झूटको खेतीले उद्देश्य पूरा नहुने
- कार्तिक २२, २०८१
भक्तपुर, १९ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा शनिबार संस्थाकै प्राङ्गणमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाहरू ध्वस्त हुनुमा सरकार नै दोषी भएको बताउनुभयो ।
सहकारी संस्थालाई सरकारले व्यापारिक संस्था बनाउन खोजेको बताउँदै उहाँले सहकारीहरूले सामाजिक दायित्व बहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर आदर निकेतन सञ्चालन हुनु राम्रो पक्ष भएको उल्लेख गर्दै अध्यक्ष रोहितले ज्येष्ठ नागरिकलाई ससम्मान व्यवस्थितरूपमा स्याहार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी संस्थाहरूले कृषि र माछापालनजस्ता कार्यमा प्रोत्साहन गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।
सम्पत्ति कमाउने उद्देश्यले खोलेका व्यवसायिक सहकारीहरूले जनताको बचत कुम्ल्याएको उल्लेख गर्दै उहाँले ठुला राजनीतिक दलको संरक्षणले सहकारीका अपराधीहरूलाई प्रोत्साहन मिलेको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “भक्तपुरका सामुदायिक सहकारीहरूजस्तै अन्त चलाउन सकिरहेको छैन । अन्य जिल्लाका मानिस भक्तपुरबाट सिक्न लालायित छन् । नाचगान र कला संस्कृति हाम्रो सम्पत्ति भएकोले यसको संरक्षणमा सहकारी लाग्नुपर्छ ।”
बहुसङ्ख्यक जनताको हितमा कुनै नीति नबनाउने सरकार अन्धो सरकार हुने उहाँले बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सुख दुःखका साथी सहकारी भएकोले आफ्नो पैसा सुरक्षित भएको नभएको बारे सदस्यहरूले यकिन गर्नुपर्ने बताउनुभयो ।
उहाँले जीवनयापन सजिलो आर्थिक एवम् सामाजिकरूपमा सहज बनाउन सहकारीको आवश्यकता हुने औँल्याउँदै सहकारी संस्थाले आर्थिकसँगै सामाजिक, सांस्कृतिकलगायतका क्रियाकलापलाई सामाजिक दायित्व र जिम्मेवारीको रूपमा कार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्यालेस्टिन र इजरायलको युद्धले प्यालेस्टिनलाई निकै क्षति भएको छ । अन्यायमा परेको प्यालेस्टिनी जनताको पक्षमा आवाज उठाउँदै जानु आवश्यक छ । अन्तर्राष्ट्रिय रूपमा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोध भइरहेको छ ।”
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक सदस्य मन्दरा मिश्रले सहकारीहरूमा आएको विकृतिले अन्य सहकारीलाई समेत अठ्यारोमा पारेको बताउँदै समुदायमा आधारित सहकारीहरूले जुनसुकै समस्याको सामना गरी अघि बढ्न जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजुले राजनीतिक पार्टीहरूको बेइमानी र संरक्षणले सहकारीको छविमा असर परेको बताउनुभयो ।
सहकारीको मातहतका निकायहरूले समस्या आएपछि मात्रै निर्देशन जारी गर्ने तर अनुगमन तथा निरीक्षण नहुँदा झन् समस्या आएको उहाँले स्पष्ट पार्नुभयो ।
संस्थाका सल्लाहकार कृृष्णप्रसाद धन्छाले यस सहकारीमा नयाँ प्रविधि, सफ्टवेयर र मोबाइल बैङ्किङ एप्स लागु भएकोले त्यसबाट कारोबार गर्दा हुने सुरक्षा खतरालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सम्मानित युवाकवि दामोदर सुवालले सम्मानले आफ्नो जिम्मेवारी अझ बढेको विचार व्यक्त गर्दै समाजले आवश्यक ठानेका र समयले मागेको आवश्यकता संस्थाले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सभामा साकोस प्रतिनिधिको तर्फबाट स्वावलम्बन बचतका कृष्णबहादुर प्रजापतिले भक्तपुर साकोस उत्कृष्ट सहकारी संस्था हो भन्नुभयो । सभामा लेखा समितिका संयोजक जितेन्द्र ज्याख्व, संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले स्वागत, सहसचिव तारादेवी धन्छाले धन्यवाद ज्ञापन गर्नुभयो ।
जगन्नाथ प्रजापति र रामेश्वरी कोजूले पनि बोल्नुभएको सो साधारणसभामा युवाकवि दामोदर सुवाल र संस्कृतिकर्मी पञ्चलाल लाछिमस्युलाई २० हजार रूपैयाँसहित प्रमाणपत्र, दोसला र मायाको चिनोे प्रदान गरी सम्मान गरिएको थियो ।
दोस्रो चरणको बन्दसत्रमा कोषाध्यक्ष रामप्रसाद प्रजापति, लेखा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वले पेश गरेको प्रतिवेदन गरिएको थियो । आ.व. २०८०/०८१ का लागि १८ प्रतिशत शेयर लाभांश प्रदान गर्नेलगायतका १२ वटा प्रस्ताव पारित गरिएको छ ।
Leave a Reply