भर्खरै :

समाजवादी समाज निर्माणमा शिक्षकको देन महत्वपूर्ण हुने

शिक्षकहरू समाजका सचेतकमात्र होइनन्, सत्मार्ग देखाउने अग्रजहरू पनि हुन् । विद्यार्थीलाई अनुशासित, देशभक्त, अध्ययनशील, मेहनती, देश र जनताप्रति समर्पित बनाउने र पठन संस्कृतिको विकास गर्ने काममा शिक्षकहरूको ठुलो भूमिका हुन्छ । समाज परिवर्तनमा शिक्षकहरूको उल्लेख्य भूमिका हुन्छ । हुन पनि शिक्षकहरू नदेखिने क्रान्तिकारी हुन् । उनीहरू स्कूल र कलेजमा मात्र होइन, समाजमा पनि भिजेका हुन्छन् या परिचित हुन्छन् । ज्ञान दिने, अर्ती दिने, उपदेशमूलक सन्देश बाँड्ने काममा शिक्षकहरू सक्रिय हुन्छन् या सक्रियतासाथ लाग्नुपर्ने हुन्छ । समाजमा चेतनाको बत्ती बाल्ने, अन्धविश्वास, कुरीति हटाउने काममा शिक्षकले धेरै सघाएका हुन्छन् । यस अर्थमा शिक्षक सम्मानित पेसा हो; शिक्षक देशको लागि आवश्यक जनशक्ति तयार गर्ने महत्वपूर्ण पेसा हो । सन्दर्भ आज विश्व शिक्षक दिवस हो ।
शिक्षकहरू सक्रिय भएमा, समाजमा निरन्तर खटिरहेमा देशमा आमूल परिवर्तनको बाटो खुल्छ या पूर्वाधारहरू तयार हुन्छ । हरेक सचेत नागरिकले आमूल परिवर्तन या बहुसङ्ख्यक देश र जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्छ । शिक्षकहरू परिवर्तनकामी, सचेत वर्ग हुने भएकाले घुस, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितताको विरोध गर्छन् या खबरदारी गर्छन् । युवा, विद्यार्थी, महिला, कर्मचारी तथा सर्वसाधारण जनतालाई जागरुक बनाउने, स्वच्छ छविको बनाउने काममा शिक्षकहरू जुटेका हुन्छन् । देशमा जनताको समस्या समाधान गर्न, जनताको समस्या सरकारसमक्ष पु¥याउनेमा पनि शिक्षकहरूको महत्वपूर्ण भूमिका हुन्छ । जनतालाई जागरुक, उत्प्रेरित बनाउने, जनतामाझ भिजेर जनताको दुःख सुख बुझ्ने काममा राजनीतिक कार्यकर्ता र सामाजिक अगुवामात्र होइन शिक्षकहरू पनि अगाडि रहेका हुन्छन्् । यसरी देशको लागि आवश्यक जनशक्ति तयार गर्ने शिक्षकहरूले दसैँको पूर्वसन्ध्यामा पनि पारिश्रमिक पाएका छैनन् । साउनदेखि असोजसम्म पारिश्रमिक नपाएका शिक्षकहरूको दैनिकी जीवन चलाउन समस्या परेको देखिन्छ । शिक्षण पेसाको भरमा बाँचेका शिक्षकहरूको समयमा पारिश्रमिक नपाउँदा जीवन कष्टकर हुनु स्वाभाविक हो । कति शिक्षकहरू पारिश्रमिक नपाए पनि दसैँ मनाउन घर फर्केका छन् । सरकारले समयमा स्थानीय तहमा पर्याप्त बजेट या तलब नपठाउँदा शिक्षकहरू चिन्तित छन् र शिक्षक र शिक्षक परिवारका सदस्यहरू घर खर्च गर्न नपाएर आक्रोशित छन् ।
देशका प्रत्येक नागरिकलाई नैतिकवान, देशप्रेमी र बौद्धिक तथा शारीरिक रूपबाट विकास गर्न समाजवादी चेतना र संस्कृतिको विकास गर्नु जरुरी छ । कम्युनिस्ट पार्टीमा आबद्ध राजनीतिक कार्यकर्ता र शिक्षकहरूले त माक्र्सवाद–लेनिनवादका मूल सिद्धान्तलाई पथप्रदर्शकको रूपमा उपयोग गर्ने शिक्षा नीतिबारे जनतामा सुसूचित पार्नुपर्छ । माक्र्सवादलाई वास्तविकरूपमा बुझ्न किताबबाट मात्र सिक्नैपर्छ भन्ने होइन । खासगरी वर्गसङ्घर्ष, व्यावहारिक कार्य र मजदुर किसान समूहसितको घनिष्ठ सम्पर्कबाट पनि सिक्नुपर्छ; सिक्न अध्ययन गर्ने विषय त छुट्टै पाटो छ । पढ्नु सिक्नु हो; प्रयोग गर्नु पनि सिक्नु नै हो ।
क्रान्तिकारी संस्कृति बहुसङ्ख्यक जनताको निम्ति शक्तिशाली हतियार हो । यसले क्रान्ति हुनुभन्दा अघि विचारधारात्मकरूपले भूमिका तयार गर्छ । विशेष वर्गहरूको अधीनमा रहेका सबै संस्कृति, साहित्य र कला बहुमत जनताको पक्षमा केन्द्रित बनाइनुपर्छ । हाम्रा सबै साहित्य र कला जनसमुदायको निम्ति हुनुपर्छ । समाजवादी समाज निर्माण गर्नको लागि देशका मजदुर किसानलाई मात्र होइन, युवा, विद्यार्थी, कर्मचारी, बुद्धिजीवी, शिक्षक, विभिन्न पेसामा आबद्ध व्यक्तिहरूलाई पनि सुसूचित पार्नुपर्छ । यस कार्यमा शिक्षकहरू नै अग्रसर हुनुपर्छ; शिक्षकहरू नै जुट्नुपर्छ । शिक्षकहरू निष्क्रिय हुनुको अर्थ जनता पछि पर्नु हो; समाज पछि पर्नु हो । समाज पछि परेपछि देश विकासमा पछि पर्छ । देश विकास पछि परेपछि सरकारले गर्नुपर्ने सेवा, सुविधा पनि पछाडि पर्छ । यतातर्फ सरकार या शासकहरू गम्भीर हुनुपर्छ† देश र जनताप्रति समर्पित भएर अघि बढ्नुपर्छ । भागबन्डा र सत्तामुखी राजनीतिले देश विकास हुँदैन; भइरहेको छैन । शासकहरूले लक्ष्यसहित भावी दिशा कोर्नुपर्छ† कोरेर अघि बढेमा लक्ष्यमा पुग्छ र देश र जनताको हित हुन्छ । अतः सरकार आफै संवेदनशील हुनुपर्छ; संवेदनशील भएर जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *