भर्खरै :

भक्तपुरको भेलुखेलस्थित तरकारी बजारमा सरसफाइ

भक्तपुरको भेलुखेलस्थित तरकारी बजारमा सरसफाइ

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपा वडा नं. ५ भेलुखेलस्थित तरकारी बजारमा मङ्गलबार सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र त्यहाँ अवस्थित विद्यालयका शिक्षक तथा विद्यार्थीका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त सरसफाइमा तरकारी बजारसँगै रहेको चउरमा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै नगरका पीठहरूमा सरसफाइका कार्यक्रम सुरु भएको बताउँदै सरसफाइ मानव सभ्यताको पनि सभ्यता पनि भएको बताउनुभयो ।
नगर सफा र स्वच्छ भएमात्र त्यहाँ बसोबास गर्ने नागरिकहरूको पहिचान कायम हुने बताउँदै प्रमुख प्रजापतिले नागरिकहरूलाई सरसफाइप्रति जागरुक बनाउने उद्देश्यले भक्तपुर नपाले पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सरसफाइ अभियानमा संलग्न सबैमा धन्यवादज्ञापन गर्दै नयाँ पुस्तालाई नगरको सरसफाइ र विकासमा सहभागी गर्ने लक्ष्यका साथ नपाले विविध गतिविधि सञ्चालन गर्दै आइरहेको बताउनुभयो । नगरवासीको साथ र सहयोगले भक्तपुरले आजको गौरवपूर्ण इतिहास हासिल गरेको बताउँदै उहाँले भनपाका हरेक काममा यहाँका जनताको साथ र सहयोग रहँदै जाने अपेक्षा राख्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाको आयोजनामा असोज १६ गतेबाट कृषि मेला आयोजना हुने अवगत गराउँदै उक्त मेलामा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडा सदस्य मन्जुमैँया लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *