भर्खरै :

विपद् र दसैँ

विपद् र दसैँ

असोज १०, ११ र १२ गते देशमा अविरल र भारी वर्ष भयो । देशमा ठुलो धनजनको क्षति भयो । देश र जनताको बुद्धि र विवेकले भ्याएसम्म काम गर्छु भन्ने शपथ खाएर प्रधानमन्त्री भएका जिम्मेवार प्रम खड्गप्रसाद ओली भने देश जलिरहँदा पनि विदेशमा बाँसुरी बजाएर आनन्द लिइरहेका निरोजस्तै संराको महासभामा भाग लिने नाममा अमेरिकामा विभिन्न भेटघाटको नाममा असोज ६ गतेदेखि १४ गतेसम्म अमेरिकामै बसिरहेका थिए । देशमा प्राकृतिक विपत्ति र दसैँमा सबै नेपालीले दसैँ मनाउन सहज वातावरण बनाउनुपर्ने बेलामा हप्तौँ अमेरिकामा बसिरहे । एमसीसीमा सही गराएको केही वर्षपछि देशको सार्वभौमिकता र स्वाधीनता गुम्ने देशघाती सन्धिका बँुदाहरू हेर्दै नहेरी सही गरेर आएको कुरा सही गरेर आउने परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछि बताएका थिए ।
यदि साँच्चिकै देशको जिम्मेवार, नैतिकवान प्रधानमन्त्री भएका भए तत्काल सबै कार्यक्रम स्थगित गरेर वा छोट्याएर तुरुन्तै देश फर्कन्थे† तुरुन्तै उद्धार र राहत पीडित व्यक्ति, परिवार र घटनास्थलमा पु¥याउन खट्थे र पीडितलाई राहत मिल्थ्यो । राजधानीमै बाढीबाट उद्धार गरी ज्यान जोगाइदिन छतमा बसी घण्टौँ गुहार माग्दा पनि सरकारले जोगाउन सकेन । देशको सुविधा सम्पन्न राजधानीजस्तो ठाउँमा पनि दुई जनाले अकालमा ज्यान गुमाउनुप¥यो । उपत्यकाबाहिरको दुर्गम क्षेत्रको कुरा गरी साध्य छैन । उपत्यका बाहिर के कति धनजनको क्षति भयो यकिन तथ्याङ्क आएको छैन होला । सरकारको यो लापरबाही र लाचारिताको सबै क्षत्रबाट विरोध भयो ।
देश शोकमा डुबेको बेला, प्राकृतिक विपत्ति र सङ्कटको बेला दसैँको मुखमा वायुसेवा कम्पनीहरूले भाडा बढाएर दसैँ मनाउन जाने यात्रुहरूलाई लुटिरहेका छन् । बिचौलियाहरूले पनि लुटिरहेको पीडित यात्रुहरू बताउँछन् । बाढी पहिरोले गाडी नचल्ने, गाडी नहुने डर देखाएर यातायात, व्यवसायी, चालक, सहचालक बिचौलियाहरूले पनि यात्रुसँगै मनपरी भाडा असुरेर पीडा दिइरहेका कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् ।
दसैँमा परिवार भेटेर रमाइलो गरौँला भनी आशा लिएर बसेका गाउँ, दूरदराजका बालबालिका, परिवार र जनतालाई पहिरोले बाटो बन्द भएको बहाना गरेर खाद्यान्न, तरकारी आदिमा उपभोग्य वस्तुमा दोब्बर तेब्बर भाउ बढाएर काला व्यापारीहरूले उपभोक्ता र जनतालाई लुटिरहेका छन् । जनता महँगोमा खाद्यान्नलगायतको वस्तु उपभोग गर्न बाध्य छन् । त्यस्ता कालाबजारीहरूलाई सरकारले बिनामुलाहिजा पाटा कस्नुपर्छ र हत्कडी लगाएर जेल हाल्नुपर्छ । कृत्रिम अभाव देखाएर गोदाममा थुपारिएको खाद्यान्न, तरकारीलगायतका उपभोग्य सामग्री जफत गरेर सहुलियत मूल्यमा सहजरूपमा जनतालाई वितरण गर्नुपर्छ । त्यस्ता विपद् र दसैँको मुखमा लुट्ने लुटेरा र कालाबजारियाहरूलाई सञ्चारमाध्यममा जनतासामु देखाउनुपर्छ । तर, शासक दलले यतातर्फ तदारुकता देखाउन सकेको छैन । त्यस्ता कालाबजारियाहरू तिनै सरकार र शासक दलका नेता, कार्यकर्ता, सांसद र मन्त्रीका मान्छे भएको हुँदा उनीहरूप्रति कठोर हुन नसकेका हुन् भनी पीडित जनता आरोप लगाउँछन् ।
वर्षाका कारण बाढी आउनु, पहिरो जानु, जग्गा दलालहरूले पहाड, जङ्गल हडपेर जग्गा प्लानिङ गर्नु, बाटो बनाउनु, बाटो, पुल बगाउनु, बिग्रनु, नदी दोहन गरेर क्रसर उद्योग चलाउनु, मनोहरा, वाग्मती, विष्णुमतीजस्ता नदी, खोलाको बगर शासक दलकै नेता, कार्यकर्ता, मन्त्री तथा सांसदका मान्छेले लुट्दा, नदी साँघुरो हुँदा बस्तीमा बाढी पसेको हो । ४ आना जग्गा किनेर ४ रोपनीको कम्पाउन्ड वाल लगाएर बगर, पहाड, जङ्गल मिच्दा बाढी र पहिरो बस्तीमा पसेका हुन् भनी जानकारहरू बताउँछन् । यदि त्यसो नगरेको भए, नदीको बगरलाई नछोएको भए नदी स्वाभाविकरूपमा बग्थ्यो । फराकिलो मनोहरा, वाग्मती र विष्णुमतीलगायतका नदी र खोलाको बगर लुट्नु वा लुटाउनुमा विगतदेखि सत्तामा गएका शासक दलहरू जिम्मेवार छन् ।
विगत २०४५ र २०७२ सालको विनाशकारी भूकम्पबाट पीडित जनतालाई सहयोग गर्न सरकारले विदेशीसँग हात थापेको थियो । वास्तविक पीडित जनतालाई राहत वितरण नगरी आफ्नो मान्छेलाई राहत वितरण गरेको, बिचैमा ट्रकका ट्रक राहत गायब पारेको, भौतिक निर्माणमा लुटेका समाचारहरूले पत्रपत्रिका भरेको थियो । आज त्यस्तै बाढी पहिरोले पुरिएका, बगाएका सडक, पुललगायतका भौतिक निर्माणको नाममा पनि मन्त्री, सांसद, काला ठेकेदारहरूले लुट्न बेर छैन । तिनीहरूले कारबाहीबाट बच्न सरकारका मान्छे, शासक दलका नेताहरूको औँलो समातिरहेका हुन्छन् । चुनाव जिताउन उनीहरूले लाखौँ करोडौँ सहयोग गरिरहेका हुन्छन् भन्ने चर्चा नचलेको होइन ।
पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले विगतमा ठुलो चर्चा पायो । यो गीतले शासक दलका लुटेराहरूको मुटुमा घोच्यो । त्यसैले, यो गीतलाई सरकारले प्रतिबन्ध लगायो । गायक शर्मालाई पक्रने चर्चा पनि चलेको थियो । हिजोआज पनि खराब मन्त्री, सांसद, काला ठेकेदार, जमिनदार, काला व्यापारी आदिले देश र जनता लुटिरहेको समाचार आएका हो । यो गीतले गैँडाका जस्ता छाला भएका ती लुटेराहरूको मन र मर्ममा सोच विचारमा देश र जनताको हितमा सधैँको लागि परिवर्तन आउने गरी घोच्न सकिरहेका छैनन् । त्यसैले, गीतको महत्व, सान्दर्भिकता, त्यतिबेलासम्म रहिरहन्छ जबसम्म यिनीहरूको मन, सोच, व्यवहार र आचरणमा परिवर्तन आउँदैन, देश बन्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *