भर्खरै :

लेबनानमा इजरायली आक्रमणको इतिहास

लेबनानमा इजरायली आक्रमणको इतिहास

हालै इजरायलले लेबनानमाथि हमला ग¥यो; (अहिले पनि लगातार गरिरहेको छ) यो नौलो हमला होइन । लेबनानले बारम्बार यसखाले साम्राज्यवादी हमला झेल्दै आएको छ । यसअघि सन् १९७८, १९८२ र २००६ मा इजरायलले लेबनानमाथि आक्रमण गरेको थियो । इजरायलले लेबनानमा विध्वंस मच्चाएको थियो; त्यहाँका जनतालाई गरिबीको दलदलमा धकेलेको थियो; अत्यावश्यक सार्वजनिक पूर्वाधार ध्वस्त पारेको थियो; हजारौँ लेबनानवासीलाई घरखेत छोड्न बाध्य गराएको थियो ।
ती आक्रमण लेबनानी जनताविरुद्ध इजरायलको सघन विद्वेषको एउटा पाटो मात्र हो । ५० वर्षदेखि इजरायलले बारम्बार लेबनानमाथि हवाई हमला, तोडफोडजन्य कारबाही र नौसैनिक हमला गर्दै आएको छ । उसले सीमा क्षेत्रका लेबनानी जनताविरुद्ध छापा मार्दै आएको छ । उसले लेबनानका फासीवादी शक्तिलाई सैन्य कारबाही गर्न खर्च दिँदै आएको छ । धेरै वर्षदेखि इजरायलले दक्षिण लेबनानमा कब्जा जमाएको छ ।
सन् १९७१ मा प्यालेस्टिनी मुक्ति सङ्गठन (पीएलओ) पराजित भयो । त्यसपछि लेबनान यहुदीवादीहरूको कब्जाविरुद्ध प्यालेस्टिनी प्रतिरोध समूहको मुख्य केन्द्र बन्यो । प्यालेस्टिनी समूहहरूलाई ‘तह लगाउन’ इजरायलले सन् १९६८ देखि १९७५ सम्म लेबनानमाथि ६२ सय पटक आक्रमण ग¥यो ।
इजरायली हवाई हमलाकै कारण दक्षिण लेबनानका केही प्यालेस्टिनी शरणार्थी शिविर नामनिसाना नरहने गरी सखाप भए । सन् १९७७ अक्टोबरसम्ममा झन्डै ३ लाख शरणार्थीले दक्षिण लेबनान छोडे । यसरी भाग्ने शरणार्थीहरू लेबनानकै सिया सम्प्रदायका मुसलमानहरू थिए ।
यी आक्रमणका कारण लेबनानका मजदुर र गरिब जनताले सामूहिक रूपमा प्रतिकार गरे । सन् १९७३ मा इजरायलले लेननानको राजधानी बेरुतमा घुसेर तीन प्यालेस्टिनी नेताको हत्या गरे । त्यसको विरोधमा साढे २ लाख प्रदर्शनकारीहरू सडकमा उत्रेका थिए । त्यसको अर्थ १० लेबनानीमध्ये १ सडकमा उत्रेको थियो । यद्यपि, लेबनानी सेनाले इजरायलविरुद्ध औँला उठाउन सकेन । उल्टो उसले आफ्नै जनताको प्रतिरोधलाई दबायो ।
दक्षिण लेबनानमा चलिरहेको इजरायली हमलाले त्यहाँका बहुल सिया समुदायलाई आक्रोशित पा¥यो । यसकारण, त्यहाँ लेबनानी कम्युनिस्ट पार्टी र कम्युनिस्ट कारबाही सङ्घलगायत विभिन्न समाजवादी समूहको प्रभाव बढ्यो । यी समूहले इजरायली हमलाको प्रतिकार गर्न सशस्त्र मिलिसिया गठन गरे ।
यसको जवाफमा इजरायलले लेबनानका फासीवादी मिलिसियाहरूलाई हतियार र तालिम दियो । यीमध्ये सबैभन्दा ठुलो अर्धसैन्य मिलिसियाको नाम थियो कतएब (फालान्ज) । यसले सन् १९३० को दशकमा स्पेनमा फासीवादी सत्ता चलाएका जनरल फ्राङ्कोलाई प्रेरणा मान्थ्यो ।
सन् १९७८ को मार्चमा पीएलओका छापामार दस्तालाई नष्ट गर्दै इजरायली सेना दक्षिण लेबनानमा पर्ने लितानी नदी पुग्यो । इजरायली रक्षा बलले त्यतिबेला नै लेबनानी र प्यालेस्टिनी सर्वसाधारणविरुद्ध संरा अमेरिकाले दिएको क्लस्टर बम (एकै मुखबाट धेरैतिर छरिने) प्रहार गरेको थियो । त्यो हमलामा परेर ११ सय लेबनानी र २ हजार प्यालेस्टिनीहरू मारिएका थिए भने १ लाख लेबनानी र साढे २ लाख प्यालेस्टिनीहरू शरणार्थी बनी थातथलो छोड्न बाध्य भएका थिए ।
त्यसपछि इजरायलले लितानी नदी आसपास प्रशासन चलाउन दक्षिण लेबनान सेना नामक सहयोगी मिलिसियालाई स्थापित ग¥यो । यो मिलिसिया चरम दक्षिणपन्थी सङ्गठन थियो । दक्षिण लेबनान सेनाले लामो समय सैनिक शासन चलाइरह्यो । यसबिच इजरायलले उसलाई लगातार हतियार, तालिम र आड दिइरह्यो । उसको धाप पाएरै दक्षिण लेबनान सेनाले लितानी नदी आसपास अत्याचार गरिरह्यो र यही क्रूरताका लागि ऊ कुख्यात भयो । सन् १९८५ मा उसले खियाम यातनागृह बनायो र ठुलो सङ्ख्यामा आफ्ना लोकप्रिय विरोधीहरूलाई त्यहाँ थुनेर यातना दियो ।
सन् १९८२ मा इजरायलले फेरि हमला ग¥यो । यसपालि इजरायली सैनिकहरू राजधानी बेरुतसम्मै पुगे । तिनले करिब दुई महिनासम्म बेरुतमा नाकाबन्दी लगाए र भोकमरीको मुखमा पु¥याई त्यहाँका जनतालाई घुँडा टेकाए । त्यसपछि तिनले बेरुतस्थित साबरा र शातिला शरणार्थी शिविरमा बसोबास गरिरहेका जनताबिच आततायी हिंसा मच्चाउन लेबनानका आफ्ना फासीवादी सहयोगीलाई अ¥हाए ।
दक्षिण लेबनानका केही इलाकामा इस्लामी सङ्गठन अमालले प्यालेस्टिनी र वामपन्थीहरूविरुद्ध सिया समुदायका मान्छेहरूलाई परिचालन ग¥यो । यसको लागि इजरायली अत्याचारले गर्दा भएको विनाशका लागि प्यालेस्टिनी र वामपन्थीहरू जिम्मेवार छन् भनी प्रचार गरिएको थियो । प्यालेस्टिनीहरूविरुद्ध हत्याकाण्ड मच्चाइरहेको फासीवादी फालान्जको नक्कल गर्दै अमालले ठुलो मारकाट ग¥यो । तथापि, वामपन्थी र अरबी राष्ट्रवादीहरूका विभिन्न समूहले त्यसपछिका केही वर्ष सघन सङ्घर्ष गरिरहे । यसकै बलमा इजरायलीहरू पछि हटे र दक्षिण लेबनानको साँघुरो इलाकामा सीमित हुन बाध्य भए ।
सन् २००६ सम्ममा हजबुल्लाले आफूलाई राजनीतिक र सैन्यरूपमा लेबनानको बलशाली शक्तिको रूपमा स्थापित गरिसकेको थियो । इजरायलले पुनः आक्रमण ग¥यो । हजबुल्लालाई खेदेर उसको मित्रशक्ति इरानको रणनीतिक अवस्था कमजोर पार्ने इजरायलको अभीष्ट थियो ।
त्यसबेला पनि इजरायललाई अमेरिकी आड थियो । राष्ट्रसङ्घमा युद्धविराम प्रस्ताव ल्याइयो तर अमेरिकाले त्यसविरुद्ध विशेषाधिकार प्रयोग ग¥यो । सुरुमा हजबुल्लालाई आफ्नो क्षेत्रीय शत्रु ठान्ने वरपरका सुन्नीबहुल अरब देशहरू इजरायली आक्रमणबाट खुसी थिए ।
बिस्तारै हजबुल्ला सिया सम्प्रदायबाहिरका जनताको ठुलो समर्थन बटुल्न सक्षम भयो । त्यसपछि इजरायली दैत्यको हलो अड्कियो । ३३ दिनसम्म सघन लडाइँ गरेपछि अन्त्यमा इजरायली सेना पुच्छर लुकाएर भाग्न विवश भयो ।
सन् २००६ मा भएको पराजयको शोधभर्ना गर्न इजरायलले हजबुल्लामाथि अर्को हमला गर्ने योजना बनाइरहेको थियो । अहिले मौका जु¥यो । इजरायली जनतालाई ‘आतङ्कवादी सङ्गठन हजबुल्लाको रकेट हमलाको जवाफ दिएको’ भने पुग्यो ।
वास्तविकता भने फरक छ । इजरायल र उसको कुख्यात गुप्तचर निकाय मोस्सादले लामो समयदेखि आतङ्कवादको झन्डा फहराउँदै आएका छन् । विश्वका विभिन्न स्थानमा कार बम विस्फोट गराउने, छानीछानी व्यक्तिहत्या गर्ने, विष खुवाउने र तोडफोडका गतिविधि गर्ने काममा मोस्साद धेरै अगाडि छ । हालै लेबनानमा प्रयोग गरिएका पेजर र वाकीटकीजस्ता उपकरणमा बम घुसाई इजरायलले गरेको हमला यही आतङ्कवादी अत्याचारको पछिल्लो कडी मात्र हो ।
यसपालि पनि इजरायली युद्ध उन्मादलाई अमेरिका, अस्ट्रेलियालगायत पश्चिमा शक्तिहरूले टेवा दिए । हजबुल्लामाथि हमला गरेर इजरायलले इरानसँग नयाँ युद्धको ढोका खोल्न सक्ने सम्भावनाप्रति अमेरिकी सरकारले आँखा चिम्लेको छ । अमेरिकाले लेबनानमाथि हमला गर्न इजरायललाई चाहिने साङ्घातिक हतियार पठाएको पठायै छ । इजरायललाई आड दिन मध्यपूर्वमा उसले थप युद्धपोत र सैनिक पठाउँदै छ । किन ?
इजरायलले जतिसुकै अतिवादी काम गरे पनि मध्यपूर्वमा अमेरिकी साम्राज्यवादको स्वार्थ रक्षा गर्ने प्रमुख शक्ति इजरायल नै हो । मध्यपूर्वमा अथाह तेलको भण्डार त हो नै, सँगै अन्तर्राष्ट्रिय व्यापार मार्ग स्वेज नहरजस्ता स्थल हुनाले सामरिक बिन्दु पनि हो । यसकारण, विश्व पुँजीवादका लागि मध्यपूर्वको महत्व ठुलो छ ।
यी नै कारणले गर्दा अमेरिकी सरकार चलाउने दुवै ठुला दलले इजरायललाई सहयोग गर्दै आएका हुन् । उसको राजनीतिक आड र ठुलो सैन्य सहयोगको बलमा इजरायलले बारम्बार युद्ध गर्दै आएको छ† गाजाविरुद्ध जातिसंहार चलाउँदै छ ।
इजरायलको उदारवादी अखबार ‘हारेत्ज’ ले पश्चिमा साम्राज्यवादसँगको इजरायली हिमचिमलाई सन् १९५१ को सेप्टेम्बरमै पहिचान गरिसकेको देखिन्छ । त्यसबेलै ‘हारेत्ज’ ले लेखेको थियो, “इजरायललाई पाल्तु कुकुरको जिम्मा दिइएको छ । कुनै न कुनै बहाना बनाएर आँखा चिम्लेको खण्डमा पश्चिमा देशहरू इजरायलमाथि भर पर्न सक्छन्† पश्चिमाहरूप्रति अशिष्ट हुने छिमेकी देशलाई इजरायलले कडा सजाय दिइहाल्नेछ ।”
वास्तवमा आफूले गरेका अनगिन्ती युद्धमध्ये धेरै त इजरायलले प्यालेस्टिनी जनताविरुद्ध भन्दा पनि छिमेकी अरब राज्यविरुद्ध गरेको छ । सन् १९५६ सम्ममा इजरायलले पश्चिमा साम्राज्यवादी स्वार्थको पहरेदारको आफ्नो चरित्र स्पष्ट देखाइसकेको थियो । त्यो वर्ष उसले इजिप्टविरुद्ध युद्धमा पुराना साम्राज्यवादी शक्ति फ्रान्स र बेलायतलाई साथ दिएको थियो । गमाल अब्देल नासिरको नेतृत्वमा रहेको इजिप्टको नयाँ राष्ट्रवादी सरकारले स्वेज नहर राष्ट्रियकरण गरेपछि जवाफमा बेलायत र फ्रान्सले इजिप्टविरुद्ध युद्ध छेडेका थिए ।
त्यसयता इजरायलले छिमेकी अरब देशहरूविरुद्ध एकपछि अर्को युद्ध गर्दै आएको छ । सन् १९६७ मा इजरायलले इजिप्ट, सिरिया र जोर्डनविरुद्ध जोडदार सैन्य विजय पाएको थियो । यसबाट सो क्षेत्रको एउटा शक्तिको रूपमा रहेको अमेरिकाका लागि इजरायलको महत्व ह्वात्तै बढेको थियो ।
सन् १९६७ को युद्धको मुखमै अमेरिकाले इजरायललाई न्वारनदेखिको बल लगाएर राजनीतिक, वित्तीय र सैन्य सहयोग गर्न थाल्यो । त्यस भेगमा इजरायल पश्चिमा साम्राज्यवादी स्वार्थको मुख्य पहरेदार बन्यो । इजरायलले आजभोलि गरिरहेको युद्ध यही सिलसिलाको निरन्तरता हो ।
लेबनानको विनाशलाई लिएर पश्चिमा देशहरूबाट गोहीका आँसु चुहाइँदै छ । युद्धविराम गर्नुपर्ने र इजरायल ‘संयमी’ बन्नुपर्नेजस्ता पश्चिमा नेताहरूको आह्वान फोस्रो देखावामात्र हो ।
संरा अमेरिका, बेलायत र अस्ट्रेलियाका धनाढ्य र सत्ताधारीहरूलाई आफ्नो रोटी कता सेकिन्छ भन्ने राम्ररी थाहा छ । इजरायलको विजयले तिनको लुटाहा पुँजीवादको दुनो सोझिन्छ । तसर्थ, हामीले लेबनानविरुद्ध इजरायली युद्धको खुलेर विरोध गर्नुपर्छ ।

– एमआर अनलाइनबाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *