भर्खरै :

भारतीय आधिपत्यवादी मानसिकता

भारतीय युट्युबरहरूका प्रस्तुतिहरू, टेलिभिजन च्यानलहरूका अन्तर्वार्ताहरू मात्र नभई दैनिक पत्रपत्रिकाका लेखहरूमा समेत एउटै रूवाइ देखिन्छ – भारतका छिमेकी देशहरूमा भारतको नियन्त्रण घट्दो छ । भारत बर्बाद हुँदै छ । दक्षिण एसियाली देशहरूले चीनसित सुमधुर सम्बन्ध राखिसके, त्यहाँ चीनको प्रभाव बढ्दै छ आदि इत्यादि । तिनीहरूका प्रस्तुतिहरूले तिनीहरूमा रहेको भारतीय विस्तारवादी र प्रभुत्ववादी दृष्टिकोण छताछुल्ल हुन्छ । तिनीहरूका अनुसार नेपालमा भारत सरकारको खुला हस्तक्षेपबिना भएको सरकार परिवर्तन, माल्दिभ्समा देशको सार्वभौमसत्ता खोज्ने मोहम्मद मोइजु राष्ट्रपतिमा निर्वाचित हुनु र उनले आफ्नो देशमा रहेका भारतीय सेना फिर्ता पठाउनु, बङ्गलादेशमा विद्यार्थी आन्दोलन हुँदै जनआन्दोलन भएर शेख हसिनाको सरकार अपदस्थ हुनु, श्रीलङ्कामा राष्ट्रपतिको चुनावमा माक्र्सवादी जेभीपी पार्टीका राजनीतिज्ञ अनुरा कुमारा दिसानायके विजयी हुनु, भुटानले चीनसँग आफ्नो कूटनीतिक सम्बन्ध पुनः थाल्नु सबै नै भारतलाई खतरामा पार्ने घटनाक्रम हुन् ।
यस वर्ष माल्दिभ्समा सम्पन्न राष्ट्रपति निर्वाचनमा मोहम्मद मोइजुलाई हराउन भारतीय कूटनीतिज्ञहरूले गुप्त र खुला सबै खेल खेल्दा पनि मोइजु नै निर्वाचित भएपछि भारतको कूटनीतिक वृत्तमा मात्र होइन समग्र राजनीतिमा नै भूकम्प गएको थियो र ठुलो कोकोहोलो मच्चाएका थिए । श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा नेशनल पिपुल्स पावरका उम्मेदवार तथा माक्र्सवादी पार्टी–जेभीपीका नेता अनुरा कुमारा दिसानायकेले जीत हासिल गरेपछि धेरै भारतीय र केही पश्चिमी सञ्चारमाध्यमहरूले भारतप्रति श्रीलङ्काको सम्भावित मनोवृत्तिलाई डरलाग्दो रूपमा विश्लेषण गरे । टाइम्स अफ इन्डिया र डेक्कन हेराल्डजस्ता पुराना मिडियाहरूले समेत दिसानायकेको नेतृत्वमा रहेको जनता विमुक्ति पेरामुना (जेभीपी) ले पनि ‘भारतविरोधी अभिलेख र चीन समर्थक झुकाव’ रहेको टिप्पणी गर्दै भारत सरकार सजग र सक्रिय रहनुपर्ने सुझाव प्रस्तुत गरे । चीन–श्रीलङ्काबिचको गहिरो मित्रवत् र आर्थिक सम्बन्धलाई ‘ऋणजाल’ भनी दोहो¥याइ तेह¥याइ बदख्वाई गरे । भारतको चीन–श्रीलङ्का सम्बन्धलाई कमजोर पार्ने प्रयासले ठुलो शक्ति प्रतिस्पर्धाको मानसिकता उदाङ्गो पार्छ । त्यसले भारतको क्षेत्रीय आधिपत्यवादी महत्वाकाङ्क्षा र दक्षिण एसियामा यसको प्रभाव घट्ने गहिरो चिन्तालाई उजागर गर्दछ ।
विश्लेषकहरूका अनुसार भारतको क्षेत्रीय कूटनीति दुई ठुला ‘मानसिक बाधाहरू’ छन् – पहिलो ‘चीन–विरोधी मानसिकता’ र दक्षिण एसियामा ‘आधिपत्यवादी मनोवृत्ति’ । भारतको छिमेकी नीतिमा असफलताको लागि चीनको प्रभावलाई दोष दिनु भारतीय नीतिनिर्माताहरूका निम्ति सामान्य बहाना भएको छ । विगत एक दशकमा, नरेन्द्र मोदी प्रशासनको सम्पूर्ण क्षेत्रको कूटनीतिको एउटा परिभाषित विशेषता भनेको भारतको राष्ट्रिय हित र समग्र हितलाई कसरी प्रवद्र्धन गर्ने भनेर विचार गर्नुको सट्टा अन्य देशहरू, विशेषगरी चीनलाई दक्षिण एसियामा सहकार्य पहलहरू अगाडि बढाउनबाट रोक्ने उद्देश्यका प्रतिरोधका एजेन्डाहरूमा केन्द्रित रहेको छ । चीनको आर्थिक प्रभावलाई प्रतिरोध गर्न अन्य दक्षिण एसियाली देशहरूलाई चीनसँग घनिष्ठ सम्बन्ध स्थापना गर्नबाट रोक्न भारत लागिरहेको छ । यसले आफ्ना छिमेकी देशहरूलाई लक्षित गर्दै ‘छिमेकीहरू पहिलो’ नीति, ‘एक्ट इस्ट’ नीति र “कनेक्ट सेन्ट्रल एसिया’ नीतिजस्ता विभिन्न पहल र योजनाहरू प्रस्ताव गरेको छ । तर, छिमेकीलाई लक्षित गरी भारतका पहलहरूले कुनै प्रगति गरेको छैन । भारतको आधिपत्यवादी मानसिकताका कारण भारतले आफ्नो क्षेत्रीय कूटनीतिमा सामना गरिरहेका चुनौतीहरूलाई थप जटिल बनाएको छ ।
भारतले लामो समयदेखि दक्षिण एसियालाई आफ्नो प्रभावको क्षेत्रको रूपमा हेर्दै आएको छ, यस क्षेत्रका देशहरूले ‘भारत पहिलो’ नीतिलाई पालना गर्न जोड दिँदै आएको छ । तर, यस्तो आधिपत्यवादी मानसिकता दक्षिण एसियाका श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश, नेपाल र भुटानलगायतका हित र विकास आवश्यकतासँग मेल खाँदैन । दक्षिण एसियाली देशहरूलाई सबैभन्दा बढी चाहिने कुरा भनेको आफ्नो स्वतन्त्रता र स्वाधीनता कायम राख्दै आफूलाई बलियो बनाउनु र आफ्नो अर्थतन्त्रमा सुधार गर्नु हो । भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादले छिमेकी देशका स्वतन्त्र जनताको मनसायलाई बुझ्नै सक्दैन र चाहँदैन पनि । जबसम्म भारत आफ्नो आधिपत्यवादी मानसिकताबाट मुक्त हुँदैन उसले छिमेकी देशहरूसित शान्तिपूर्ण र सौर्हाद्रपूर्ण सहयोगात्मक सम्बन्ध कायम गर्न सक्नेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *