बो, ८ असोज (एएफपी) । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् ।
सोमबार मुलुकको पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा सपथ लिनुभएका अनुरा कुमारा दिसानायकेले अलोकप्रिय कटौती उपायहरू ल्याएको उक्त सम्झौताबारे पुनः वार्ता गर्न चाहेको बताउनुभएको थियो ।
“श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकेसँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले उद्धार कार्यक्रमको आवधिक समीक्षालाई सन्दर्भ गर्दै सोमबार भने, “हामी नयाँ सरकारसँग आइएमएफ–समर्थित कार्यक्रमको तेस्रो समीक्षाको समयबारे सकेसम्म चाँडै छलफल गर्नेछौँ ।”
निर्वाचनको एक दिनपछि नयाँ राष्ट्रपतिका वरिष्ठ सहयोगी विमल रत्नायकेले आफ्नो पिपुल्स लिबरेसन फ्रन्ट पार्टीले सम्झौतालाई ‘नच्यात्ने’ बताउनुभयो । “हामी आइएमएफ कार्यक्रमलाई च्यात्दैनौँ, यो बाध्यकारी दस्तावेज हो तर पुनः वार्ता गर्ने प्रावधान छ”, उहाँले भन्नुभयो ।
दिसानायकेले पदभार ग्रहण गर्नुभएको दिन सोमबार श्रीलङ्काको सानो सेयरमा बजार कारोबारको पहिलो केही मिनेटमै तीव्र गिरावट आयो तर चाँडै यसमा सुधार भयो र दिनको अन्त्यमा मुख्य सबै सेयर सूचकाङ्क एक दशमलव १९ प्रतिशतले बढ्यो ।
दिसानायकेले आफ्ना पूर्ववर्ती रनिल विक्रमासिङ्घेले दोब्बर बनाउनुभएको आयकरलाई घटाउने र खाद्यान्न तथा औषधि बिक्री कर पनि कटौती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रत्नायकेले भन्नुभयो, “हामी ती कटौतीहरूलाई कार्यक्रममा समावेश गर्न र चार वर्षे उद्धार कार्यक्रमलाई निरन्तरता दिन सक्छौँ भन्ने हामीलाई लागेको छ ।”
दिसानायकाका प्रतिद्वन्द्वीहरूले उहाँको माक्र्सवादी पार्टीले आइएमएफ कार्यक्रमलाई रद्द गर्ने र मुलुकलाई सन् २०२२ को अराजकताजस्तै आर्थिक सङ्कटमा धकेल्ने आशङ्का व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *