भर्खरै :

पुँजीवाद हिंसाको सबैभन्दा ठुलो स्रोत

पुँजीवाद हिंसाको सबैभन्दा ठुलो स्रोत

वर्तमान क्षणले फेरि एकपटक के स्पष्ट सङ्केत गर्छ भने ‘शीतयुद्ध’ को समयमा पश्चिमी आक्रामकता समाजवादलाई पराजित गर्नसक्ने अवस्थामा कहिल्यै थिएन । शीतयुद्ध वास्तवमा आर्थिक सार्वभौमसत्ता खोज्ने देश, आन्दोलन र सरकारहरूलाई परास्त गर्नेमा केन्द्रित थियो । किन ? किनभने, सीमान्तमा रहेका देशहरूको आर्थिक सार्वभौमसत्ताले मुख्यतया पुँजी सञ्चयलाई खतरामा पार्छ ।
नयाँ शीतयुद्ध आज पनि पश्चिमी आक्रामकताको मुख्य उद्देश्य हो र यो विश्व प्रणालीमा हिंसा, युद्ध र अस्थिरताको एकमात्र ठुलो स्रोत हो ।
‘शीतयुद्ध’ को समयमा विश्वभरि समाजवादी आन्दोलनहरू पछाडि जानुको कारण पश्चिमी शक्तिहरूको ठुलाठुला षड्यन्त्र थिए । किनभने, उनीहरूलाई थाहा थियो कि समाजवादले विकासशील र विकासोन्मुख देशहरूलाई उनीहरूको आफ्नै उत्पादन क्षमतामा नियन्त्रण गर्न सक्षम बनाउँछ । तिनीहरूको श्रम र स्रोत, कारखाना तथा तिनीहरूलाई स्थानीय आवश्यकता र राष्ट्रिय विकासमा सङ्गठित गर्छ ।
विश्वका विकासशील र विकासोन्मुख देशका मानिसहरूले आफ्नै लागि उत्पादन गर्न र उपभोग गर्न थाल्छन्, यसको अर्थ ती स्रोतहरू सेवा उपभोग र केन्द्रमा सञ्चित गर्न सस्तोमा उपलब्ध हुँदैनन् । यसरी पश्चिमी पुँजीवाद सधैँभर परेको साम्राज्यवादी व्यवस्थालाई बाधा पु¥याउँछ; सस्तो श्रम, सस्तो स्रोत, उत्पादक क्षमतामाथि नियन्त्रण र सित्तैको बजार गुमाउँछ । स्मरणरहोस्, यथार्थमा हुने सम्पूर्ण सामग्री उपभोगको लगभग ५० प्रतिशत लागत विश्वव्यापी विकासशील र विकासोन्मुख देशबाट खुद भुक्तानी हुने गर्छ । पश्चिमा राष्ट्रहरू यही नाफालाई रक्षा गर्न खोजिरहेका छन् ।
विश्वमा आर्थिक सार्वभौमसत्ताको पछि लागेका देशहरू समाजवादी सरकारहरू मात्र थिएनन् । राजनीतिक उपनिवेशीकरणपछि, अल्पविकसित र विकासशील देशका आन्दोलन र राज्यहरूको एक विस्तृत श्रृङ्खलाले आर्थिक मुक्ति र सार्वभौम औद्योगिक विकास पनि खोज्यो । पश्चिमी शक्तिहरूले समान क्रूरताका साथ उनीहरूमाथि आक्रमण गरे । इन्डोनेसिया, इरान, ब्राजिल, भेनेजुयला, ग्वाटेमाला, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, घाना आदि त्यस्ता आक्रमणका पीडित देशहरू हुन् ।
विगतमा पश्चिमी शक्तिहरूले दक्षिण अफ्रिकामा रङ्गभेदी शासनलाई समर्थन गरे । त्यस्तै आज तिनीहरू यहुदी बसोबास– पश्चिमी औपनिवेशिक चौकीहरूको रूपमा इजरायली शासनलाई समर्थन गर्छन् । इजरायललाई प्यालेस्टिनी जनताविरूद्ध मात्र होइन समाजवाद वा वास्तविकताको कुनै पनि रूप खोज्ने क्षेत्रीय आन्दोलनहरूलाई आक्रमण गर्न र अस्थिर प्रयोग गर्न चाहन्छन् । चाहे ती आन्दोलन आर्थिक सार्वभौमसत्ता चाहने अङ्गोला वा मोजाम्बिक वा जिम्बाब्वे वा उत्तर अफ्रिका र मध्य पूर्वमा कुनै पनि अरब राष्ट्रवादी वा समाजवादी आन्दोलन नै किन नहोस् ।
इरान यस कथाको केन्द्रबिन्दु रहेको छ । पश्चिमी राज्यहरूले १९५३ मा अत्यन्त लोकप्रिय प्रधानमन्त्री मोहम्मद मोसादेघको विरूद्धमा एउटा सत्ता विप्लव (कू) को आयोजना गरे । उहाँ इरानका वामपन्थी झुकाव राख्ने राष्ट्रवादी नेता हुनुहुन्थ्यो, समाजवादी होइन । तर उहाँ चाहनुहुन्थ्यो कि इरानले आफ्नै स्रोतहरू (विशेषगरी, तेल) मा नियन्त्रण गरोस्, जुन संरा अमेरिका र बेलायतका लागि यो अस्वीकार्य थियो । मोसादेघको स्थानमा पश्चिमी समर्थित रेजा शाह पेहल्वीको तानाशाह स्थापित गरिएको थियो । सन् १९७९ मा शाह तानाशाहीलाई अन्त्य गर्ने र इस्लामिक सरकार गठन गर्ने क्रान्ति वामपन्थी झुकाव पनि थिएन, समाजवादी पनि थिएन । बरू इरानका इस्लामिक क्रान्तिका पक्षधरहरू राष्ट्रिय आर्थिक आत्मनिर्णय चाहन्छन् र पश्चिमाहरूको दृष्टिमा त्यो नै पर्याप्त अपराध हो । इराक र लिबिया जसरी लक्षित गरिएका थिए, त्यसरी नै आज तिनीहरू इरानमाथि लक्षित गर्दै छन् ।
चीनको हकमा पनि त्यस्तै नियम हुन्छ । सार्वभौम औद्योगिकीकरणतर्फ चीनको बाटो – चाहे समाजवादी होस् वा नहोस् – यसको मतलब यो अब पश्चिमी पुँजीका लागि सस्तो श्रमको सजिलो स्रोत रहेन । आपूर्ति मूल्य बढ्दै जाँदा पश्चिमी राज्य र मिडियाहरूबाट पनि चीनविरूद्ध आक्रमक हुँदै गएका छन् ।
त्यसोभए हामी यो कस्तो अवस्थामा छौँ ? पश्चिमी शासकवर्गले अत्यधिक अन्तर्राष्ट्रिय निन्दाको विरूद्धमा गाजामा जघन्य हिंसा र आम नरसंहारलाई समर्थन गरिरहेका छन्, किनभने तिनीहरू कुनै पनि मूल्यमा आफ्नो क्षेत्रीय चौकीलाई कायम राख्न चाहन्छन् ।
विश्वको ठुलो बहुमतले प्यालेस्टिनको स्वतन्त्रतालाई समर्थन गर्दछ तर प्यालेस्टिनको स्वतन्त्रताले इजरायली शक्तिलाई बाधा पु¥याउँछ र क्षेत्रीय मुक्ति आन्दोलनहरूको लागि बाटो खोल्छ । यो पश्चिमा पुँजीको हितको कडा विरोधाभासपूर्ण छ । अब तिनीहरू इरानसँग युद्ध भड्काइरहेका छन्, क्षेत्रीय द्वन्द्वको जोखिममा छन्, जबकि एकै समयमा चीनलाई सैन्य अड्डाहरू घेर्दै, क्युवामा प्रतिबन्धहरू बढाउँदै, ल्याटिन अमेरिकामा प्रगतिशील सरकारहरूलाई नियन्त्रण गर्ने प्रयास गर्दै अफ्रिकाको साहेल क्षेत्रका देशहरूमा आक्रमणको धम्की दिइरहेका छन् ।
यस्ता धम्की असहनीय छ र यो जारी रहन सक्दैन । पश्चिमाहरूले गर्ने हिंसा, अस्थिरता, स्वतन्त्रता र आत्मनिर्णयको लागि चाहने विश्वव्यापी दक्षिणका जनता र आन्दोलनहरूको लामो ऐतिहासिक जुलुसविरूद्धको निरन्तर युद्ध संसारमा डरलाग्दो दुःस्वप्नमा तानिएको छ । तिनीहरू पुँजी सञ्चयको विद्यमान गतिशीलता जोगाउन करोडौँ मानिसहरूलाई ठुलो कष्ट र पीडा दिन इच्छुक छन् ।
जबसम्म यो व्यवस्थालाई हटाएर पुँजीवादपछिको व्यवस्थामा रूपान्तरण हुँदैन, तबसम्म हामीले शान्ति पाउने छैनौँ ।
(डा. जेसन हिकल एक मानवशास्त्री, लेखक र रोयल सोसाइटी अफ आर्टसका प्राध्यापक हुनुहुन्छ । उहाँले लन्डन स्कूल अफ इकोनोमिक्स, भर्जिनिया विश्वविद्यालय र गोल्डस्मिथ्स, लन्डन विश्वविद्यालयमा पढाउनुभएको छ । हालै उहाँले तेस्रो विश्व त्रैमासिकको अन्तर्राष्ट्रिय सम्पादकीय सल्लाहकार बोर्डमा सामेल हुनुभएको छ ।)

एमआर अनलाइनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *