पूर्ण र कठोर पार्टी स्वशासनका साथ अडिग रहने सङ्कल्प पारित गर्दै चिकपाको पूर्ण बैठक सम्पन्न
- कार्तिक १४, २०८३
नीलकमल कविताको एक पुस्तक पढ्दै छिन् । राजेन्द्र कोठामा प्रवेश गर्छन् र भन्छन्, “यी आइमाई जहिले पनि किताब कलमसँग खेलेकी हुन्छे । कस्तो बानीकी…?” यति भनी राजेन्द्र पलङमा लड्छन् ।
नीलकमलले किताब टेबलमा राख्दै मेचमै बसेर व्यङ्ग्यको शैलीमा आफ्नो लोग्नेलाई उत्तर दिइन्, “हो, यो वातावरण दुर्गा र सरस्वतीकै हो – दसैँ र तिहार ! आफूलाई खुब प्रजातन्त्रवादी र जनतन्त्रवादी भन्न रुचाउने महाशयले साहित्यसँग केको रिस ? के सरकारमा आफ्नै दलको नेतृत्व चाहिने ? सारा जँड्याहा र रक्सी, चुरोटका अमलीहरू सबै प्रजातन्त्रवादी र समाजवादी !” यसरी हाँक दिने शैलीमा उनले राजेन्द्रलाई सैद्धान्तिक विवादमा तान्ने उद्देश्यले वाण प्रहार गरिन् ।
उनले नीलूको लल्कारलाई स्वीकार्ने ढाँचामा जुरुक्क पलङबाट उठेर अघिल्लो मेचमा आसन जमाउँदै हलुका रिसको भावमा भने, “होइन, तिमी देशको हरेक दुर्गतिमा र अव्यवस्थामा प्रजातन्त्र, जनतन्त्र र समाजवादको नाम किन जोड्छ्यौ ? देशमा के सधैँ एउटै दलको शासन र तानाशाही सम्झेकी छौ ? के कथा र साहित्यबारे केही जानकारी राख्दैमा देशका दिनदिनका सबै घटनाहरूमा हिजो र अस्तिको प्राचीन इतिहास हुन्छ र ? के सम्झेकी छौ तिमीले ? देशलाई भाँड्ने र बिगार्ने सबै दोष प्रजातन्त्रवादी, जनतन्त्रवादी र ‘प्रजातान्त्रिक समाजवादी’ सिद्धान्तलाई मात्रै दिन्छौ ? के यो देशमा राजावादी, पञ्चायतवादी र साम्यवादी विचारका दलहरूले सरकारको नेतृत्व गरेको विषयमा तिमीलाई जानकारी छैन ?”
राजेन्द्रले एकै सासमा प्रजातन्त्रवादी सरकार र दलहरूलाई जोगाउँदै देशको बर्बादीमा देशका अन्य दलहरूलाई समेत पन्छाउन खोज्दा नीलूले प्रत्युत्तरमा भनिन्, “हिजो र आजका सबै सरकारहरू एउटै विचार र व्यवस्थाका पक्षपातीहरू हुन् – नाम मात्रै फरक । आँखा नदेख्नेलाई नेत्रबहादुर र सुलोचना भन्दैमा तिनीहरूले तत्काल आँखाले देख्ने होइन; यस्तो समृद्ध परिवारले मात्रै शासन र सुखशैल गर्ने समाजमा !” एकछिन सुस्ताएर तिनले चोर औँला ठड्याउँदै भनिन्, “अहिलेसम्म बनेका र संसद्मा बहुमत पाउने सबै दलहरू एउटै विचार र वर्गका छन् । ‘अमिवा’ जस्तो हाडखोर नभएका जीवहरू बरोबर टुक्रिन्छन् र जोडिन्छन् ।”
राजेन्द्रले पराजित मनसायमा उनले ‘भैगो अब राजनीतिक कुरामा नलागौँ, बरु घरको सुख दुःख र परिवारको कुरा गरौँन’ भनी नीलूको ध्यान अन्तै मोड्न खोजे ।
नीलूले झन् आक्रामक शैलीमा भनिन्, ‘ठीक छ, म तयार छु घर परिवारको र सुख दुःखको कुरा गर्न । ध्यान दिएर सुन्नुस् । विवाह गरेर छोराछोरीको पनि विवाह भयो । हामीले नाति–नातिना खेलायौँ । तिनीहरू स्कूलमा पढ्दै छन् । ती सबै अवधिभर के हजुरले मलाई बैङ्कबाट आफूले यति रकम महिनामा पाउँछु, घर खर्च गर्न यति यति खर्च गरँे, परिवार, भाइ र बुबा–मुमाहरूलाई यति दिनुपर्छ वा दिएँ भनेर एकवचन आफ्नै अर्धाङ्गिनी वा जीवन साथीलाई बताउनुभएको छ ? बरु विद्यालयबाट आउने सबै तलबको मैले हजुरलाई बताउने गरेकी छु । नत्र यी केटाकेटी कसरी हुर्के होला, कहिल्यै सोच्नुभएको छ ? एक प्रजातन्त्रवादी श्रीमान्ले ?’
नीलूबाट नचिताएकै विषयमा भनिएको अभिव्यक्तिले निस्तेज भएर हातले चुप लाग्ने इसारा गर्दै राजेन्द्रले भने, “होइन, कताको कुरा कता लग्यौ नीलू ! हामी त देशको राजनीतिक कुरा गर्दै थियौँ ।”
“हो हजुर, आफैले घर परिवारको कुरा गरौँ भन्नुभयो । मैले घरकै विषयमा सबै कुरा पोखेँ, यसरी मनका कुरा गर्न श्रीमान्ले कहिले अवसर दिनुभयो ? मनको कुरो कति दिन र वर्ष मनमै राखेँ ।”
“होइन, नीलूले के अब किचेनको कुकरको सेफ्टी भल्भनै खोलेकी हौ ?” राजेन्द्रले कुराकानी अन्त्य मोड्न खोजेको बुझी नीलूले हातले श्रीमान्लाई मुख बन्द गर्न इसारा गर्दै अझ ठुलो स्वरमा बोल्न थालिन्, “हाम्रो विवाह भएको दुई/चार वर्ष होइन २५–३० वर्ष भयो । दुई छोरा–छोरीकी आमा र नाति–नातिनाका बज्यै र हजुरबुबा भयौँ, के आज पनि हजुरकी नीलू आज पनि अर्कै घरकी छोरी मात्र सम्झनुभएको हो ? यो घरकी जेठी बुहारी र भाइहरूले भाउजूका रूपमा कहिल्यै परिवारबाट व्यवहार भएको अनुभव गर्नुभयो ? यही हो प्रजातन्त्र र जनतन्त्र ?”
राजेन्द्र लाचार हुँदै भने, “होइन नीलू संसार धेरै फराकिलो छ, के तिमी घरबाट बाहिरको कुरा गर्न मन पराउँदैनौ ? अमेरिका र जापानमा कति सुखी परिवार छन् ?”
“ठीक छ, श्रीमान्जी” नीलूले दायाँ हातले राजेन्द्रलाई चुप लाग्न इसारा गर्दै भनिन्, “म अमेरिकाकै कुरा गर्छु । के तपाईँ अमेरिकाजस्तो एकै जोडीले बारम्बार पारपाचुके र फेरि फेरि विवाह गर्ने संस्कृति आफ्नो देशमा ल्याउन चाहनु हुन्छ ? के हजुरले मलाई आफ्नो तलब कति छ भनी नबताउनुभएको हो ? मलाई थाहा छ, अमेरिकीहरू रेस्टुराँ जाँदा लोग्ने र स्वास्नी आ–आफ्ना थैलीबाटै पैसा तिर्ने गर्छन् । अब के म पनि त्यसै गरूँ ! मैले आफ्नो खर्च नभनूँ ।” एकछिन अडेर, “लौ श्रीमान्जी, जापानको कुरा सुन्नुस् – जापानमा श्रीमानहरूको सबै तलब श्रीमतीहरूकै खातामा कार्यालयबाटै जम्मा हुन्छ । के हजुर त्यसको निम्ति तयार हुनुहुन्छ ? के म ‘लोग्ने’भन्ने व्यक्तिलाई मात्र चिन्न यो घरमा विवाह गर्न आएकी हुँ । के म र मेरा छोराछोरीप्रति श्रीमान् र यो परिवारको केही कर्तव्य छैन ?” नीलूले धारा प्रवाह आफ्नो मनको कुरा बताउँदै गइन्, “यो परिवारको औचित्यहीन संस्कारले गर्दा केटीहरू, छोरी–बुहारीहरूले सासू–ससुरा र श्रीमान्को अगाडि केही भन्न हुन्न भन्ने सिकाएकै कारणले मेरी छोरीले दुःख पाइन् । दाइजोको रूपमा दिएका सामान, रूपैयाँ–पैसा, सुन, चाँदी सबै सासूले आफ्नो कोठामा ढुकुटीमा भन्दै बन्द गरिन्, कहीँ भोजभतेरमा जानुपर्यो भने सासूले दिएको लुगा र गहना मात्र लगाउन पाउने यो कुन प्रजातन्त्र, जनतन्त्र र गणतन्त्र हो ? घरमा प्रजातन्त्र छैन भने देशमा कसरी प्रजातन्त्र खोजेर हिँड्ने श्रीमानजी ! के मेरी छोरीले भान्सामा मट्टीतेलको स्टोप बाल्नुपर्ने, सासूले मात्र हिटर, राइस कुकर, इन्डक्सन चुलो, माइक्रो–ओबन आदि चलाउन पाउने ? यस्तो व्यवस्था त जङ्गली युगमा पनि थिएन । हो, त्यस आदिम समयमा स्वास्नीमानिसहरूलाई सभ्य भनाउँदा पुँजीवादी व्यवस्थामा भन्दा बढी स्वतन्त्रता र समानता थियो ।”
“ओहो, नीलू, मैले मानेँ, तिमीले भनेअनुसार यस घरमा पुरानो परम्परा कायम छ । म मान्छु, तर एकैबाजि समाजमा सबै रीतिरिवाज र चालचलन तुरुन्तै परिवर्तन हुन्न नीलू ! यस्तो कुरो तिमी किन बुझ्दैनौ …?”
राजेन्द्रको कुरा नटुङ्गिँदै नीलूले प्रत्युत्तर दिइहालिन्, “नेपोलियनलाई राजा बनाउन फ्रान्सेली र पेरिसका सम्भ्रान्तवर्गले तल्लो जातको भन्लान् भनेर दुई छोरा र पारपाचुके भएकी कन्यासँग विवाह गरेजस्तै काठमाडौँको सम्भ्रान्त परिवारहरूको समर्थन पाउन माथिल्लो जातकी कन्या विवाह गरेर जनतालाई मूर्ख बनाउन खोजेका हुन् – देशी र विदेशी शासकवर्गले ? यी सबै देखाउने दाँत हुन् । म प्रस्ट भन्छु, श्रीमान्जी, नेपालमा पुनः राणा शासनको पुनस्र्थापना हुँदै छ । तर, त्यो सफल हुनेछैन । प्रजातन्त्रको नाउँमा देशले प्रतिगमनलाई काँध दिन सक्दैन । देशमा प्रजातन्त्रलाई बलियो बनाउन माथिल्ला परिवारको घरघरबाट नयाँ संस्कृति स्वीकार्न आवश्यक छ । खबरदार ! “प्रजातन्त्र र गणतन्त्रवादीहरू पदको निम्ति नेपाल र नेपाली जनतालाई विदेशीको हातमा बेच्न पाइन्न ।” यत्तिकैमा राजेन्द्रलाई “बाबु राजेन्द्र ! माथि आउनु त” भन्ने आमाको आवाज सुनियो । नीलूले राजेन्द्रलाई माथि जाने इसारा गर्दै भनिन्, “जानुस् माथिबाट उर्दी” भयो । के म र मेरा छोराछोरी रैती हुन् यो परिवारको ?” राजेन्द्रले नीलूलाई केही उत्तर नदिई कोठाबाट बाहिर गए ।
Leave a Reply