भर्खरै :

आस्थाको पत्रिका ‘मजदुर’ दैनिक निरन्तर चल्ने

देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक आस्थाको पत्रिका हो । यस पत्रिकामा समाचारसँगै दृष्टिकोण या विचार पनि पाइन्छ । श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने यो पत्रिका देश विदेशमा भइरहेको शोषितपीडित जनताको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता प्रकट गर्छ । यसले विदेशी थिचोमिचोको विरोध गर्छ । विदेशी आक्रमण, विदेशी दबाब, विदेशी अतिक्रमणको निन्दा गर्ने यो पत्रिका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्छ । देश जोगाउने र बनाउने काममा यो पत्रिकाले आवाज उठाएको छ । यसले बहुमत जनताको पक्षमा राजनीति गर्नुपर्छ र उनीहरूको हक हितको निम्ति ऐन कानुन बनाउनुपर्छ भन्ने मान्यता राख्छ । यस्तै उद्देश्य बोकेर ‘मजदुर’ दैनिकले लेख रचनामार्फत सूचना प्रवाह गरेर जनतालाई सुसूचित पार्दै छ ।
यो पत्रिका वर्षैभरि प्रकाशित हुन्छ । अन्य ठुलठुला रङ्गीन पत्रिका बन्द हुने दसैँ र तिहारमा पनि यो पत्रिका प्रकाशित हुन्छ । यस पत्रिकामा धूमपान र लागुऔषधसम्बन्धी विज्ञापन निषेध गरिएको छ । अश्लील तस्बिर र समाचारलाई यस पत्रिकामा स्थान दिइएको छैन । बरु यसले श्रमजीवीवर्गको दुःख, पीडा, समस्याबारे जनतामाझ उजागर गर्छ† समाजमा व्याप्त कुरीति, अन्धविश्वासको यो पत्रिका विरोध गर्छ । यसले भ्रष्टाचार, ढिलासुस्ती, अनियमितताको विरोध गर्छ । देशको अर्थतन्त्र परनिर्भर हुँदै गएको स्थिति छ । कृषि, उद्योग, पर्यटन र रोजगारी आदि क्षेत्रमा परनिर्भरता बढ्दै छ । शिक्षा र स्वास्थ्य माफियाहरूको हातमा पुग्दै छ । सडक, पुल, जलविद्युत्जस्ता विकास निर्माणका कार्यहरू अराष्ट्रिय भ्रष्टाचारीहरूको हातमा पुगेको छ । शासकहरूले विदेशी पुँजीको इसारामा विकास निर्माणका कार्यहरू अलपत्र पारेका छन् ।
देशमा भएका उद्योगहरू ध्वस्त भए । औद्योगिक उत्पादन विदेशबाट आयात भइरहेको छ । देशभित्रै विदेशी उद्योग चलिरहेको छ । पर्यटन उद्योगको निम्ति आवश्यक वस्तु विदेशबाट आउँछ । शिक्षा र स्वास्थ्य विदेशी एजेन्टहरूको प्रभावमा छ । विश्वविद्यालयका मुख्य मुख्य ठाउँ र नीति निर्माणकर्ताहरू विदेशी पुँजीकै माफियाहरू हुन् । सरकारमा रहेका दलहरूले नै अपराधी, भ्रष्टाचारी र कामचोरहरूको पक्ष लिएर न्यायपालिकालाई जुवाको खालमा राखेका छन् । यस्ता आपराधिक, अनियमित र अमानवीय कार्यको यो पत्रिका खबरदारी गर्छ । आफ्नो सिद्धान्त र आदर्श छोडेर देश र जनता ठग्ने तथा समाजमा आर्थिक, सामाजिक एवम् सांस्कृतिक अराजकता बढाउने कुकृत्यको यो पत्रिका खबरदारी गरेर जनतालाई सुसूचित पार्छ ।
दसैँको यो घडीमा न्याय, स्वतन्त्रता र सार्वभौम देशको निम्ति लड्ने प्रेरणा सबैमा मिल्ने विश्वास छ । पत्रिका सञ्चालन र प्रकाशनमा साथ दिने सहयोगी महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दछ । यस पत्रिकालाई लेख, समाचार, सम्पादकलाई चिठी दिएर साथ दिने लेखक, संवाददाता, पत्रिका वितरण गर्ने हक्कर्स, विज्ञापन दिने व्यक्ति तथा सङ्घसंस्था, पाठक, समालोचक, ग्राहकहरूको सहयोग र साथ निरन्तर भइरहने हाम्रो विश्वास छ । सत्य र न्यायको विजय होस् । न्यायप्रेमी तथा देशभक्त नेपाली जनताको हामी सुस्वास्थ्य, सुख तथा दीर्घायुको कामना गर्दछौँ । शुभकार्यमा यहाँको सफलता मिलोस् । शासकहरूमा पनि सद्बुद्धि पलाओस्, सबैमा यही शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *