रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, १९ असोज । झीगु ख्वप साकोसको सत्रौँ साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि सुवालले सहकारी संस्थाको सिद्धान्त स्थानीय जनता सदस्य हुने र कृषि, घरेलु तथा साना उद्योगलाई जोड दिने हो भन्नुभयो ।
उहाँले बढी ब्याज दिने लोभ देखाई सर्वसाधारण जनताको बचत ठगी गरेको रकम सञ्चालक र सम्बन्धितहरूको घैघरानाबाट असुल गराइनुपर्नेमा जोड दिनुभयो ।
“वैदेशिक रोजगारीमा पठाएका म्यानपावर कम्पनीहरूबाट बिचल्लीमा परेका पीडितहरूलाई क्षतिपूर्ति दिलाइनुपर्दछ । इजरायलको लडाइँमा परेका नेपालीहरूलाई सम्बन्धित म्यानपावर कम्पनीहरूबाट उद्धार गराइनुपर्दछ”, उहाँले भन्नुभयो ।
देशको सन्तुलित विकास नगरी काठमाडौँ उपत्यकामा बसाइँसराइ गराइएको हुँदा पहिरो र डुबान बढेको र जनधनको क्षति भएको भएको उल्लेख गर्दै सांसद सुवालले सडक, पुल, भवन र अन्य संरचना पहिरो र डुबानमा भत्किने गरी बनाउने सम्बन्धित इन्जिनियर र ठेकेदारहरूलाई पनि जिम्मेवार बनाइनुपर्छ भन्नुभयो ।
उहाँले थप्नुभयो, “भूर्गशास्त्रीका अनुसार काठमाडौँ उपत्यकाको माटो अन्यत्रबाट ल्याएर थुपारिएको जस्तो कमजोर छ, खँदिलो र बलियो छैन । दिनको २५ हजारभन्दा बढी टिपर ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट, डन्डी भित्याएर यहाँ बनिरहेको सडक, पुल, भवनलगायत संरचनाको भार काठमाडौँ उपत्यकाको जमिनले थेग्न सक्नेछैन । कालान्तरमा यहाँको जमिन भासिने र उपत्यकावासी एक चिहान हुने खतरा छ ।”
राजनीतिक परिवर्तन हुन एक ऐतिहासिक युग लाग्ने धारणा राख्दै सांसद सुवालले बेलायती र फ्रान्सेली पुँजीवादी क्रान्ति सफल हुन पनि लामो समय लागेको उल्लेख गर्नुभयो ।
“उपनिवेशवादविरूद्धको अमेरिकी स्वतन्त्रता आन्दोलन दुईसय वर्षपछि मात्र सम्भव भयो । अङ्ग्रेज उपनिवेशविरूद्ध भारतको स्वतन्त्रता आन्दोलन पनि दुई सय वर्ष लागेको थियो”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “काठमाडौँ उपत्यकामा पृथ्वीनारायण शाहको आक्रमणयता नेपालको विकासमा अवरूद्ध भयो । १०४ वर्षको राणा शासन नेपालको लागि अन्धकार युग थियो । नेपालमा त्यतिबेलै विद्यालय र विश्वविद्यालय सुरू भएको भए नेपाली युवा वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न जानुपर्ने थिएन ।”
सहकारी संस्थाले सदस्यका छोराछोरीलाई खेलकुद, साहित्य, सङ्गीत, नृत्य, चित्रकला आदि प्रशिक्षण दिएर सुसंस्कृत बनाउनु उपयुुक्त हुने सुझाव दिँदै उहाँले शिक्षकहरू व्यवस्था गरी नयाँ पुस्तालाई विज्ञान, गणित, नेपाली र अङ्ग्रेजी भाषासमेत तालिम दिनुपर्ने जरूरी भएको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको निःस्वार्थपूर्वक सेवा गरेको चित्त नबुझेकाहरूले उहाँलाई भारत प्रवासमा गोली हानेर हत्या गर्ने दुष्प्रयास गरे भने देशभित्र झूटा ज्यान मुद्दा चलाएर फासीको माग गरे ।”
उहाँले भन्नुभयो, “जुनसुकै नामबाट सिंहदरबार सञ्चालन गर्न गएकाहरूलाई साम्राज्यवादी र विस्तारवादीहरूले कठपुतली बनाउँदै छन् । सहकारीका सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राख्नु जरूरी छ । इजरायली फासीवादलाई अमेरिकी साम्राज्यवादले हतियार पठाएर प्यालेस्टिनमा भूमि कब्जा र जातीय सफाया गराउँदै छ भने युक्रेनलाई रूसविरूद्ध लडाउँदै छ । संसारका न्यायप्रेमी जनताले युद्धको विरोध गर्दै छन् । नेपाली जनताले पनि युद्धको विरोध गर्नु जरूरी छ ।”
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले बचत संस्थाहरूमा अनुगमन, आवश्यक सल्लाह र तालिमसमेत दिइआएकोले भनपाभित्र रहेका बचत संस्थाहरू उदाहरणीय रहेको बताउनुभयो ।
सहकारीको सहयोगमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भइरहेकोले ख्वप अस्पताले निःशुल्क अक्सिजन वितरण गर्न सकिरहेको छ, उहाँले भन्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले संस्थाको गतिविधिहरूको जानकारी गराउँदै समुदायमा आधारित संस्थाहरूले मात्र जनताको सेवा गर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला सहकारीका प्रतिनिधि शिवराम बोहजुले सरकारले सहकारीसँग करमात्र लिने गरेकोमा विरोध गर्दै सहकारी संस्था सेवामुखी संस्था हो भन्नुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष पुण्यराम कवां, सचिव आशाकुमार चिकंबञ्जार, कोषाध्यक्ष विष्णुप्रसाद किसी, लेखा सुपरीवेक्षण समितिका संयोजक अनिता सिंख्वालले पनि बोल्नुभएको थियो ।
Leave a Reply