भर्खरै :

तःमुंज्याको आवाज : जनताको आवाज

तःमुंज्याको आवाज : जनताको आवाज

यस वर्षको ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या असोज २८ र २९ गते दुई दिन भक्तपुर नगरको पूर्वी भेग कमलविनायकस्थित लाँम्हुगः मा हुन गइरहेको छ । विभिन्न जातजाति र भाषाभाषी भएको सुन्दर देश नेपालको यो आफ्नै विशेषता हो । ती विविध जातजाति, भाषाभाषी र त्यसअनुरूपको संस्कृति र संस्कार जोगाउने काम जनताले नै गर्छन् । ती संस्कृति र संस्कारका कुरा जनताले प्रयोगमा ल्याउञ्जेल बच्ने हो । त्यसलाई उपयोग वा प्रयोग गर्न छोडेपछि अन्त्य हुने हो ।
आज देशमा विभिन्न जनजातिको भाषा लोप हुँदै छ । जाति छ तर भाषा छैन । जापानले आफ्नो देशमा सबै नागरिकलाई बोल्ने र लेख्ने भाषा जापानी भाषा नै बनाएको छ । मास्टर जगतसुन्दर मल्लले नागरिकहरूलाई आफ्नो मातृभाषाले पढाउँदा, सिकाउँदा सजिलैसित सिक्छ भनेजस्तै जापान सरकारले पढ्ने सामग्री, साइनबोर्ड आदि जापानी भाषामा नै लेखिएको जापान जाने नेपालीहरू बताउँछन् । नेपालभाषा साहित्य तःमुंज्याले ‘जनता म्वासा भाषा म्वाइ’ अर्थात् जनताले बोले मात्र आफ्नो भाषा बाँच्छ या रहन्छ भन्ने सन्देशको विगुल फुक्दै जनतालाई सचेत पार्दै आएको छ ।
तःमुंज्याले हरेक वर्ष जनताको साथ, सहयोग र समर्थनमा जनतालाई देश जोगाउन, देशको विकास गर्न राजनैतिक, कूटनैतिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, सामाजिक, शैक्षिक, प्राविधिक र वर्गीयरूपमा गीत सङ्गीत, प्रवचन, मन्तव्य, साहित्य, नाटक, नृत्य आदिमार्फत सचेत र सङ्गठित पार्दै आएको सबैलाई थाहा भएकै हो । राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा स्वतन्त्रता र मुक्तिका लागि लडिरहेका देश र जनतालाई तःमुंज्याले साथ दिइरहेको छ । साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवादको विरोधमा, भ्रष्टाचार, शोषक, सामन्त, जमिनदारविरुद्ध सङ्घर्ष गरिरहेको जनताको पक्षमा साथ, सहयोग र समर्थनमा पनि विगुल फुकिरहेको छ । यसपालिको तःमुंज्याको आयोजक समितिको गीतले पनि त्यस्तै सन्देश बाँड्दै छ ।
यसपालिको तःमुंज्याको ‘थुगुसिया सः’ अर्थात् यस वर्षको आवाजको गीतले हाम्रो देश र विश्वका शोषित पीडित जनतालाई मुट्ठी कसेर सङ्घर्ष गर्न आह्वान गर्दै छ । राजेश हाडाको लय, रवि हाडा, लक्ष्मण पलिखेललगायतका स्वरमा गीत गाइनेछ ।
तःमुंज्याको ‘थुगुसिया सः’ अर्थात् यस वर्षको आवाजमा प्रस्तुत गरिएको छ :
ज्यापु ज्यामिया हिंप्याःगु देय् थ्व म्वाकः तये,
नेपःया ध्वाँय् फरफर झीसं ब्वय्कः तये ।
गीतमा कामदार मजदुर किसानको रगतले कोरिएको, पसिनाले भिजेको देशलाई हामी बचाइराख्छौँ, चन्द्र सूर्य अङ्कित नेपालको रातो झण्डा हामी फरफराइरहन्छौँ भन्ने भाव पस्केको पाइन्छ ।
विगतमा दलका केही नेताहरूले देशभक्त वीर नेपाली मजदुर किसानको रगतले कोरिएको देशको नाम र झण्डा फेर्ने कुरा उठाएका थिए । तत्काल तःमुंज्याको दबलीबाट त्यसको चर्काे विरोध भएको थियो । विदेशीबाट पालित, पोषित, परिचालित देशघाती, तत्वहरूलाई त्यस्तो काम नगर्न खबरदारी गरिएको थियो । त्यसपछि उनीहरू पछि हट्न बाध्य भएका थिए । तःमुंज्याको मञ्चमा बुद्धिजीवी, सीमाविद् भनिएका केही वक्ताले नेपाललाई भारतले बङ्गलादेशसम्म पुग्न वा बङ्गलाको खाडीसम्म पुग्न भारतले बाटो या भूमि दिन तयार भएमा नेपालले पनि नेपालकै कालापानी, लिपुलेक, लिम्पियाधुराको भूमि साटासाट गर्न तयार हुनुपर्ने कुरा राख्दा यहीँ तःमुंज्याको मञ्चले वीर देशभक्त नेपाली जनताको रगतले कोरिएको सीमाना, देशको भूमि छोड्न र साट्न नहुने आवाज उठाएको थियो । कसैको प्रभाव र दबाबमा देशको भूमि छोड्ने या साटासाट गर्नु हुँदैन । रगतले कोरिएको भूमि जोगाइराख्नुपर्छ । त्यसरी नै हाम्रा वीर पुर्खाले बनाएको विशिष्ट र ऐतिहासिक रातो चन्द्रसूर्य अङ्कित झण्डालाई हामी सधैँ बोकेर फरफराइ राख्छौँ भन्ने भाव गीतमार्फत व्यक्त भएको छ ।
हाम्रा वीर पुर्खाहरूले जोगाइराखेको स्वाधीन देशमा यहाँकै नेपाली लेण्डुप डोर्जेहरूलाई हातमा लिएर साम्राज्यवादी, विस्तारवादी देशहरू विभिन्न सहयोग, विकास र प्रजातन्त्रको नाममा ७०/८० स्थानमा नेपाली भूमि मिच्दै छन् । जलस्रोतलगायत नेपालको प्राकृतिक सम्पदा लुट्दै छ । एमसीसी, एसपीपी, एनजीओ, आइएनजीओको माध्यमबाट देशमा अस्थिरता, जातीय, क्षेत्रीय, लैङ्गिक, धार्मिक आदि द्वन्द्व गराउने कोसिस हुँदै छ । भारतीय सेना, अमेरिकी सेना देशमा पसेर ताण्डव नृत्य देखाउँदा पनि शासक दलका नेताहरू मूकदर्शक छन् । देशभक्त नेपाली जनता त्यस्तो विदेशी सेना पसेको, परेड खेलेको हेरिरहन सक्दैनन् । देशको सार्वभौमिकता, स्वाधीनतामाथि भएको हस्तक्षेप, आक्रमणको आवाज उठाइरहन्छौँ । त्यसको विरोधमा औँला तेस्र्याइरहन्छौँ । देशघाती महाकाली सन्धि, एमसीसीको विरोधमा, भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोधमा जुलुस भएको थियो ।
२०४६ साल फागुन ८ गते राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मल शाक्य, हरिकृष्ण भुजुजस्ता भक्तपुरका वीर सहिदहरूले डमडम गोली छातीमा थापेर देशमा पञ्चायती व्यवस्थाको अन्त्य गरेर प्रजातन्त्र ल्याएका थिए । गीतमा भनिएको छ ।
नेपः मांया छाती न्हुइकः स्वय गथे च्वने ?
धौ फिङः झीगु म्हुतुई सुंक गथे च्वने ?
व फय् मधसिं सः झीसं थ्वय्क च्वने
छगु दतले पंगः झीसं चिइकः चिइकः वाने ।।
अन्तर्राष्ट्रवादी भावना र वर्गीय मुक्तिका लागि सधैँ सङ्घर्ष गरिरहने भाव पस्किएको अर्काे गीतका हरफहरू छन् :
थ्वयच्वंगु दः विश्वङांक मुक्तिया सः
झीसं नं छाय् मथ्वय्के स्वतन्त्रताया सः,
जात धर्मया ल्वापुई तःक्यने मखु गुबलें,
वर्गसङ्घर्षया लाँपुई न्ह्यङच्वने न्ह्याबलें ।।
साम्राज्यवादी, विस्तारवादी देश र शासकहरूबाट भएको हस्तक्षेप र आक्रमणबाट पीडित एसिया, अफ्रिका, युरोप, ल्याटिन अमेरिकी सङ्घर्षशील जनता देशलाई स्वतन्त्र बनाउन लड्दै छन् । ती पीडित जनताको सङ्घर्षमा पनि तःमुंज्याले समर्थन, साथ र सहयोगको आवाज उठाइरहेको छ ।
यहुदीहरूले अमेरिकालगायतका साम्राज्यवादी, पुँजीवादी देशहरूको शासकहरूको उक्साहट सहयोगमा बम प्रहार गरेर ४० हजारभन्दा बढी प्यालेस्टिनी जनताको जातीय नरसंहार गरेका, ज्यान जोगाउन लाखाँै प्यालेस्टिनी जनता छिमेकी देशहरूमा घर छोडेर भाग्न विवस पारेका, अस्पताल, विद्यालय, कलेज, विश्वविद्यालयमा बम प्रहार गरेर ध्वस्त पारेको दर्दनाक, हृदयविदारक दृश्य विश्वका जनताले हेरिरहेका छन् । पीडित प्यालेस्टिनी जनताले फासीवादी इजरायली शासक, अमेरिकी साम्राज्यवादको विरोधमा औँला उठाइरहेका छन् । तःमुंज्याले किसान, मजदुरलगायत सबै क्षेत्रका कामदार जनतालाई सचेत र सङ्गठित पारेर देशमा नयाँ युग ल्याउन या क्रान्ति गर्न, हँसिया, हठौडा अङ्कित रातो झन्डा सधैँ फरफराइरहने आवाज उठाइरहेको छ । अर्काे गीतको अंश यसप्रकार छ :
स्वतन्त्र प्यालेस्टिनया सः झीसं थ्वय्क च्वने,
अन्तर्राष्ट्रवादी जुयो झीसं थाना क्यने
न्हुगु युग हयेता झी न्ह्याबलें छधि जुये,
इँचा मगचा दःगु ध्वाँय् झीसं ब्वय्क तये ।।
तःमुंज्याको आवाजमा गीत रच्ने रचनाकार विष्णुगोपाल कुसीलाई साधुवाद ! यस रचनालाई गीत गाएर आवाज दिन मेहनत गर्ने राजेश हाडा, रवि हाडा, लक्ष्मण पलिखेललगायत सबैलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *