भर्खरै :

युवा भेला सम्पन्न

युवा भेला सम्पन्न

सुर्खेत, १३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको आयोजनामा नेपाल क्रान्तिकारी युवा सङ्घको जिल्ला भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले दलाल शासक पार्टीहरूले देशमा निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको उचित बन्दोबस्त नगर्दा करिब ८० लाख युवाहरू रोजगारीको लागि बिदेसिन बाध्य भएका छन् भने यता दलाल शासकहरू विदेशीहरूको इसारामा देशघाती सन्धि सम्झौता गर्ने, नीतिगत भ्रष्टाचार गर्ने तथा दलाल र भ्रष्टाचारीहरूलाई ऐनकानुन बनाएरै बचाउनेजस्ता जनविरोधी काम गर्दै छन् भन्नुभयो ।
उहाँले देशभक्त युवाहरू सचेत र सङ्गठित भएर देशघाती, भ्रष्ट शासक र दलाल पुँजीवादी व्यवस्थाको विरुद्धमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हरिबहादुर बोहोराले भेला सफलताको शुभकामना व्यक्त गर्दै युवा पार्टीको मेरुदण्ड भएकोले जुझारु नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले नेपाल क्रान्तिकारी युवा सङ्घको स्थापना र उद्देश्यबारे बताउँदै इजरायलले प्यालेस्टिनमाथि गरेको बरबरतापूर्ण आक्रमण र नरसंहारको निन्दा गर्दै भेला सफलताको कामना गर्नुभयो ।
कार्यक्रम आयोजक समितिका संयोजक गोविन्दनाथ योगीको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकल राना, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला राना, खेमराज कँडेल र टीकाराम कँडेलले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाबाट खेमराज कँडेलको संयोजकत्वमा ६ सदस्यीय दोस्रो जिल्ला सम्मेलन तयारी समिति गठन भयो । नवगठित समितिलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङ, नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोरा, नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, पूर्वकेन्द्रीय सदस्य पूर्णबहादुर शाही र नेक्रायुसङ्घ सुर्खेतका निवर्तमान संयोजक गोविन्दनाथ योगीसमेतले बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको थियो । नवगठित समितिका संयोजक खेमराज कँडेलले आफ्नो जिम्मेवारी सङ्गठनको विधान तथा पार्टी र माथिल्लो समितिको निर्देशनमा रही इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *