अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
राजनीतिमा नैतिकता गुमेपछि त्यो दल गन्तव्यमा पुग्नेछैन । दलले सिद्धान्त र विचारको आधारमा राजनीति नगर्दा, देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नेता–कार्यकर्ताहरूलाई स्थान नदिँदा पार्टीका नेताहरूमा नैतिकता गुम्दै गएको हो । कालो धनलाई सेतो बनाउने ठेकेदार, ठुलठुला व्यापारी, जालीफटाहा, नैतिकता गुमेका, अपराधमा परेर जेलजीवन बिताएका, दलका नेताहरूको दबाबमा धरौटीमा छुटेका व्यक्तिहरूलाई शासक र ठुला दलका नेताहरूले स्थान दिँदा राजनीति दुर्गन्धित हुन थालेको हो । ठुला दलको तर्फबाट निर्वाचित हालका सांसदहरूको स्थिति हेर्दा पनि यो कुरा थाहा हुन्छ । अर्को निर्वाचनमा पनि त्यस्तै व्यक्तिहरूलाई स्थान दिने छाँटकाँट देखिन थालेको छ । यो बलियो र शक्तिशाली पार्टीको कमजोर मानसिकता हो । ललित निवासको जग्गा प्रकरणमा फसेका या विवादित व्यक्तिसँग पार्टीको कार्यालय बनाउन १ अर्ब बराबरको जग्गा लिइएको घटनाले कतै त्यो व्यक्ति अर्को चुनावमा उठ्ने होइन भन्ने आशङ्का उत्पन्न गराएको छ । संसद्को निर्वाचनमा नउठे पनि अदालतमा चलिरहेको मुद्दाबाट उन्मुक्ति पाउन, कर मिनाहा पाउन या अन्य ठेक्का पाउने बाटो खुलाउन जग्गा दिइएको होइन ? भन्ने टिप्पणी गर्न थालेको छ ।
व्यापारीको धर्म नाफा कमाउनु हो । पार्टी कार्यालयको निम्ति त्यति जग्गा दिनुको पछाडिको कारण के हो ? विचारणीय छ । शासक दलभित्र राजनीतिक कार्यकर्ताभन्दा ठुलठुला व्यापारी, ठेकेदार, घुस्याहा, अनियमितता र आपराधिक प्रकरणमा परेका व्यक्तिहरूको हालीमुहाली किन बढ्दै छ ? शासक दलका नेताहरूको यस्तै राजनीतिक गतिविधि र चरित्रले गर्दा देश भ्रष्टाचारको दलदलमा फसेको हो; भ्रष्टाचार बढी हुने देशको सूचीमा परेको हो । दलभित्र यस्तै रजगज भइरहने हो भने भोलिको देशको स्थिति के होला ? अतः देशको राजनीति स्वच्छ हुनुपर्छ । राजनीति इमानदारीपूर्वक गर्नुपर्छ ।
सत्तासीन दलका नेता र मन्त्रीहरूले हालको सरकारलाई झन्डै दुईतिहाइ प्राप्त भएको बताएका छन् । उनीहरूले यो शक्तिशाली सरकार अवधि पूरा नगरुञ्जेल नढल्ने बताएका छन् । मुख्य कुरा सत्ता ढाल्ने र बनाउने होइन । एउटा सरकार ढालेर बनेको सरकारले तुलनात्मकरूपमा पहिलेको भन्दा देश र जनताको पक्षमा राम्रो काम गर्नुपर्ने हो; राम्रो काम गरेर देखाउनुपर्ने हो । छिमेकी देश भारतसँग कूटनीतिक माध्यमबाट कालापानीबाट भारतीय सेना फर्काउने प्रयास जारी राख्नुपर्ने हो । नेपाली भूमि कालापानीमा भारतीय सेना किन ? भारतको प्रशासनिक कार्यालयहरू किन ? नेपालको नक्सामा लिपुलेक र लिम्पियाधुरा मात्र देखाउने हो कि उक्त क्षेत्रमा नेपालीहरूको बस्ती विकास गरेर गतिविधि पनि गर्नुपर्ने हो या प्रशासनिक भवनहरू ठड्याउनुपर्ने हो । भारतले मिचेको नेपाली भूमि फिर्ता लिनेतर्फ प्रयास गरिरहनुपर्ने हो । नेपाली भूमि फिर्ता लिनेतर्फ चासो नराख्ने, नेपाल र भारतको सीमा वैज्ञानिक ढङ्गबाट छुट्याउन पहल नगर्ने सरकारले देश जोगाउने र बनाउने काम गर्छ भन्ने कुरा कसरी विश्वास गर्ने ?
शासक दलका नेताहरूको अकर्मण्यता, अदूरदर्शी राजनीतिले देशको राजनीति धमिलिएको हो । तर, शासक दलका नेताहरूले गरेका अकर्मण्यताको कारण राजनीतिमा लागेको दागको दोष सबै राजनीतिक दलमाथि थोपर्नु बुद्धिमानी होइन । कति राजनीतिक विश्लेषक, लेखक र सञ्चारकर्मीहरू सबै दल उस्तै हुन् भनी टिप्पणी गर्छन् । कुनै दलले गरेको कमजोरीका कारण सबै दललाई उही दृष्टिले हेर्नु उपयुक्त होइन । सिद्धान्त र विचारको आधारमा देश र जनताको पक्षमा इमानदारीपूर्वक राजनीति गर्ने दलहरू पनि छन् । देश जोगाउन र बनाउन सरकारको खबरदारी गर्ने, जनतालाई सचेत पार्ने काम गरिरहेको दललाई सत्ताधारी दलकै सूचीमा राख्ने टिप्पणी मनासिब होइन । यसतर्फ राजनीतिक विश्लेषक, लेखक, बुद्धिजीवी र सञ्चारकर्मीहरूले ध्यान दिनुपर्छ । कुन दलले कुन वर्गको कस्तो राजनीति गरिरहेको छ भन्ने कुरा अध्ययन गर्नुपर्छ । गहिरो अध्ययन नगरी हचुवा ढङ्गले टिप्पणी गर्दा समाजमा गलत सन्देश जानेछ । गलत सन्देश जाने खालको टिप्पणी गर्ने काम कसैबाट नभए जाती हुनेछ ।
सरकार खरानीको डल्लो होइन, लगभग दुईतिहाइको भनेर गर्व गर्ने होइन । दल ठुलो र शक्तिशाली भए पनि मुख्य कुरा सरकारले देश र जनताको पक्षमा के गरिरहेको छ भन्ने महत्वपूर्ण हो । नेका र एमालेले अर्थतन्त्र परिवर्तनमा योगदान होइन बरु देशको अर्थतन्त्र कमजोर बनाउँदै पराधीन बनाइरहेका छन् । देशका उद्योगधन्दा विदेशी पुँजीपतिहरूको हातमा सुम्पिँदै छ । देशको लागि आवश्यक उद्योगधन्दा खोलेर देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार लाग्नुपर्ने हो । ठुलो र शक्तिशाली दल भनेर गर्व मात्र गर्ने हो कि काम गरेर देखाउने ? सरकारले देश र जनताको पक्षमा ठुलो काम गरेर देखाउनुप¥यो नि ! राम्रो काम नहुनुको अर्थ सिद्धान्त र विचारअनुसार इमानदारीपूर्वक राजनीति नगर्नु हो; राजनीतिभित्र खराब आचरणका व्यक्तिहरूको बोलवाला बढ्दै जानु हो । अतः हरेक राजनीतिक दलले स्वच्छ राजनीति गर्नुपर्छ; स्वच्छ राजनीति गर्न र गराउन दलले आफ्ना नेता तथा कार्यकर्तालाई उत्प्रेरित गर्नुपर्छ ।
Leave a Reply